Logo

कोरोनाबाट बच्न जनस्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प छैन


डा. शेरबहादुर पुन
संक्रामक रोग विशेषज्ञ
कोरोना भाइरसको नयाँ स्वरूप (भेरियन्ट) यतिबेला मुलुकमा तीव्र गतिमा फैलिएको अवस्था छ, जसका कारण मुलुकका ५१ भन्दा बढी जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोनाको नयाँ भेरियन्टका कारण संक्रमितहरूको संख्या मात्रै होइन, मृत्युदर पनि उच्च गतिमा बढेको छ । मानिसहरू संक्रमित मात्रै भएका छैनन्, गम्भीर बिरामी भएर अस्पतालमा समेत भर्ना भएका छन्, अस्पतामा बेड छैन र गम्भीर बिरामीलाई अक्सिजन पनि छैन । स्वास्थ्य मन्त्रालयले संक्रमितहरूको संख्या तीव्र गतिमा बढेको र मुलुकको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्थामा पुगेको तथा अस्पतालमा बेड नपाउने अवस्था सिर्जना भएको भनेर हात उठाइसकेको अवस्था छ । यस्तो अवस्थामा कोरोनाको नयाँ भेरियन्ट, यसबाट बच्नका लागि अवलम्बन गरिने उपायहरू कस्ता हुनुपर्छ तथा लागिहाले केके सतर्कता अपनाएर स्वस्थ हुनेजस्ता भन्ने विषयमा संक्रमण रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग कारोबारकर्मी दीपेन्द्र थापा र गोपाल संग्रौलाले गरेको कुराकानीको सार :

कोरोना संक्रमण हुने सम्भावना कस्तो अवस्थामा बढी रहन्छ ?
कोरोना संक्रमण हात र हावाको माध्यमबाट बढी सर्ने गरेको देखिएको छ । प्रत्यक्ष देखिने गरी कसैले हाच्छ्युँ ग¥यो भने त्यो सम्भावना बढी हुन्छ । अर्को भनेको हात वा मोबाइल कुनै पनि माध्यमबाट सर्न सक्छ । यसरी सर्दा भने कसैलाई थाहा नहुन सक्छ । त्यसैले हामीले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । यो संक्रमण हुने अवस्था र यसको असर त्यति सहज र सरल भने छैन । धेरैजसो संक्रमित हुने भनेको थाहा नै नपाइ हो । अहिलेको अवस्थामा कुनै व्यक्ति नजिक आएर खोक्यो भने तपाईं पर जानुहोस् भनेर नै भन्न थालिसक्यौं । तर, जो व्यक्ति वा जुन उपकरणबाट संक्रमण सरिरहेको छ त्योचाहिँ बढी चुनौतीपूर्ण रहेको देखिन्छ । कुनै संक्रमितको माध्यमबाट कुनै वस्तुमा भाइरस सरेर त्यो उपकरण प्रयोग गर्ने अर्को व्यक्तिले उपकरण छोएपछि नाक, मुख र आँखालगायतका अंगमा छुनु हुँदैन भन्ने छ ।

हावाबाट पनि सर्ने सम्भावना रहेको भन्नुभयो । कस्तो अवस्थामा हावाको माध्यमबाट संक्रमण फैलिन्छ ?
पछिल्लो समयमा धेरै नजिक व्यक्ति–व्यक्तिबीचको सम्बन्ध रह्यो भने हावाबाट पनि सर्न सक्छ भनिएको छ । हावाबाट पनि संक्रमण हुन्छ भन्ने कुराचाहिँ वैज्ञानिकले अलिक पछि नै दाबी गरेको कुरा हो । यति भन्दाभन्दै पनि हामी यसबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गरौं भन्ने कुरा धेरैलाई प्रिय लाग्दैन । किनभने लामो समयदेखि हामीले यही सुझाव, सल्लाह दोहो¥याउँदै आएका छौं । तर, सत्यतथ्य भने यही हो, हामी जसरी पनि बच्नैपर्ने हुन्छ । मुख्यतया त हाम्रो देशमा भ्याक्सिन उत्पादन नहुने र अधिकांश व्यक्तिले अभैm पनि लगाउन बाँकी रहेकाले भ्याक्सिन सबैले नलगाएसम्म जनस्वास्थ्यका मापदण्ड पालना गर्नुको विकल्प छैन ।

