स्वास्थ्य संकटकाल लगाउन किन ढिलाइ ? «

स्वास्थ्य संकटकाल लगाउन किन ढिलाइ ?

कोरोना भाइरसको दोस्रो लहरका कारण नेपाल पनि पूर्णरूपमा प्रभावित भएको छ । कोरोना पोजेटिभ बिरामीले अस्पताल भरिएका छन् । अस्पतालमा शैया नहुँदा भुइँ, अस्पतालबाहिर बरन्डा, पेटीमा समेत उपचार भइरहेको छ । अक्सिजन अभावमा बिरामीको ज्यान गइरहेको छ । अस्पतालले नयाँ बिरामी भर्ना नगर्ने र अस्पतालमा रहेका बिरामीलाई पनि अक्सिजनको व्यवस्था आफैं गर्नु भन्ने खालका विज्ञप्ति जारी गरिरहेका छन् । भएका ग्यास उद्योगबाट आपूर्ति व्यवस्थासमेत भद्रगोल छ । सरकार हेल्थ इमरजेन्सीको कुरा गरिरहेको छ, तर चिकित्सक, नर्स, स्वास्थ्य प्राविधिकहरू स्वास्थ्य क्षेत्रमा आपत्काल (हेल्थ इमरजेन्सी) घोषणा गरेर मात्र केही नहुने बताउँछन् । यस्तो आपत्विपद् स्वास्थ्य क्षेत्रमा आउँछ भन्ने थाहा हुँदाहुँदै पनि सरकारले व्यवस्थापन गर्न नसक्नु दुःखद कुरा हो । अहिलेको जटिल परिस्थितिमा बिरामीको उपचार, अक्सिजनको अभाव, हेल्थ इमरजेन्सीलगायतका विषयमा चिकित्सकसँग कारोबारकर्मी मनोरञ्जन शर्माले गरेको कुराकानीको सार :

हेल्थ इमरजेन्सी लगाएर के हुन्छ र ?
डा. प्रवीण जोशी
वरिष्ठ सर्जन (प्रत्यारोपण एवं क्यान्सर)
म्याक्स फार्मा, भैरहवा

