कम्युनिष्ट एकता आवश्यक छ : श्रेष्ठ
नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अझैपनि कम्युनिष्ट पार्टीहरुबीचको एकता आवश्यक रहेको बताएका छन् ।
श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडी बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिष्ट पार्टीहरुको एकता आवश्यक रहेको बताए । विगतमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधिनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्य साथ पार्टी एकिकरण गरिएको भएपनि देशी विदेशी शक्तिहरुको योजनामा पार्टी फुटाइएको नेता श्रेष्ठको भनाइ छ ।
पार्टी एकताको उद्देश्य, लक्ष्य, मर्म र भावना पार्टी पंक्तिमा पु¥याउन नसक्नुपनि कमजोरी भएको उनले बताए । कम्युनिष्ट पार्टीको उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने उनको भनाइ छ । नेता श्रेष्ठले पहिले आफ्नो पार्टीलाई नै रुपान्तरण गर्नुपर्ने अवस्था रहेको पनि औल्याए । विगतमा पार्टी एकता गर्नु गल्ती तथा कमीकमजोरी नभएपनि समयमै विभिन्न विषयमा ध्यान दिन नसक्नु कमजोरी भएको र कमजोरी सच्याउन खोज्दा पार्टी विभाजन गरिएको उनको भनाइ छ । यद्यपी कम्युनिष्ट पार्टीहरुबीचको एकिकरण गर्न आफुहरुले हिम्मत नहार्ने उनले बताए । नेकपा(माओवादी केन्द्र)ले आफूलाई सांस्कृतिक रुपान्तरण गर्दै कम्युनिष्ट, क्रान्तिकारीहरुसँग एकता गर्ने र अन्य लोकतान्त्रिक, देशभक्त शक्तिहरुसँग पनि संयुक्त मोर्चा गरेर अघि बढ्नेबारे सोचेको नेता श्रेष्ठले बताए ।