नेपालका आधुनिक मुद्राहरूसम्बन्धी पुस्तक प्रकाशित

नेपालका आधुनिक मुद्राहरूः एक समीक्षा नामक पुस्तक प्रकाशन भएको छ ।
नेपाल राष्ट्र बैंकमा कार्यरत श्याम खतिवडाद्वारा लिखित उक्त पुस्तक राष्ट्र बैंकको ६६ औं वार्षिकोत्सवका अवसरमा गभर्नर महाप्रसाद अधिकारीले विमोचन गरेका हुन् ।
पुस्तकमा नेपालको मुद्रासम्बन्धी विभिन्न विषय समेटिएकाले पुस्तक बैंक वित्तीय संस्थाहरूका लागि उपयोगी र संग्रहणीय भएको गभर्नर अधिकारीले बताए ।
बस्तु विनिमय प्रथादेखि हालसम्मको मुद्राको बारेमा तथा आधुनिक मुद्राहरूको चित्रसहित उल्लेख गरिएको पुस्तक तीन खण्डमा विभाजित छ । पहिलो खण्डमा नेपाली मुद्राको इतिहासका विभिन्न कालखण्डको व्याख्या गरिएको छ । लिच्छवीकालीन, मल्लकालीन, शाहकालीन मुद्राहरूको विकासक्रमसहित सिक्काको विकल्पमा कागजी नोटको खोजीको विषयलाई पनि उल्लेख गरिएको छ ।
त्यस्तै, नेपाली मुद्राको प्रचलनमा नेपाल राष्ट्र बैंकको भूमिकाबारे समेत प्रकाश पारिएको छ । मुद्रा निष्कासनको प्रक्रियादेखि झुत्रा तथा मैला नोटहरूको सट्टाभर्नाकाबारे पनि यहाँ उल्लेख गरिएको छ । जालीनोटको कारोबारीबाट बच्न सकिने उपाय तथा सफानोट नीति एवम् केन्द्रीय बैंकको भूमिका र यही खण्डमा हालसम्म निष्कासन भएका कागजी नोटहरूको सचित्र निष्कासन मिति, नोटको छपाइ भएको संख्या, नोटमा रहेका विभिन्न सम्पदा, वन्यजन्तु र मठ मन्दिर आदिको विवरण पनि छ ।
पुस्तकको दोस्रो खण्डमा नेपालका विभिन्न समयमा टकमरी भएका संस्मरणात्मक सिक्काहरू र सिक्का निष्कासन प्रकृयाबारे विस्तृतमा उल्लेख छ ।
तेस्रो खण्डमा प्राविधिक विवरणबारे चर्चा गरिएको छ । पुस्तकमा हाल जीवित रहेका नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरहरूको मन्तव्य पनि समेटिएको छ । २९० पृष्ठ रहेको पुस्तकको प्रकाशन भगवती खतिवडाले गरेका हुन् ।