अहिलेको अवस्था निकै भयावह छ, नेपालमा जुन किसिमले कोरोना पोजेटिभ बिरामी बढिरहेका छन्, हाम्रो हेल्थ सिस्टमले धान्नै नसक्ने अवस्था भइसकेको छ । छिमेकी देश भारतको तुलनामा संख्या कम होला, तर हाम्रो हेल्थ सिस्टम भारतको तुलनामा कमजोर छ । कोभिड बिरामी ह्वात्तै बढ्नेबित्तिकै अहिले धान्न गाह्रो भइसकेको छ । बिरामीका अगाडि वास्तविक पीडा लुकाएर उनीहरूको उपचारमा संलग्न हुनुपरेको छ । अस्पताल पर्याप्त छैन, चिकित्सक–नर्सहरू पर्याप्त छैनन्, सरकारले कहिल्यै यसमा ध्यान दिएन । अहिले आएर अक्सिजन छैन । पहिला यहींको अक्सिजनले पुग्थ्यो, सामान्य अवस्था थियो तर अहिले अवस्था असामान्य बनिसकेको छ । सरकारले पूर्वतयारी गर्न सकेन । भारतमा दुई–तीन महिनाअघि नै कोरोनाको दोस्रो लहर आएको थाहा भइसक्दा त्यसको असर नेपालमा देखिन्छ है भनेर नेपाल सरकारले अनुमान गर्नुपथ्र्याे, जुन सरकारले गर्न सकेन, चुक्यो । सरकारको भिजनमा ठूलो कमी देखियो । योभन्दा अघि नै हामीले भोगेको कुरा हो, भारतमा बढ्नेबित्तिकै हाम्रो देशमा बढछ भनेर, किनकि हामी छिमेकी देश हौं, खुला नाका छ, सीधै कनेक्सन छ । भारतमा बिरामी बढिरहँदा हामीले यहाँ पूर्वतयारी गर्नुपथ्र्यो, जनशक्ति परिचालन गर्ने, अक्सिजन व्यवस्थापन गर्ने, प्लान्टहरू थप गर्ने, भएका प्लान्टको क्षमता विस्तार गर्ने, कोभिड÷नन कोभिड अस्पताल छुट्याउने काम पहिल्यै गर्नुपथ्र्यो । त्यो केही हुन सकेन, सरकार त्यसमा चुक्यो र त्यसको प्रतिफल अहिले देखाप-यो । अहिले आएर १ सय शैयाभन्दा बढीका अस्पतालले अक्सिजन प्लान्ट बनाउनु भनेको छ । कसरी बन्छ ? रातारात बन्छ र ? सामान कहाँबाट ल्याउने ? प्राविधिक कहाँबाट आउँछन् ? भएका प्लान्टहरू त मर्मत नहुँदा बन्द छन् । त्यति सजिलो छैन, बनाउनका लागि । यो त पहिलादेखि नै तयारी गर्नुपथ्र्याे ।
हेल्थ इमरजेन्सीको कुरा आइरहेको छ । हेल्थ इमरजेन्सी लगाएर के हुन्छ र ? रातारात अक्सिजन ग्याससहितका सिलिन्डर आकाशबाट बर्सने त होइन, कतैबाट बगेर आउने होइन, नयाँ चिकित्सक, नर्स, स्वास्थ्य प्राविधिक तुरुन्तै जन्मेर आउने त होइन, अहिले पनि फुल स्ट्रेन्थमा सबै काम भइरहेकै छ, मोबिलाइजेसन भएकै छन् । इमरजेन्सी घोषणा गरेर केही नयाँ चिज थपिनेवाला त छैन । पेपरमा इमरजेन्सी घोषणा हुने मात्रै हो । यो सब बेकारको कुरा हो । सरकारले कसरी हुन्छ कोअर्डिनेट गर्नुप-यो अक्सिजन सप्लाइका लागि । अक्सिजन सिलिन्डर वितरणमा पनि बदमासी भइरहेको छ । सरकारले मनपरि ढंगले वितरण गरेको सुनिन आएको छ । अस्पताललाई कोटा तोकिएको छ । अस्पताललाई कोटा तोक्ने होइन, उत्पादन बढाउनेतर्फ लाग्नुप-यो सरकार । त्यसैले अफिसको कोठामा बसेर कुनै कागज हेरेर डिसिजन गर्न सक्ने अवस्था अहिले छैन । सरकारी मान्छे, नेताहरू ग्राउन्ड वा, फिल्डमा आउनुप-यो । यो त युद्धको फिल्डजस्तै हो अहिले भनेको । सीमित स्रोतसाधन भए पनि त्यसलाई सन्तुलित रूपमा व्यवस्थापन गरी काम गर्न सकिन्छ, तर सरकारले गर्न सकिरहेको छैन । यसमा धेरै कमजोरी छ । यही मान्छे हो, यही वस्तु हो, यही साधनस्रोत हो । यसलाई अलि व्यवस्थित गर्नुपयो । अहिले अक्सिजन सिलिन्डरको विकल्पका रूपमा अक्सिजन कन्सेन्टे«टर मेसिन प्रयोगमा ल्याउन सक्ने र मोबाइल अक्सिजन प्लान्टसमेतको व्यवस्था हुनसके केही सहज हुन्छ । सरकारले कहींबाट पनि ल्याउन सक्छ माथिका सामान । फास्ट ट्र्याकबाट छिटोभन्दा छिटो सामान ल्याए उपचारमा धेरै मद्दत हुन्छ, यसतर्फ ध्यान दिनुपर्छ । साथै सर्वसाधारण पनि जिम्मेवार हुनु जरुरी छ । स्वास्थ्य मापदण्ड अपनाउनुप¥यो, अनिवार्य मास्क प्रयोग गर्नुप-यो ।

