यातायात सुविधाको झन्डै २ करोड विकास निर्माणमा

अछाम-अछामका २ स्थानीय तह (रामारोशन र तुर्माखाँद गाउँपालिका) मा जनप्रतिनिधिले यातायात सुविधाका लागि छुट्याइएको बजेट विकास निर्माणमा खर्च गर्ने भएका छन । रामारोशन गाउँपालिकाले पर्यटन र लघुजलविद्युत् तथा तुर्माखाँद गाउँपालिकाले सडक निर्माणमा खर्च गर्ने भएको हो ।
रामारोशन गाउँपालिकाको दोस्रो गाउँसभाबाट सवारीसाधन खरिदका लागि विनियोजित १ करोड २५ लाख रकम रामारोशन पर्यटन क्षेत्रको विकास र पूर्वाधार निर्माणमा खर्च गर्ने आफू अगाडि बढेको गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउद (भास्कर) ले बताए । उनका अनुसार १ करोड २५ लाखमध्ये ७० लाख रामारोशन पर्यटन विकासका लागि खर्च गरिने छ । अध्यक्ष साउदले भने, “पर्यटन विकासका लागि पर्यटक घर निर्माण, आधुनिक डुंगा खरिद, पर्यटकका लागि घोडा खरिद, रामारोशनका तालतलैया र मैदान तथा अन्य पर्यटन क्षेत्रको प्रचारप्रसारका कार्यक्रम गरिने छ ।” अन्य रकम विद्युत् विस्तार हुन नसकेको वडा नम्बर २ चाफामाण्डौका लागि लघुजलविद्युत् निर्माण र अन्य पूर्वाधार विकासमा खर्च गरिने अध्यक्ष साउदले बताए । आफू गाडी चढेर सुविधाभोगी हुने भन्दा उक्त रकम जनहितका लागि विकास निर्माणमा खर्च गर्ने र गाउँपालिकालाई पर्यटकीय र नमुना बनाउने उनको भनाइ छ ।
उता जिल्लाको तुर्माखाँद गाउँपालिकाले पनि सवारी साधन खरिदका लागि छुट्याएको ६० लाख रुपैयाँ विकास निर्माणमा खर्च गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले सडकको पहुँच नपुगेको वडा नम्बर १ र २ मा सडक पुर्याउनका लागि उक्त ६० लाख बजेट खर्च गरिने बताए । आफूले सम्बन्धित वडामै पुगेर सबै वडामा गाडी पुग्ने नभइकन आफू गाडी नकिन्ने र छुट्याइएको रकम सडक निर्माणमा खर्च गर्ने घोषणा गरेको शर्माले बताए । उनले भने, “गाउँपालिकाको सबै वडामा सडक पुगेको छैन, जनताले विकासको अनुभूति गर्न पाएका छैनन्, ममात्रै किन करोडौंको गाडीमा चढ्ने ?” अब जुनसुकै हालतमा पनि नयाँ वर्षमा वडा नम्बर १ र २ (रहफ र भुलू) मा सडक पुर्याई छाड्ने र सबै वडामा सडक पुगेपछि मात्रै गाडी खरिद गर्ने शर्माले बताए । गाउँपालिकावासीलाई सडक, शिक्षा, सञ्चार र खानेपानीको सहज पहुँचमा पुर्याउनका लागि आफू निरन्तर खटिरहेको उनको भनाइ छ ।
स्थानीय तहका जनप्रतिनिधि र सरकारका मन्त्रीहरूले करोडौंको गाडी किन्दै सुविधामुखी बनेको आरोप लागिरहेका बेला रामारोशन गाउँपालिकाका अध्यक्ष झँकर साउद र तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले सवारी साधनका लागि विनियोजित बजेट जनताको हितका लागि खर्च गर्ने घोषणा गरेसँगै स्थानीय खुसी भएका छन् ।