हेलम्बुमा अझै सकसपूर्ण दैनिकी «

हेलम्बुमा अझै सकसपूर्ण दैनिकी

मंगलबारको बाढीले ध्वस्त बनेको सिन्धुपाल्चोकको हेलम्बु गाउ“पालिकाको मुख्य बजारक्षेत्र र ध्वस्त सडक । बाढीले मेलम्ची बजारबाट हेलम्बु जोडने करिब ८ किलोमिटर सडकको सिमकुना, तालाराङ ,चनौटे, किउल,तिम्बु तहसनहस बनाएयता हेलम्बु अस्तव्यस्त अवस्थामा छ । तस्विर : अनिश तिवारी/कान्तिपुर

हेलम्बु (सिन्धुपाल्चोक)-असार १ गते साँझ आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई सीधै छोप्यो । बाढीले ४ सयभन्दा बढी घरटहरा बगायो । बाढी आएको सातौं दिन पुग्दा पनि हेलम्बु अझै तङ्ग्रिने अवस्थामा छैन । बाढीले सडक सञ्जाल टुटाएपछि हेलम्बु एक्लिएको हो ।
ह्योल्मो संस्कृति, कला र धर्मदेखि पर्यटनका लागि प्रख्यात थियो, ह्योल्मोभूमि हेलम्बु । आकर्षक सिमिसिदाङजस्ता दर्जनौं हिमश्रृंखलाको काखमा रहेको हेलम्बुमा आउने जोकोहीले सुन्दर गाउँको उपमा दिन्थे । तर, गत मंगलबार मेलम्ची बाढीले हेलम्बु गाउ“पालिकाको चार गाउ“को अस्तित्व नै मेटायो, तटीय क्षेत्रलाई एकै रातमा बगर तुल्याइदियो । बाढीको सतह बढेपछि गत मंगलबार गाउ“ नै बग्ने त्रासमा स्थानीय भागभाग भए ।
बाढीले सयौं रोपनी खेतीयोग्य जमिन नदीमा मिसाइदिएको छ । हेलम्बुको पहिचान झल्कने ट्राउट व्यवसाय पूर्ण रूपमा बन्द भयो । बाढीले समृद्ध हेलम्बुको यात्रालाई बीचमै रोकिदियो ।
आठ वर्षदेखि हेलम्बुको किउल बगरमा रिसोर्टसहितको ट्राउट फर्म सञ्चालन गरेर बसेका उत्तममणि भण्डारीसहितको नदी करिडोरमा रहेको आठवटा फर्म विलय बन्यो । फर्म रहेको स्थान अहिले बगरमा परिणत भएको भण्डारी ट्राउट रिसोर्टका सञ्चालक रहेका उत्तममणिले बताए ।
“मेरो आफ्नो मात्रै करिब ६ करोडको हाराहारीका माछा बगाए,” उनले भने, “अन्य भौतिक क्षतिको हिसाबकिताब छुट्टै छ ।”
यो रिसोर्टमा काम गर्ने एक कर्मचारीलाई बाढीले बगायो । उनी अझै बेपत्ता छन् । भण्डारीका अनुसार नदी करिडोरमा रहेका ट्राउट फर्मका मात्रै अर्बभन्दा बढीको क्षति हुन आउँछ ।
रातदिन वर्षासँगै उर्लिएर डरलाग्दो गरी बग्ने मेलम्ची खोलाको बाढीले क्षतिग्रस्त घर र खेतबारी अझै कटान गरिरहेको छ । हेलम्बु गाउँपालिका–६, चालिसेका ७० वर्षीय शिवप्रसाद भण्डारी डा“डामा बसेर आफ्नो घरखेत र गाउँलाई बाढीले बगर थपेको हेरिरहन्छन् ।
गत मंगलबार एकै रातमा उनीसहित चालिसे गाउँको सात घरसहित पूरै खेत, जग्गाको भूभाग बाढीले बगर तुल्यायो । त्यसमाथि मेलम्ची नदीको कुनाभेगमा रहेको चालिसे गाउँबाट किउल बजार जोड्ने एउटै मात्र झोलुंगे पुल बगाएपछि भागेर जाने अन्य स्थान पनि छैन ।
“यही एउटा ज्यान जोगियो, अरू सबै खोलामा हरायो,” भण्डारी भन्छन्, “तैपनि रातदिन बाढी उर्लिएर बढेको देख्दा त बाँचिएलाजस्तो लाग्दैन ।”
“आफ्नो जग्गा र घरको खुबै माया हुँदो रहेछ,” आफू डाँडामा आएर हेर्दै बसेको बारे सुनाउँदै उनी भन्छन्, “न कतै बाढीले घरखेत लैजाँदैन कि भन्ने आशाले हेरिरहेछु ।”
भत्किएका सडक अझै बनेको छैन । बाढी आएदेखि हेलम्बु बिजुली र सञ्चारसँग विच्छेद छ । मेलम्चीको मुहानस्थल हुँदै एक्कासि उर्लिएर आएको बाढीले हेलम्बुको पुराना गाउ“ चिउरेखर्क, चालिसे गाउ“, तल्लो तिम्बु बजार, गणेशे बगर गाउ“को सबै संरचना बगायो । झन्डै १८ हजार जनसंख्या भएको हेलम्बुको तालामाराङ, चनौटे, किउल, तिम्बुजस्ता चिटिक्क देखिने बजारभर बालुवा थिग्रियो ।
“राज्यको आँखाले हेलम्बुको पीडा अझै देखेको छैन,” स्थानीय हरि विक भन्छन्, “विस्थापितहरूको बिजोक छ, राहत सामग्रीसमेत अझै अपुग देखिन्छ ।”
बाढीले मेलम्ची बजारबाट हेलम्बु जोड्ने करिब ८ किलोमिटर सडकको सिमकुना, तालामाराङ, चनौटे, किउल, तिम्बु तहसनहस बनाएयता हेलम्बु अस्तव्यस्त अवस्थामा रहेको उनले बताए ।
मेलम्ची बजारस“ग जोड्ने मुख्य सडक बीचैमा भास्सिएर टुटेपछि सहयोग र व्यवस्थापनमा यहा“का जनप्रतिनिधि, स्थानीय आफैं दौडाइमा छन् । सडक भत्किएकाले आवतजावत गर्नेहरू कष्ट सहेर पैदलबाट ओहोरदोहोर गर्छन् ।
“बाढीले स्थानीय सरकारले निर्माण गरेका अधिकांश भौतिक संरचनामा क्षति गरेको छ,” हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा भन्छन्, “हेलम्बुको विकास निकै पछाडि धकेलियो ।” भूकम्पपछिको पुनर्निर्माणले सुन्दर देखिएका बस्तीहरू बाढीले उजाड बनाइदिएको उनले बताए ।
“अबको दुई वर्षमा हेलम्बु पहिलेकै जस्तो बनाउनेछु,” उनले भने । वैकल्पिक सडकका लागि साँखु, मेलचौर हुँदै कुटुम्साङ जोड्ने सडकका लागि प्रयासरत रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्