घरमा अक्सिजन सिलिन्डर नराखौं, अस्पताललाई दिऔँ
डा. लक्ष्मी पाठक
प्राचार्य

युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पताल, भैरहवा
यस्तो कहालीलाग्दो समय पनि आयो ! रुनबाहेक केही सकिन्न । हिम्मत नै घटिसकेको छ । पीडा लुकाएर उपचार र सेवा दिइरहेका छौं, अक्सिजन अभावमा बिरामीहरू छटपटाउँदा पनि तपाईंलाई केही हुँदैन भन्दै झूट बोल्न विवस छौं हामी । अस्पतालमा पूर्णरूपमा अक्सिजन अभाव छ । विभिन्न संघसस्थाले, समाजसेवीले अक्सिजन चाहिए भन्नुस् भन्ने र अक्सिजन प्लान्टमै गएर बस्ने गरेको, यति सिलिन्डर यसलाई–उसलाई सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेको देखिन्छ । होइन, अहिले घरमा रहेका व्यक्तिलाई भन्दा पनि अस्पतालहरूलाई सहयोग गर्नुप-यो, घरमा उपचारमा समस्या आएमा लग्ने त अस्पताल नै हो नि ! त्यसैले यस्ता कुरामा सबैले ध्यान दिनुपर्छ । अर्को कुरा, विभिन्न स्थानीय तहले सिलिन्डर राखेर अक्सिजनसहितको शैया सञ्चालन गरिरहेको सुनिन आएको छ । यो ठीक होला । तर आइसोलेसन सेन्टरमा बिरामीको परीक्षण गरी अक्सिजन चाहिने बिरामी भए सीधै अस्पताल पठाउने व्यवस्था गर्दा धेरै अक्सिजन सिलिन्डर होल्ड बाहिर हुँदैनथ्यो, यसतर्फ सरकारले ध्यान दिनुप-यो, बिरामी नभएका घरहरूमा पनि चाहिन्छ भन्दै सिलिन्डर राखेको पाइयो । अस्पताललाई पनि सहयोग गर्नुस् न सबैले ।
अस्पतालमा आफ्नै अक्सिजन लिएर आउँछन् बिरामीहरू, बेड मिलाइदिनुस् भनेर फोन आउँछ । न त्यो एउटा सिलिन्डरले अस्पताल बसुन्जेल पुग्ने हो । त्यसैले घरघरमा अक्सिजन मौज्दात गरेर राख्ने काम नगरौं । बिरामी भए अस्पताल आऔं, बरु अक्सिमिटर राखौं, श्वासप्रश्वास गति ९० भन्दा कम भए अस्पताल आउनुस्, नियमित रूपमा बाफ लिनुस्, तपाईंहरूले घरघरमा अक्सिजन सिलिन्डर मौज्दात राख्दा अस्पतालका बिरामीलाई अक्सिजन कसरी पुग्ला ? सरकारले यसमा पूर्णरूपमा ध्यान दिनुपर्छ । हेल्थ इमरजेन्सी अहिले नै देखिएजस्तो छ । अहिले भएकालाई राम्ररी व्यवस्थापन गरौं, अक्सिजन रिफिल गर्ने क्षमता बढाउनतर्फ लागौं । कोभिडका बिरामी बढेसँगै हाइफ्लो अक्सिजन चाहिने बिरामी स्वतः बढे ।
फोक्सो बिग्रेकालाई घरघरमै वा आइसोलेसनमै एउटा–दुइटा सिलिन्डर राखेर दुई–चार लिटर प्रतिमिनेटका दरले दिएर मात्रै हुन्न । अस्पताल नै लानुपर्छ । फोक्सो अलि धेरै संक्रमितलाई हाइफ्लो मास्क, नेजल क्यानुला र भेन्टिलेटर चाहिन्छ । त्यसै अक्सिजन अभाव भएको होइन, एक्कासि धेरै डिमान्ड बढेको हो । आयात छैन । सप्लाइ लिमिट छ तर माग बढी छ । त्यसैले घरमै बसौं । रोग फैलिन रोकौं ।
अहिले कोही बेड नपाएको, कोही भेन्टिलेटर नपाएको, कोही घरमै, कोही एम्बुलेन्समा त कोही अस्पतालको भुइँमै छटपटाएका छन् । रोग लागेर पछुताउनुभन्दा, अरूलाई रोग फैलाउनतिर लाग्नुभन्दा यसलाई कम गराउन, कन्ट्रोल गर्न सहयोग गरौं ।
अर्को कुरा, सरकारले पनि सरकारी र निजी दुवै अस्पताललाई समान रूपले हेर्नुप-यो अहिले यो विषम परिस्थितिमा । निजीलाई बाइपास गर्दै जबरजस्ती यो गर त्यो गर भन्नु भएन । १ सय शैयामाथिका अस्पतालले अनिवार्य अक्सिजन प्लान्ट निर्माण गर्नु भनेको पनि त्यही हो ।

तत्काल अक्सिजन सिलिन्डरको आपूर्ति बढाउनुपर्ने हुन्छ
हरिकुमार श्रेष्ठ
निमित्त मे.सु. डाक्टर
महाकाली अस्पताल, कञ्चनपुर

