Logo

सामाजिक सुरक्षा ऐन लागू गर्न श्रमिकको दबाब


श्रमिक नेताहरुले चिया क्षेत्रमा सामाजिक सुरक्षा ऐन २०७४ तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । ट्रेड युनियन तथा चिया क्षेत्र सम्बद्ध श्रमिकका नेताहरुले सबै श्रमिकलाई तत्काल सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न माग गरेका हुन् ।


चिया उद्योगिले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा आलटाल गरिरहेको भन्दै सरकारको समेत ध्यानाकर्षण हुनुपर्ने माग गरेका छन् । पूर्व सहमति बमोजिम असार मसान्तसम्ममा सामाजिक सुरक्षा ऐन कार्यान्वयनका लागि चिया प्रतिष्ठान र सम्बद्ध श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकरणको प्रक्रिया अघि नबढाए आन्दोलनमा उत्रने नेताहरुले बताएका छन् । उनीहरुले श्रम ऐनको अक्षरशः कार्यान्वयनमा समेत जोड दिएका छन् ।


श्रमिकको हक अधिकार रक्षाका लागि बनेका ऐन कानून कार्यान्वयनमा चिया उद्योगीहरुको उदासिनता हुनु र सरकारले समेत चासो नदिँदा श्रमिकहरु पीडित बनेको अखिल नेपाल टे«ड युनियन महासंघ प्रदेश–१ का इञ्चार्ज भुपाल सापकोटाको गुनासो छ ।
सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयनका लागि सबै सरोकारवालासँग छलफल गरी कुनै समस्या भए तत्काल समाधान गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । उक्त ऐन कार्यान्वयन नहुँदा जीवन नै जोखिममा राखेर श्रमिकले काम गरिरहनु परेको बताइएको छ । ऐन कार्यान्वयन भए श्रमिकसँगै चिया क्षेत्रका अधिकांश समस्याहरु समाधान हुने मजदुर नेताहरुको भनाइ छ । त्यस्तै चिया क्षेत्रमा कार्यरत कामदार कर्मचारीको ग्रेड कार्यान्वयन गर्न कानूनी व्यवस्था गरी अघि बढ्न आवश्यक रहेको बताइएको छ ।


बढ्दो महँगी अनुसार श्रमिकका लागि विशेष राहत प्याकेजको व्यवस्था गर्न आवश्यक रहेको नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले बताए । चिया क्षेत्रलाई विशेष पकेट क्षेत्र घोषणा गर्नुपर्ने र श्रमिक, कृषक, उद्योगीका समस्या समाधानमा समग्र चिया क्षेत्रको विकासलाई अग्रसरता लिन तीनै तहका सरकार लाग्नुपर्ने उनको माग छ ।
चिया श्रमिकका समस्या समाधान नभए सशक्त आन्दोलन गर्ने अखिल नेपाल चिया मजदुर संघकी केन्द्रीय अध्यक्ष सीता सापकोटाले बताइन् । सामाजिक सुरक्षा ऐन कार्यान्वयन नभए साउनबाट आन्दोलनमा उत्रने श्रमिक नेताहरुले संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्