Logo

सिरीजंघा गाउँपालिकाको छलाङ

प्रदेश नं. १
जिल्ला – ताप्लेजुङ
पालिका – सिरीजंघा गाउँपालिका
वडा संख्या – ८
जनसंख्या – १६ हजार ३ सय ६८
क्षेत्रफल – ४८१.०९ वर्गकिलोमिटर
अध्यक्ष – टीकाराम गुरुङ
उपाध्यक्ष – ज्ञानमाया चौहान
प्रमुख प्रशासकीय अधिकृत – सन्तोष घिमिरे

जिल्लाको सिरीजंघा गाउँपालिका संघीयताको मर्मबमोजिम लोभलाग्दो शैलीमा विकासपथमा लम्किएको छ । गाउँगाउँमा सिंहदरबार भन्ने नारा सार्थक तुल्याउने गरी नागरिकमा आभाससहित पालिका चौतर्फी विकासमा लम्किएको हो । पालिकाले कञ्चजङ्घाको उचाइ (८ हजार ५ सय ८६ मि.) झैँ चौतर्फी विकासको उचाइ लिएको छ ।
विकासका पूर्वाधार मात्र नभई आर्थिक अवस्था सुदृढ हुने गरी नीति तथा कार्यक्रम र बजेट लागू गरेर संघीयताप्रति नागरिकमा आशा जगाएको छ । यद्यपि पालिकाका अनुसार नीति तथा कार्यक्रम र बजेट पूर्ण छैन । तर, नागरिकको चुलोसम्म जोडिने गरी कार्यक्रमका लागि ‘माछा मारेर दिने नभई माछा मारेर खाने’ सीपमा ध्यान केन्द्रित गरेको पालिकाले चौतर्फी प्रशंसा बटुलेको छ ।
जनप्रतिनिधि, कर्मचारी र नागरिकबीच त्रिकोणात्मक समन्वयको नतिजाले भावी दिनमा कार्यक्रम गर्न अझ हौस्याएको छ ।
‘सिरीजंघाको गौरव कञ्चनजंघा’ भन्ने नारासहित पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, सञ्चार र पूर्वाधार निर्माणमा अब्बल पालिकाको रूपमा परिणत भएको छ । ८ वटा वडामा ७२ वटा टोल विकास संस्था गठन गरेर विकास निर्माणमा गति दिएको छ । तल्लो तहदेखि नै विकास तथा आय आर्जनको योजना छनोट गरी कार्यान्वयन गर्ने गरी गठन भएको संस्थाले पालिकाप्रति नागरिकमा अपनत्वको भावना जागृत गराएको छ ।
अध्यक्ष टीकाराम गुरुङले भने, “१० लाखसम्मका योजना संस्थाले नै गर्छ । पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वले कार्यक्रम कार्यान्वयन सहज बनेको छ ।”
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२ को उपदफा (२) को खण्ड (क) को उपखण्ड (२) मा उल्लिखित टोल विकास संस्था गठन र परिचालनसम्बन्धी वडा समितिको काम, कर्तव्य र अधिकारलाई थप स्पष्ट र व्यवस्थित गरेर पालिकाको टोल विकास संस्था गठन तथा परिचालनसम्बन्धी ऐन, २०७६ पारित गरेर लागू गरेसँगै पालिकाको विकासले छलाङ मारेको हो ।
पाँच जना महिलाको अनिवार्य संलग्नतासहितको १३ सदस्यीय कार्यसमिति गठनको प्रावधानले पालिकाको सर्वाङ्गीण विकासमा टेवा मिलेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेको अनुभव छ । महिलालाई नेतृत्वमा पुग्ने गरी अवसरसमेत सिर्जना गरिएको छ ।
‘कञ्चनजंघाको पानी, सिरीजंघाको आम्दानी’ नाराअनुसार चालू आवमा मिनरल वाटरको सम्भाव्यता अध्ययन गरेको छ । पानीमा ‘मिनरल’ भएको रिपोर्टले पालिकावासी हर्षित बनेका छन् ।
आगामी आवमा डीपीआरका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रशासकीय अधिकृत घिमिरेले भने, “अरबको तेल कञ्चनजंघाको फेदमा गुड्ने मोटरमा पुग्छ । कञ्चनजंघाको पानी अरबमा किन पुग्दैन ?” पानी बेचेर पैसा कमाउने गरी पालिकाका घरपिच्छे सेयर लगानी गर्ने सपना सार्थक तुल्याउन भरमग्दुर प्रयास गर्ने कुरामा अध्यक्ष गुरुङले जोड दिए ।
गाउँपालिकाले तीनवटा योजनालाई गौरवको योजना भनेको छ । ती प्रमुख प्रशासकीय भवन, याम्फुदिन–कञ्चनजंघा बेसक्याम पैदलमार्ग र वडा नं. ५, ७ र ८ जोड्ने सडकखण्ड हुन् । ५ करोड ३१ लाख लागतमा निर्माणाधीन प्रमुख प्रशासकीय भवन आउँदो मंसिर २९ गते उद्घाटन गरिने भएको छ । बाँकी रहेका ६ वटा वडाका वडा कार्यालय भवनसमेत आउँदो चैतसम्ममा सम्पन्न गरेर सेवा प्रवाह सहज र सरल हुनेमा शंका छैन ।
याम्फुदिन–कञ्चनजंघा बेसक्याम्प पैदलमार्गका लागि ५ करोड विनियोजन गरिएको छ । संघको ३ करोड ५० लाख र पालिकाको १ करोड ५० लाख साझेदारीमा यही असार १५ गते टेन्डर खुलाइने भएको छ । पालिकाको मात्र नभई जिल्लाकै प्रतिष्ठासँग जोडिएकाले पदमार्गप्रति पालिकाले ध्यान केन्द्रित गरेको हो ।