महाकाली अस्पतालमा कोरोना संक्रमित बिरामीको अवस्था एकदमै बढेको बढ्यै छ । अस्पताललाई अहिलेको समयमा सबैभन्दा ठूलो र सबैभन्दा महŒवपूर्ण समस्या भनेको अक्सिजन हो । हामीले समयमै अक्सिजनको आपूर्ति गर्न सकेका छैनौं, जसका कारण अक्सिजन अभावमा संक्रमित बिरामीले मृत्युवरण गर्नुपर्ने अवस्था आएको छ । यसले गर्दा संक्रमित बिरामीको उपचारमा निकै जटिलता पनि उत्पन्न भएको छ । अक्सिजन आपूर्तिका लागि सरकारीस्तरबाट मात्रै पहल भयो भने अक्सिजनको समस्या हल हुनसक्छ । यसमा राजनीतिक तवरको महŒवपूर्ण भूमिका पनि हुनेगर्छ ।
अस्पतालसँग संक्रमित बिरामीका लागि विभिन्न बेड गरेर ९३ वटा बेड सञ्चालनमा आएका छन् । संक्रमित बिरामीले विभिन्न कक्ष भरिएका छन् । कुनै–कुनै अक्सिजन आवश्यक बिरामीलाई अस्पतालले अक्सिजन दिन सकिराखेको अवस्था छैन । अस्पतालसँग भएको अक्सिजन प्लान्टले दैनिक १० देखि १२ वटा सिलिन्डरमात्रै भर्न सक्ने अवस्था छ । यसले गर्दा अस्पताल तथा जिल्लाबाहिरबाट अक्सिजन आपूर्ति गर्नका लागि सहज अवस्था छैन । दैनिक रूपमा अस्पतालमा अक्सिजन आपूर्ति भए पनि अस्पतालको खपतअनुसार अक्सिजन आपूर्ति हुन नसकेको अवस्था छ ।
अस्पतालमा भएका बिरामीलाई मृत्युवरणबाट बचाउन तत्काल अक्सिजन सिलिन्डरको आपूर्ति बढाउनुपर्ने हुन्छ । त्यसैगरी अस्पतालको म्यानपावर पनि बढाउनुपर्ने आवश्यकता भइसकेको अवस्था छ । अब अक्सिजन आपूर्ति कसरी बढाउने भन्ने विषयतर्फ जाँदा अक्सिजन आपूर्ति बढाउनका लागि नेपालमा नै अक्सिजन प्लान्ट कम भएको अवस्था होला । त्यस्तै सुनिन्छ पनि । त्यसकारण नेपालगन्जलगायतका क्षेत्रमा भने लिक्युड अक्सिजन सुरु गरिसकेको अवस्था छ । अहिलेको आवश्यकता मुख्यतः अक्सिजन भएकाले अक्सिजन आपूर्तिमा पनि असहज हुने अवस्थामा लिक्युड अक्सिजनको तत्काल आपूिर्त गर्नुपर्ने हुन्छ । त्यो गर्न सक्यो भनेपछि संक्रमितको उपचारमा केही सहज हुन्छ सकिन्छ भन्ने हो । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दुईवटा लिक्युड अक्सिजनका लागि टेन्डर गरिसकेको भन्ने कुरा आएको छ । त्यसमा एउटा महाकाली अस्पताललाई भए पनि अहिलेको अक्सिजन अभावको समस्या केही समयका लागि टर्ने सम्भावना छ । अब यसको आपूर्तिमा पनि करिब एक महिनाको समय लाग्न सक्छ । त्यसकारण त्यो अवधिसम्म हामीले जहाँजहाँ अक्सिजन प्लान्ट रहेका छन् त्यहाँ–त्यहाँबाट अक्सिजन आपूर्ति गर्न ढिलाइ गर्नु हुँदैन । ढिलाइ ग-यो भने अस्पतालमा संक्रमितको संख्यासँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ, जसले ठूलो भयावह स्थिति आउन सक्ने पनि संकेत आउने देखिन्छ । यस्तो नहुन दिन हामीले कम्तीमा सय सिलिन्डर अक्सिजन प्रतिदिन आपूर्ति गर्न सक्यो भनेचाहिँ स्थिति केही सहज हुने देखिन्छ ।
हामी अस्पतालमा काम गर्ने कर्मचारी स्वास्थ्यकर्मी हौं । यसकारण सबैभन्दा बढी उपयोगी कुरा भनेको नागरिक सुरक्षित हुने कुरा सोच्नुपर्छ । यसमा भ्याक्सिनको कुरा पनि आउने गर्छ । यसअघि केही मात्रामा लगाइएको खोपको परिणामको पक्ष एकदमै राम्रो छ । त्यसकारण नागरिकलाई सुरक्षित गर्नका लागि खोप लागउने कुरा पनि जतिसक्यो चाँडो गर्नुपर्ने आवश्यकता छ । कतिपय मात्रामा मात्रै खोप लगाएको भए पनि खोप लगाएपछि टिप्पणीहरू निकै कम आएका छन् । यसले गर्दा के हुन्छ भने खोप नलगाएका व्यक्तिहरूको संक्रमणपछि गम्भीर खालको अवस्था आउने गरेको छ भने खोप लाएको व्यक्तिमा संक्रमणपश्चात् सामान्य खाले अवस्था हुने गरेको छ । यसैगरी भाइरसबाट मृत्यु हुनेको कुरामा पनि खोप लगाएको व्यक्तिभन्दा खोप नलगाएको व्यक्तिमा बढी मृत्युदर हुने गरेको छ । त्यसकारण हामीले जतिसक्दो खोपमा नै जोड दिनुपर्छ, दीर्घकालीन समाधानका लागि । अब यसमा कति सम्भव छ या हुन्छ, त्यसमा सरकारले सोच्नुपर्ने कुरा आउने गर्छ । तर पनि अहिले तत्कालको अवस्थामा अस्पतालमा पुग्ने जोकोही बिरामीलाई आवश्यक भएको भनेको अक्सिजन नै हो । अक्सिजन आपूर्ति गर्नका लागि सम्पूर्ण पक्ष एक भएर लाग्नुपर्छ ।
प्रस्तुति ः चन्द्रकान्त जोशी

