कोरला नाका खुल्छ: प्रचण्ड «

कोरला नाका खुल्छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चीनसँगको कोरला नाका खुलाउने बताएका छन् । उनले मुस्ताङस्थित कोरला नाका सञ्चालनका लागि चीन सरकार र त्यहाँका अधिकारीसँग कूटनीतिक तहमा छलफल भइरहेको बताए ।
“कोरला, हिल्सालगायत चीनसँग सिमाना जोडिएका नाका सञ्चालनका लागि कूटनीतिक रूपमा छलफलसँगै पूर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिएको छ, अब कोरला नाका सञ्चालन गर्न धेरै समय प्रतीक्षा गर्नुपर्दैन,” छैठां म्याग्दी महोत्सवको उद्घाटन गर्दै पूर्वप्रम दाहालले भने, “अब बन्ने सरकारले यसलाई प्राथमिकता दिन्छ ।”
कोरला नाका सञ्चालनका लागि उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाको ट्र्याक खोल्ने र स्तरवृद्धि गर्ने काम भइरहेको प्रचण्डले बताए । कोरला नाका र कालिगण्डकी करिडोर सञ्चालन भएपछि प्रदेश नम्बर ४ को आर्थिक, सामाजिक, व्यापारिक, जलविद्युत् र पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त गरे ।
बेनीदेखि १७६ किमि टाढा रहेको कोरला नाकामा खम्पा विद्रोहपछि समस्या सिर्जना भएको थियो भने एक चीन नीति विरोधी गतिविधिलाई रोक्न पछिल्लो समय चिनियाँ पक्षले आवतजावतमा कडाइ गर्दै वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेलाका लागि मात्र नाका खुलाउने गरेको छ ।
प्रचण्डले अबको राजनीतिक विकास र आर्थिक समृद्धिमार्फत जनताको जीवनस्तर उठाउने मुद्दामा केन्द्रित हुने बताए । उनले जलविद्युत्, पर्यटन, कृषि, जडिबुटि, उद्योग, ब्यापारको विकास र पूर्वाधार निर्माणमा निजी क्षेत्रसँग साझेदारी गरिने बताए ।
महोत्सवको उद्घाटनका क्रममा प्रतिनिधिसभाका सदस्य भूपेन्द्रबहादुर थापा, प्रदेशसभा सदस्य विनोद केसी र नरदेवी पुनले कोरला नाका सञ्चालन गराउन, म्याग्दीलाई हिमाली र विकट जिल्लामा सूचीकृत गर्नुपर्ने बताउँदै प्रचण्डको ध्यानाकर्षण गराए ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले पहुँच नपुग्दा सम्भावना भएर पनि वर्षांैदेखि पिछडिएको म्याग्दी विकासको मूल धारमा प्रवेश गरेको बताउँदै विकास निर्माणको कामले गति लिने विश्वास व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल र म्याग्दी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रमोद श्रेष्ठले म्याग्दीको सम्भावनालाई ब्यवहारमा उतार्न अनुकूल नीतिनियम र लगानीमैत्री वातावरणको आवश्यकता रहेको बताए ।
माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख दर्शक भित्रिने अनुमान छ ।

 

प्रतिक्रिया दिनुहोस्