देशलाई आर्थिक रूपमा सक्षम बनाउने अभियानमा छौं : मन्त्री यादव

हेटौंडा-उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आफूहरु देश र जनतालाई सक्षम बनाउने अभियानमा लागेको भन्दै सरकारलाई सघाउन सबै पक्षसँग आग्रह गरेका छन् । आफ्नै पार्टीका सांसदहरुले सरकारको विरोध गरिरहेको भन्दै उनले चिन्तासमेत व्यक्त गरे ।
हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको ३३ औं बार्षिकोत्सवको बुधबार उद्घाटन गर्दै मन्त्री यादवले जनताले वर्तमान सरकारले दुईतिहाइको दम्भ नदेखाएको भन्ने आरोपको खण्डनसमेत गरे । “हामी विनम्र भएर काम गर्दैछौं, दम्भ देखाएर होइन । हामीलाई विपक्षीले निरंकुश भयो भनेर आरोप लगाउनु निराधार हो ।” सरकार गठन भएसँगै कानुनहरु निर्माण गर्नुपरेकाले नतिजा नदेखिएको उनको भनाइ थियो । “अब कानुन बनाउने समय सकियो । हामी छोटो अवधिका लागि बनेको सरकार पनि होइन । हाम्रो पाँच वर्षीय कार्यकालमा देखिने गरी विकास गर्छौं ।”
मन्त्रीहरुलाई भ्रष्टाचारी भनेर आफ्नै पार्टीका सांसद्हरुले आरोप लगाइरहेको भन्दै उनले भने, “मन्त्री भ्रष्टाचारी भएको भए सोहीअनुसार प्रमाण जुटाएर हटाउनेतर्फ लाग्न प¥यो । होइन भने आरोपका लागि मात्र आरोप लगाउन भएन ।” टे«ड युनियनका नेताहरु काम नगर्ने तर राजनीति मात्र गर्दा उद्योग प्रतिष्ठानमा समस्या भइरहेको उनको भनाइ छ । “टे«ड युनियन नेताहरु मालिकको शैलीमा अगाडि बढिरहेका छन् । काम गर्दै आफ्नो मागहरु राख्नुपर्नेमा कामै नगरी हिँडिरहेका छन् । यसले दिगो फाइदा गर्दैन,” उनले भने ।
उनले हेटौंडा सिमेन्ट उद्योगको क्षमता विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । उनले उदयरपुर सिमेन्ट र हेटौंडा सिमेन्टको क्षमता वृद्धिसँगै आवश्यक मेसिन खरिदका लागि मन्त्रालयको तर्फबाट प्रतिबद्धता जनाए । कार्यक्रममा ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेले उद्योगका लागि आवश्यक कच्चा पदार्थ ल्याउँदा कुनै समस्या भएको खण्डमा आफू सदैव सहयोग गर्न तयार रहेको बताए । ३ नम्बर प्रदेश प्रमुख प्रतीपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले हेटौंडा सिमेन्ट उद्योगलाई निजी उद्योगसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन जरुरी रहेको औंल्याए ।
उनले धेरै निजी तथा विदेशी लगानीमा सिमेन्ट उद्योग खुलिरहेको अवस्थामा कसरी हेटौंडा सिमेन्टलाई प्रतिस्पर्धी बनाउने भनेर उपाय निकाल्न जरुरी रहेको बताए । बार्षिकोत्सव कार्यक्रममा उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंह, उद्योग सञ्चालक समिति अध्यक्ष रघुरमण न्यौपानेलगायतले उद्योगको अवस्था, समस्या र चुनौतीहरुको बारेमा बोलेका थिए ।