अस्पतालहरूलाई छिटै सशक्त बनाउन लागौँ
अनिलविक्रम कार्की
अंकोलोजी विभागीय प्रमुख
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

दोसो चरणसम्म महामारी आइपुग्दाको अवधिमा गर्नुपर्ने तयारी राज्य तहबाट हुन सकेन । कोरोनाको दोस्रो महामारी आउँछ । भीडभाड नगरौँ, राजनीतिक कार्यक्रम, आमसभा नगरौँ, भेटघाटलगायतका गतिविधि गर्नु हुँदैन भनिरहेकै थियौँ । तर, सुनवाइ भएन, जसले गर्दा कोरोना फैलियो । अस्पतालहरूलाई सशक्तीकरण गर्ने काम पनि ओझेलमा रहे । आईसीयु, भेन्टिलेटर थप्ने, अक्सिजन सप्लाइलाई अस्पतालमा विस्तार गर्नुपर्ने जस्ता कामहरू प्राथमिकतामा परेनन् । पहिलो कोभिडको महामारी आउँदा देखिएका अभाव दोस्रो चरणमा आइपुग्दा समेत उस्तै देखिनु दुर्भाग्यपूर्ण छ । यो एक वर्षमा विकास निर्माणहरू पुरानै शैलीमा भए । सडक बनाउने, नाला खन्ने कामहरू हुँदा अस्पतालहरूलाई थप सशक्तीकरण गर्नुपर्छ भन्ने सोचिएको देखिएन । स्थानीय तह, प्रदेश, केन्द्र सरकारले अस्पतालहरूको क्षमता बढाउने जस्ता काममा लाग्न नसकेको जस्तो देखियो । स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नगरेकै कारण अहिलेको संकटको सामना गर्नुपरेको हो । कोभिडको पहिलो चरणले नेपालको स्वास्थ्य स्थिति कति कमजोर रहेछ भन्ने दर्साएको थियो, तर त्यो बेला अहिलेको जस्तो महामारी भोग्नुपरेन । मास्क लगाउने, भीडभाड नगर्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पनि विस्तारै भुल्ने काम भए । कोरोना केही होइन भन्ने भ्रम धेरैमा रह्यो । सबै नागरिकले खोप लगाइसक्नुपर्ने बेलामा समेत खोप लगाउन पाएनन् ।
कोभिडको बेसिक उपचार भनेकै अक्सिजन हो । अक्सिजन कसरी पर्याप्त मात्रामा पु-याउने ? महामारीका बेलामा राज्यबाटै सरकारी र निजी भनेर विभाजित गर्ने काम हुनु हुँदैनथ्यो । सरकारी अस्पताल र निजी अस्पताललाई हेर्ने दृष्टिकोण नै फरक छ । यो बेला निजी अस्पतालको आत्मबल बढाउँदै सोहीअनुसारको सुविधा दिएर अधिकतम स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण बनाउनुपर्ने थियो । चितवनकै समग्र अवस्था केलाउँदा कोभिडबाहेकका बिरामीलाई समेत उपचार गर्न कठिन हुने स्थिति देखापरेको छ । बेड हुँदाहुँदै पनि अक्सिजनको अभावमा अन्य बिरामीलाई उपचार गर्न गाह्रो हुने जोखिम छ ।