चाहिएजति भ्याक्सिन पनि आएको छैन । उपचार पाउने सम्भावना पनि देखिँदैन भनेपछि संक्रमणबाट बच्न के गर्नुपर्ला ?
यसबाट बच्ने तत्कालको उपाय भनेको हात धुने, उचित तरिकाले मास्कको प्रयोग गर्ने हो । यसरी नै जनस्वास्थ्यका मापदण्डलाई पालन गर्ने कुरालाई निरन्तता दिइयो भने नियन्त्रण गर्न सकिन्छ । नियन्त्रण किन गर्ने भनेको भने संक्रमणदर एकदम बढ्यो भने हामीसँग बिरामीलाई अस्पताल भर्ना गरेर उपचार गर्ने स्थान नै हुँदैन । ठाउँ नभएपछि जनशक्तिले भ्याउँदैनन् । जनशक्तिले नभ्याएपछि बचाउन सकिने मान्छेको पनि मृत्यु हुनसक्छ ।
यसअघि संक्रमण चरम बिन्दुमा पुगेका अमेरिका र युरोपियन देशमा भएकै यही हो । संक्रमणको वृद्धिदरको ग्राफ ठाडो उकालो लाग्यो भने हामीलाई बचाउन धेरै गाह्रो हुन्छ । भौतिक संरचना र जनशक्तिमा धेरै परिवर्तन भएको छैन । एकैपटक धेरै संक्रमित हुँदा उपचारका लागि स्थापना गरिएका पूर्वाधार र जनशक्तिले नभ्याउने हुनसक्छ । बढ्दो ग्राफले उपचार व्यवस्थापनलाई पार्ने असन्तुलनलाई बिग्रन नदिन सरकारले जनस्वास्थ्यमा मापदण्ड पालन गर्ने भनिरहेको छ । संक्रमण जिरोमा जाने तत्काल अवस्था नभए पनि उच्च बिन्दुमा पुगेको संक्रमणलाई घटाएर एक बिन्दुमा स्थिर राख्न सकियो भने हाल भएका जनशक्तिले बाँकी रहेका संक्रमितको राम्रो उपचार गर्न सक्ने थिए ।
त्यसैले अहिले मैले देखेको भनेको जनस्वास्थ्यका मापदण्ड जुन सबैलाई थाहा छ, पालना गर्ने । तर मैले नजिकबाट नियाल्दाचाहिँ केमा कमजोरी देखियो भने हामी पढिरहेका छौं, लेखिरहेका छौं र अनुभव पनि गरिरहेका छौं । तर, त्यसलाई व्यहारमा लागू गर्न सकिरहेका छैनौं । हुन त मानवीय स्वभाव भनेको एकै स्थानमा बस्ने स्वभाव त होइन, तर पनि यसलाई नियन्त्रण गर्न जनस्वास्थ्यका मापदण्ड व्यवहारमा लागू गर्ने बाहेकको अर्को विकल्प नै छैन ।