मामाखेमा जन्मिएका चर्चित हास्यकलाकार मनोज गजुरेललाई ‘सिरीजंघा छोरो’ उपमाले सम्मान गर्दै पर्यटन दूतमा नियुक्त गरिएको छ । ‘स्वस्थ बच्चा, स्वस्थ आमा’ कार्यक्रमका लागि बजेट विनियोजन गरेर निःशुल्क क्याल्सियम र आइरनको व्यवस्था गरिएको छ । उक्त क्याल्सियम गर्भवती भएको चार महिनापछि सुत्केरी भएको ४५ दिनसम्म खुवाउने गरिन्छ ।
एक जनाका लागि २ हजारसम्म पर्ने भएकाले त्यतिका रकम खर्चिएर खुवाउने हैसियत सबैमा नभएकाले उक्त कार्यक्रम समावेश गरिएको हो । कोभिड–१९ बाट बचाउन फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई मासिक १५ हजार प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको छ ।
कोरोनाबाट मृत्यु भएकाको दाहसंस्कार गर्न २० हजार दिइने भएको छ । पालिकाले बनाएको आइसोलेसनमा बसेका बिरामीलाई पोषण खानेकुराका लागि जनही २ हजार दिने निर्णय भएको छ ।
‘सिरीजंघाको सान, उद्यमशील किसान’ कार्यक्रमअन्तर्गत निःशुल्क माटो परीक्षण गर्ने व्यवस्था गरिएको छ । सिनामस्थित स्वास्थ्यचौकीमा ल्याब सञ्चालन गर्न बजेट विनियोजन गरिको छ ।
आगामी आवमा वडा नं. ६ मामाखे र वडा नं. ७ मा बर्थिङ सेन्टर निर्माण गरिने भएको छ । बाँकी ६ वटा वडामा यसअघि नै देखि बर्थिङ सेन्टर सञ्चालनमा छन् । पालिकाका नागरिक बिरामी भएर उपचारका लागि बाह्य जिल्ला लैजानुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने भएको छ ।
वडा नं. १ सिनाम र वडा नं.४ तेल्लोकलाई मकैको पकेट क्षेत्र घोषणा गरिएको छ । वडा नं. २ आम्बेगुदिन र वडा नं. ५ पेदाङमा किबी खेतीको पकेट क्षेत्रका रूपमा कार्यक्रम लागू गरिएको छ । वडा नं. ३ सिकैचा र वडा नं. ६ मा बाख्रापालन व्यवसायमा जोड दिइएको छ ।
वडा नंं. ७ खेवाङ र वडा नं. ८ याम्फुदिनमा चौंरीपालनका लागि पकेट क्षेत्र बनाइएको छ । आम्बेगुदिन र पेदाङमा आगामी आवमा १÷१ वटा कोल्ड सेन्टर बनाइने भएको छ । कोल्ड सेन्टर निर्माणका लागि ६५ लाख रुपैयाँ विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए ।
कृषि र पशुपालन कृषकसँग विगतमा साझेदारीमा गर्दै आएको कामलाई निरन्तरता दिँदै आवमा ५ सय ५० घरमा टनेल वितरण गरिने कार्यक्रम छ । हिउँदे र वर्षे तरकारीमा आत्मनिर्भर बनाएर भविष्यमा निकासी गर्ने गरी कार्यक्रम लागू गरिएको हो ।
चालू आव २०७८-७९ देखि बर्सेनि एक जना गरिब तथा जेहेनदार विद्यार्थीलाई आवाससहितको एमबीबीएस पढाउन बजेटको सुनिश्चितता गरिएको छ ।
सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण वडापिच्छेका एक–एक जना गरी बर्सेनि आठ जनालाई कृषि र पशुपन्छी विधामा आईएस्सी एजी र भेटेरिनरी अध्ययनका लागि आवाससहितको निःशुल्क छात्रवृत्ति प्रदान गरिएको छ ।
कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था गरेको छ । उपाध्यक्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत दलित तथा अपाङ्ग परिवारका विद्यार्थीलाई स्नातक तह अध्ययनका लागि सबै खर्च गाउँपालिकाले बेहोर्ने भएको छ ।
पालिकाले डोजर विकासलाई त्यति महत्व दिएको छैन । भएका सडकलाई स्तरोन्नति गर्ने र आवश्यकताबमोजिम मात्र सडक निर्माण गर्न जनप्रतिनिधि एकजुट भएका छन् ।
मामाखेमा एक घर, एक धारा अभियान सञ्चालन हुने भएको छ । खरको छाना विस्थापित गर्ने उद्देश्यले सुरु भएको कार्यक्रम भने अपेक्षाकृत हुन सकेको छैन ।
लिम्बू समुदायको बाहुल्य रहेको र पालिकाको नाममा अक्षर अशुद्ध भएकाले नाम सच्याउनका लागि प्रदेश सरकारमार्फत संघीय सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको छ । पहिचान समुदायको अस्तित्वसँग जोडिएकाले माग सम्बोधनका लागि तत्काल कार्यदल गठन गरिने भएको छ ।
नागरिकको स–साना समस्यालाई समेत ध्यानमा राखेर शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्दै बसाइँसराइ न्यूनीकरण गर्ने पालिकाको रणनीति छ । गाउँपालिका उपाध्यक्ष ज्ञानमाया चौहानले भनिन्, “भीडले नेता हिँडाउने होइन, नेताले भीड हिँडाउने नेतृत्व पाएका छौं । त्यही भएर पालिकामा आजसम्म समस्या छैन ।”

प्रतिक्रिया दिनुहोस्