यो बेला राज्यले स्वास्थ्य संकटकाल लगाएर भएका स्वास्थ्य सेवालाई अधिकतम उपयोग गर्ने वातावरण बनाउनुपर्छ । केही परिमाणका सिलिन्डर राहतजस्तो बाँडेर मात्रै बिरामीले सजिलै उपचार पाउँदैनन् । कुन अस्पतालमा बेड खाली छन्, कहाँ अक्सिजन छ, त्यो सजिलै जानकारी बिरामीका आफन्तले पाउने गरी संयन्त्र विकास गर्न जरुरी छ । भेन्टिलेटर, आईसीयू खोज्दै अस्पताल चहार्दैै कुनै बिरामीले ज्यान गुमाउन नपरोस् । जहाँ जुन अस्पताल भेटिन्छ, त्यहीं उपचार हुने वातावरण बनाउन ढिलाइ नगरौं । पालिकास्तरमा स्वास्थ्य सेवाका जेजस्ता सुविधाहरू छन्, त्यसलाई अधिकतम आइसोलेसनजस्तो बनाउन लाग्नुपर्छ । त्यस्तै कोभिडका साधारण जानकारी अझै सर्वसाधारणमाझ पु-याउनुपर्ने देखिन्छ । जिल्ला छिर्ने नाका वा स्वदेश भित्रिने बोर्डरहरूमा क्वारेन्टाइन र आइसोलेसन बनाएर सशक्त टिम परिचालन गर्नुपर्छ । ट्रेस, ट्र्याक र ट्रिट शैलीमा दु्रत गतिमा अगाडि बढ्नुपर्छ । विगतमा स्थानीय तहले वडास्तरमा क्वारेन्टाइन बनाए । अहिले स्थानीय तह पनि सुस्ताएसरह छन् । स्थानीय तहले हरेक वडामा आइसोलेसन युनिट बनाउनुपर्छ । होम आइसोलेसनमा बसेकालाई स्वास्थ्य परामर्श दिने, उपचार गर्ने टिम बनाउनुपर्ने देखिन्छ । गाउँगाउँ पुगेर कन्ट्याक्ट ट्रेसिङ गर्ने, भएका संक्रमितलाई उपचारमा ल्याउने, संक्रमण फैलिन नदिने काममा लाग्नुपर्छ ।
बीपी मेमोरियल क्यान्सर अस्पतालमा विगतमा जस्तै उपचार भइरहेकै छ । टाढाबाट बिरामी आउने क्रम उस्तै छ । कोभिडसँगसँगै क्यान्सरका बिरामीको पनि उपचार गर्दै आएका छौँ । क्यान्सरका बिरामीलाई कोभिड भए÷नभएको यकिन गरेर मात्रै शल्यक्रियालगायतका उपचार गर्दै आएका छौँ । कोभिड बढेकाले यही भित्रका संक्रमित बिरामीलाई उपचार गर्न २० बेडको आइसोलेसन बनाएका छौँ । जिल्लामा समेत कोभिड बढिरहेकाले क्यान्सर अस्पतालभित्रै १ सय २५ बेडको छुट्टै कोभिड केयर युनिट बनाएर सेवा दिने तयारी छ । पीसीआर मेसिन अस्पतालकै छ । भर्ना भएका बिरामीलाई अपरेसन गर्दा, केमो लगाउँदा, रेडियोथेरापी गर्दा पीसीआर गराएका छौँ । लामो अवधि बसेर उपचार गर्नुपर्ने भएमा कुुरुवाको समेत पीसीआर परीक्षण गर्ने गरेका छौँ । ३ हप्तापछि पुनः पीसीआर परीक्षण गर्नुपर्ने व्यवस्थालाई, बढ्दो जोखिमलाई मध्यनजर गरेर १० दिनमै पुनः परीक्षण गराउनुपर्नेबारे छलफल गरेका छौँ ।
प्रस्तुति : विप्लव काफ्ले