कोरोनाविरुद्धको दोस्रो भ्याक्सिन लगाएका व्यक्तिमा पनि संक्रमण भएको देखियो । कसरी यस्तो अवस्था आएको होला ?
भ्याक्सिन लगाएका व्यक्ति नलगाउने व्यक्तिको तुलनामा कम जोखिममा हुन्छ । तर, हामीले सबैले भ्याक्सिन लगाई नसकेको अवस्थामा भने जोखिम भने बढी नै हुन्छ । किन भने भ्याक्सिन लगाएका मानिसमा संक्रमण भए पनि असर कम हुनसक्छ । तर, उसले भ्याक्सिन नलगाएको मानिसलाई सार्न सक्छ र भ्याक्सिन नलगाएको मानिसलाई कोरोनाले बढी समस्या पार्न सक्छ । अमेरिकाको स्वास्थ्य मापदण्डले त दोस्रो खोप लगाएको १४ दिन पार गरेपछि मास्क नलगाए पनि हुन्छ भन्ने अध्ययन रहेको उल्लेख गरेको छ । तर, हामी अहिले नेपालमा छौं, कतिले लगाएका छन, कति लगाएका छैनन् । एन्टीबडी कम भएको अवस्थामा भ्याक्सिन लगाएकाहरूलाई पनि संक्रमण र असर देखिन सक्छ । भ्याक्सिन लगाएकाले म सुरक्षित छु भनेर स्वास्थ्य मापदण्ड पालना नगर्ने भन्दा पनि अरू खोप लगाउन नपाएकाहरूको स्वास्थ्यका बारेमा सोच्नुपर्ने हुन्छ । तर, भ्याक्सिनको फुल डोज भनेको दोस्रो खोप लगाएको १४ दिन पुगेकोलाई मात्र मानिन्छ । यो बिर्सन हुँदैन ।

अघिल्लो कोरोना कहरमा बढी उमेरका तथा छाती तथा अन्य रोगका बिरामीको मृत्यृ धेरै भयो भन्ने थियो । तर, कोरोनाको दोस्रो लहरमा भने उमेर समूह कम भएका संक्रमित धेरै छन् भनिन्छ नि ?
कोरोनाको पहिलो लहरको एक वर्षअघिको संक्रमणको अवस्था हेर्दा बढी उमेर भएकालाई बढी असर गरेको देखिए पनि अहिले भने कम उमेर अझभन्दा ५० वर्षभन्दा कम उमेर समूहमा जोखिम बढी देखिएको छ । अहिले अस्पतालमा ३० देखि ५० वर्ष उमेर समूहका मानिस धेरै आईसीयूमा उपचार गरिरहेका छन् । अहिलेको संक्रमणले कुनै उमेर समूहलाई प्रतिनिधित्व गरेको देखिँदैन । कुनै समय यस्तो पनि थियो, ६० वर्ष उमेर पूरा गरेका र दीर्घरोगीलाई गाह्रो छ भन्ने गरिन्थ्यो, तर अहिले अवस्था त्यस्तो छैन । मृतकको संख्या हेर्दा पनि ५० वर्षभन्दा कम उमेर समूहका रहेका छन । संक्रमणबाट मर्नेमा पनि बालकदेखि ५० वर्ष उमेर समूहका समेत रहेका छन् । त्यसैले यो युवा भन्ने कुरा कोरोनाको दोस्रो लहरमा लागू भएको देखिएन ।

