तनहुँ उद्योग वाणिज्य संघको १५ औं अधिवेशन

तनहुँ उद्योग वाणिज्य संघको शुक्रबार र शनिबार हुने १५ औं अधिवेशनका लागि उम्मेदवारहरुले व्यवसायीहरूसँगको भेटघाटलाई तीव्र पारेका छन् । अध्यक्षमा उम्मेदवारी दिएका वर्तमान प्रथम उपाध्यक्ष ईश्वर बहादुर विष्ट र पूर्व प्रथम उपाध्यक्ष मानकाजी श्रेष्ठले आफ्ना एजेन्डासहित व्यवसायीसँग भेटघाट थालेका हुन् ।
यसै क्रममा विष्टले जिल्लाको पूर्वका बजारका व्यवसायीसँग भेटघाट गरेका छन् भने श्रेष्ठले पश्चिमका व्यवसायीहरूसँग भेट गरी भोट मागेका हुन् । अध्यक्षका उम्मेदवार विष्टले बुधबार तनहुँको आँबुखैरेनी, सत्रसय, विमलनगर, डुम्रे लगायतका ठाउँका व्यवसायीसँग भेटघाट गरी आफूहरूलाई विजयी गराउन आग्रह गरे । अध्यक्षका अर्का उम्मेदवार श्रेष्ठले भने दुलेगौंडा, खैरेनीटार, भिमादका व्यवसायीहरूसँग भेटघाट गरी आफ्नो पक्षमा भोट मागेका छन् । विष्ट प्यानलबाट प्रथम उपाध्यक्षमा दुलेगौंडाका व्यवसायी विमलप्रसाद रिमाल र द्वितीय उपाध्यक्षमा भिमादका व्यवसायी बाबुराम सुनार उम्मेदवार छन् । श्रेष्ठ प्यानलबाट प्रथम उपाध्यक्षमा दमौलीका वैकुण्ठनाथ मिश्र र द्वितीय उपाध्यक्षमा खैरेनीटारका हरिबहादुर थापा उम्मेदवार छन् । कोषाध्यक्षमा भने दुवै प्यानलबाट महेन्द्रकुमार श्रेष्ठ सर्वसम्मत भइसकेका छन् ।
व्यवसायीको समस्या बुझेको छु :विष्ट अध्यक्ष पदका उम्मेदवार विष्टले आफू विगत डेढ दशक अघिदेखि उद्योग वाणिज्य संघको विभिन्न तहमा रही काम गर्दै र नेतृत्व गर्दै आएको हुँदा आफूबाहेक व्यापारीहरूको समस्या कसैले नबुझेको दाबी गरे । आफ्नो टिमबाहेक अरूले व्यवसायीको नेतृत्व गर्न नसक्ने उनको दाबी छ । विष्टले कर प्रणालीलाई एकद्वार र वैज्ञानिक बनाउन स्थानीय सरकार अन्तर्गत नगरपालिका र गाउँपालिकाहरूसँग समन्वय गरी व्यावसायिक हितमा लागु गराउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै तउवासंघ अन्तर्गतको १२ वटै बजार एकाइ र महिला उद्यमी समितिको आफ्नै भवन बनाई व्यवस्थित सचिवालय बनाउने बताएका छन् । व्यवसायीहरूले आन्तरिक राजस्व कार्यालयमा बुझाउने करहरू संघको कार्यालयबाट नै बुझाउन मिल्ने व्यवस्था मिलाउने, फुटपाथ र साना व्यवसायीहरू व्यवस्थापन गन पहल गर्ने र एकै प्रकारका व्यवसायलाई एकै ठाउँबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता विष्टले सार्वजनिक गरेका छन् ।
व्यापारीको हकहितको लागि उम्मेदवारी :श्रेष्ठअध्यक्ष पदका अर्का उम्मेदवार मानकाजी श्रेष्ठले आफूलाई एक पटक काम गर्ने अवसर दिन आग्रह गरेका छन् । व्यापारीहरूको हकहितका लागि र उनीहरूको समस्या समाधानका लागि आफूहरूले उम्मेदवारी दिएका श्रेष्ठले बताएका छन् । तनहू उद्योग वाणिज्य संघलाई हाँक्न सक्ने सक्षम र सबल नेतृत्व आफ्नो टिममा भएको भन्दै उनले टिमको जित सुनिश्चित भएको दाबी गरे । अहिले व्यवसायीहरूको विभिन्न समस्या रहेको, कर तिर्न व्यवसायीहरूले झमेला भोग्नु परेको लगायतका समस्याहरू रहेको भन्दै श्रेष्ठले सबै व्यापारीहरूलाई समेटी र अग्रजहरूको सल्लाहमा काम गर्ने प्रतिबद्धता जाहेर गरे । मेला र महोत्सव मार्फत जिल्लाको कला र संस्कृतिको जगेर्ना गर्ने र आन्तरिक तथा बाह्य पर्यटक भिœयाउन पनि आफूहरु लागिपर्ने उनले बताए ।