संक्रमणको सम्भावित स्थानमा सरकारले सिलबन्दी गर्नुपर्छ
डा. दीपक गिरि
सिमरा, बारा

अहिले भएकोे पीसीआर टेस्टमा ८० प्रतिशत कोरोना संक्रमित देखिएको छ । सरकारले दिएको किट लक्षण देखिएकाहरूमा मात्र प्रयोग भएको छ । उनीहरूले दिएको स्वाबको रिपोर्ट नआउन्जेल खुलेआम हिँडडुल गर्दा पूरै तराईमा सावधानी र शारीरिक दूरी कायम नगरेपछि एक व्यक्तिबाट अर्कोमा सर्ने क्रम तीव्र बनेसँगै हाम्रै बारामा समेत दैनिक मृत्यु हुन थालेको छ ।
संक्रमितले उपचार नपाइरहेको अवस्थामा होम आइसोलेसनमा बस्नुपर्दा औषधिलगायत अक्सिजनको समस्या भयावह बन्दै जानुमा तीनै तहका सरकार जिम्मेवार देखिएका छन् ।
म आफैं जितपुर सिमरा उपमहानगरले बनाएको २० बेडको आइसोलेसनमा खटिन थालेको छु र अन्य स्वास्थ्यकर्मीहरूसमेत सहभागी भएका छन् । जुनसुकै तहको सरकार होस्, काम गर्ने वातावरण बनाइदिए संक्रमितले उपचार पाउँछन् र निको पनि हुन्छन् । महामारीमा पनि नीति र विधिको पछि लाग्दा ढिलो भइरहेको अवस्था हो अहिले ।
परेपछि अत्तालिने र पहिल्यै स्वास्थ्यको ख्याल गरेर घरमै नबस्दा अहिले जिल्लामै स्थिति नियन्त्रणबाहिर छ जस्तो लाग्छ मलाई । अहिले पनि बिहान ११ बजेसम्म खुल्ने बजारको अनियन्त्रित भीड नै संक्रमित वृद्धिको आधार हो । अनावश्यक हिँडडुलमा जनता आफैं सचेत नभएसम्म स्थिति नियन्त्रणमा आउँछ जस्तो लाग्दैन ।
केही स्थानीय तहले जिल्लामा जिम्मेवार बन्दै व्यवस्थित आइसोलेसनको व्यवस्था गरेका छन्, यो सुखद पक्ष हो । अर्को कुरा, संक्रमण रोकथाममा समयमै पहिचान, परीक्षण, आइसोलेसन, उपचार र सम्पर्कमा आएका व्यक्तिको पहिचानलाई व्यवस्थित रूपमा अगाडि बढाउनु नै अहिलेको प्रमुख काम हो ।
विगतमा जस्तो कोभिड–१९ संक्रमितको परीक्षण रिपोर्ट मृत्युपछि मात्र आउने गरेको रोक्न तत्काल र अनिवार्य रूपमा परीक्षणको दायरा बृहत् बनाउनुपर्छ । सामान्य व्यवस्थापनको अभावमा सेवा–सुविधा हुँदाहुँदै समयमै कार्यान्वयन नहुँदा मृत्यु हुनु दुःखद अवस्था हो ।
उद्योग, कलकारखाना सञ्चालन रहेकै यो अवस्थामा श्रमिकहरूले जीवन गुजारामा समस्या नआउन काम गरे पनि स्वास्थ्य मापदण्डका बारेमा कसैको चासो देखिँदैन । त्यो नै अहिले देखिएको प्रमुख लापरबाही हो । जिम्मेवारी लिनेले नलिँदा यहाँको अवस्था गम्भीर छ । कोरोना भाइरसले सम्पूर्ण समाजको क्षेत्रलाई प्रभावित पारेको छ । त्यसैले तत्काल तरकारी बजारदेखि लिएर अन्य संक्रमणको सम्भावना भएका स्थानमा संघीय, प्रदेश र स्थानीय सरकारले आवश्यकताअनुसार सिलबन्दी गर्नुपर्छ, नत्र संक्रमणको दर घरघरै हुनेछ ।
प्रस्तुति : प्रकाश लम्साल

प्रतिक्रिया दिनुहोस्