अहिले फैलिरहेको कोरोना भाइरसको स्वरूप फरक छ भनिन्छ, यसको लक्षण र असर पनि फरक हुन्छ ?
भाइरसमा म्युटेसन हुनु भनेको सामान्य कुरा हो । यसमा समयसँगै रूप फेरिँदै जान्छ । भाइरस म्युटेसन भयो भने या त पहिलाभन्दा धेरै कमजोर हुन्छ, या त कडा हुन्छ । हाम्रो धर्मशास्त्रमा देवता तथा दानवको लडाइँमा देवताले हारेपछि केही देवता मिलेर एउटा संयुक्त शक्तिसहितको देवी उत्पन्न गरिन्छ । जसले शिवको त्रिशूल, इन्द्रको बज्र तथा विष्णुको सुदर्शन चक्र लिएकी हुन्छिन् र सबै देवताको शक्ति एकीकृत भएकाले सबै देवताभन्दा शक्तिशाली हुन्छिन् नि । हो त्यस्तै, म्युटेसन भनेको पनि धेरैको शक्ति एउटामा आएको भनिएको हो । जुन खराब पनि हुनसक्छ वा असल पनि । अहिले डबल भेरियन्ट, युके भेरियन्ट अथवा ब्राजिलियन भेरियन्ट देखिएको छ । यी सबैले खराब–खराब गुण लिएकाले डबल वा तेब्बर खराब भए अर्थात् हानिकारक भए । अन्य देशको भाइरसको आफ्नै विशेषता रहेको छ भने भारतमा देखिएको भेरियन्टको राम्रो जानकारी आउन बाँकी नै छ । डबल र ट्रिपल भेरियन्टले अर्को भाइरसको जिन तानेर नयाँ स्वरूपको जिन तयार हुने देखिएको छ । भाइरसको नयाँ भेरियन्टमा छिटो पैmलने र घातक हुने जिन तानेर नयाँ स्वरूप पनि बन्ने गर्छ । यदि यस्तो भाइरसको विकास भए ठूलो क्षति गर्न सक्छ भन्ने हो । नयाँ भेरियन्टको लक्षण फरक पनि हुन सक्छ । पहिला रुघा लाग्नु, श्वास प्रश्वासमा समस्या आउनु र ज्वरो आउनु प्रमुख लक्षण हो भनियो, तर पछि स्वाद र गन्ध थाहा नपाउने अर्को लक्षण देखियो । तर, अहिले हामीले थाहा नपाएको नयाँ लक्षणसहितका कोरोना संक्रमित नआउलान् भनेर नकार्न सकिँदैन । तर पनि सबैभन्दा भरपर्दो लक्षण अझै पनि स्वाद र गन्ध थाहा नपाउनु नै हो ।

कोरोना संक्रमण सुरु हुँदा यसको असर एक वर्षसम्म मात्र रहन्छ भनिएको थियो । तर, पुनः संक्रमण नयाँ स्वरूपमा देखा पर्दै गरेका कारण यो भविष्यमा पनि देखिने सम्भावना कत्तिको रहेको छ ?
भाइरसहरूको हकमा हामी २१औं शताब्दीमा प्रवेश गरेका छौं । अझ नराम्रो भाइरस नआउला भन्न सकिँदैन । अभैm पनि हामीले विभिन्न प्रकारका भाइरसको सामना गर्नुपर्ने हुनसक्छ । मेरो विचारमा अहिले पर्यावरण राम्रो छैन । वन विनास गर्ने, जंगली जनावरसँग नजिक रहने बानीको विकास हुँदै गएको छ । मानिसहरूले प्रकृतिमाथि गरेको अत्याचार र शोषणका कारण अहिले मानिस नै आक्रान्त भएको हो । त्यस्तै, मानिसमा ८० प्रतिशतको हाराहारीमा आउने रोग जनवारबाट नै आउने गरेको पाइएको छ । हुन त वैज्ञानिक नाम अर्कै छ, तर बर्डफ्लु र स्वाइन फ्लु पनि जनावरबाट नै मानिसमा सरेको हो । त्यसैले यसको समय तोक्न सकिन्न । योभन्दा खतरनाक अर्को भाइरस पनि आउन सक्छ, जुन मानव स्वास्थ्यका लागि घातक हुनसक्छ । त्यसका लागि मानिसको जीवनशैली सही हुनुप¥यो ।

पत्रकार पनि फ्रन्टलाइनमा खटिएर काम गर्नेमा पर्छन् । पत्रकारले आफ्नो पेसागत धर्म पालना गर्दा कसरी जनस्वास्थ्यका मापदण्ड पालना गरेर समाचार संकलन गर्न सक्छन्, केके कुरामा ध्यान दिनुपर्छ ?
सबैभन्दा पहिला समाचार संकलनका लागि कस्तो स्थानमा जाँदैछौं भन्ने कुरामा ध्यान दिनुपर्छ । हतारहतारमा सानो, साँघुरो र भीडभाड भएको स्थानमा समाचार संकलन गर्न जाँदा बढी ध्यान दिनुपर्छ । भरसक यस्ता स्थानमा पत्रकारले मात्र नभई कसैले पनि संक्रमणको बेला काम गर्नु हुँदैन । दूरी कायम गरेर मास्क लगाएर कुरा गर्दा संक्रमण हुने सम्भावना कम हुने रहेछ । त्यसैले यदि जानुभन्दा पहिला कहाँ जाँदैछु भन्ने विषयमा स्पष्ट हुन आवश्यक छ । समाचार संकलन गर्दा पत्रकारले प्रयोग गर्ने उपकरण कति नजिक लगेर गर्ने भन्नेबारेमा पनि ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ ।
साथै, बोल्दाखेरि दुवै पक्षले मास्क लगाउनुपर्छ । नजिक भएर बोल्दा दुवै पक्षले मास्क भए फेससिल्डको आवश्यकता नपर्न पनि सक्छ भन्ने मान्यता रहेको छ । सबैभन्दा ठूलो कुरा भनेको कस्तो स्थानमा समाचार संकलन गरिँदै छ भन्ने हो । खुला स्थान भए संक्रमणको जोखिम कम हुने हुन्छ । समाचार संकलनका क्रममा कतिपयले मोबाइल धेरै नजिक राखेर रेकर्ड गरिरहेको पनि भेटिन्छ । सामान्यतया बोल्दा मास्क खोलेर बोल्ने चलन भएका कारण अन्तर्वार्ता लिइरहेको समय सञ्चारकर्मीले प्रयोग गर्ने व्यक्तिगत उपकरणमा बोल्ने व्यक्तिको थुकको छिटा लागेको हुन्छ । भौतिक दूरी कायम गरेको अवस्थामा पनि बोल्ने व्यक्ति संक्रमित भएको रहेछ भने पत्रकारलाई वा बोल्ने व्यक्तिलाई संक्रमण हुने सम्भावना रहन्छ । कतिपय प्लास्टिकका कभर भएका मोबाइलमा कोरोनाका भाइरस लामो समयसम्म बस्न सक्ने भएकाले जोखिम धेरै हुन्छ । दूरी कायम गर्ने, मास्क लगाउने, हात धुने र खुला स्थानमा काम गर्ने गरियो भने संक्रमण जोखिमको सम्भावना भने कम नै रहन्छ । विज्ञानमा सम्भावनाको कुरा हुन्छ । शतप्रतिशत भन्ने केही हुँदैन, तर जनस्वास्थ्यको मापदण्ड पालना गर्दा कोरोना संक्रमण हुने सम्भावना न्यून हुन्छ ।

तर, समाचार संकलनका लागि त भीडभाडमा पनि जानुपर्ने हुन सक्छ । यस्तो अवस्थामा तथा समाचार कक्षमा काम गर्दा र उपकरण प्रयोग गर्दा पनि के कुरामा ध्यान दिनुपर्छ ?
पत्रकारिता धेरै भीडभाड जानुपर्ने पेशा हो । पत्रकारका लागि खोजिम पनि धेरै रहेको हुन्छ । अर्को कुरा, धेरै पहिलादेखि नै मैले भन्ने गरेको छु । एउटा कम्प्युटर धेरै जनाले प्रयोग गरेको भए निसंक्रमण गर्नुपर्छ भन्दै आएको छु । सकेसम्म एउटै कोठामा धेरै जनाभन्दा पनि आलोपालो प्रणालीबाट काम गर्ने वातावरण बनाउनुपर्छ । कहिलेकाहीं झुक्किएर मास्क खोलेको अवस्था पनि हुन सक्छ । अर्को कुरा, सहकर्मीबीच इमानदारिता पनि हुनुपर्छ । कुनै कर्मचारीको परिवारमा कोही संक्रमित भएको रहेछ भने परीक्षण गराएर मात्र सहकर्मीको नजिक जानुपर्ने हुन्छ । कुनै एक वस्तु धेरै जनाले प्रयोग गरिरहेको भए निसंक्रमण गरेर मात्र अर्को व्यक्तिले प्रयोग गर्नुपर्छ । कुनै कर्मचारीको परिवार वा नजिकको मानिस कसैलाई संक्रमण भएको भए सोबारे कार्यालयमा सबैलाई जानकारी गराउनुपर्छ । संक्रमण प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सरिरहेको अध्ययनले देखाएको छ । कुनै व्यक्ति बाहिरबाट हेर्दा स्वस्थ्य देखिने तर उसको शरीरमा भाइरसको मात्रा धेरै भएर बोल्दा थुकको छिटाको माध्यमबाट बाहिर आइरहेको पनि हुन सक्छ । त्यसैले पत्रकार तथा अन्य पेसाकर्मी सबैले इमानदार हुनुप¥यो, खुला वातावरणमा काम गर्नुप¥यो, अनि प्रयोग गरेका सामानहरू निसंक्रमण गर्नुप¥यो ।

तर, पत्रकारले आफ्नो पेसागत धर्म निर्वाह गर्दागर्दै पनि कसरी सुरक्षित भएर समाचार संकलन गर्न सकिन्छ ?
अघि नै मैले भनिसकें, संक्रमणबाट जोगिन दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने तथा बेलाबेलामा हात धोइरहनेजस्ता व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । दैनिक क्रियाकलाप गर्दा अनिवार्य रूपका साबुन–पानीले हात धुनु नै संक्रमण कम गर्ने सबैभन्दा उपयुक्त उपाय हो । कोरोना भाइरस सबैभन्दा बढी हातबाट नै सर्ने गरेको देखिएको छ । सानो कोठामा धेरै जना बस्ने र भेन्टिलेसनको व्यवस्था नभएको अवस्थामा एक व्यक्ति मात्र संक्रमित भए पनि कोठामा रहेका सबैमा संक्रमण पैmलने सम्भावना रहन्छ ।

हामीले दैनिक जीवनमा प्रयोग गर्ने यन्त्र उपकरण तथा सामानको प्रयोगबाट पनि सर्ने भएकाले हामी कसरी सुरक्षित रहन सक्छौं ?
हामी धेरै चिन्तित हुनु पर्दैन । प्रयोग गर्ने यन्त्र, उपकरण तथा सामान जे प्रयोग गरे पनि त्यसको प्रयोग गरेपछि हात राम्रोसँग सेनिटाइज गर्ने वा साबुन–पानीले हात धुने गरेको खण्डमा भाइरसको संक्रमणबाट बच्न सक्छौं । कुनै पनि सामान प्रयोग गरेपछि वा केही छोएपछि हामीले हातलाई मुख, आँखा वा नाकसम्म पु¥याउनु हुँदैन । एउटा उदाहरणको कुरा गरौं, एकजना बैंकमा काम गर्ने कर्मचारीले असाध्यै बढी केयर गर्ने गर्नुहुँदो रहेछ । अफिसमा सबै जनाले उहाँलाई लाग्यो भने त हामी कोही पनि बच्दैनौं भन्दा रहेछन् । तर दुर्भाग्यवश उहाँलाई नै कोरोना संक्रमण सबैभन्दा पहिला भएछ । अर्थात् भन्न खोजेको के हो भने जहाँ पनि केयर गर्ने र असाध्यै धेरै केयर गर्नु पनि एक प्रकारको क्रेजिनेस हो । यसले हामीलाई अन्य काम गर्नका लागि पनि समस्या हुनसक्छ । त्यो भनेको मानसिक रूपमा मानिसलाई असर पार्छ । त्यही भएर म कोरोनाबाट जोगिनुपर्छ भन्छु, तर त्यसैलाई लिएर तनाव लिनु भने हुँदैन भन्ने हो । कोरोना त अहिले जताततै भइसक्यो, अहिले त कोरोना भाइरस मात्रै होइन अन्य रोगहरूको संक्रमण पनि छ । त्यसैले मानिसक रूपमा कोरोना भाइरसलाई लिएर धेरै तनाव लिनु हुँदैन, तर यसबाट बच्ने उपायका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ ।

तर, संक्रमण भइसकेपछि के गर्दा छिटो स्वस्थ हुन सकिन्छ ?
संक्रमणको शंका लगेपछि पीसीआर गराइहाल्ने, ढिलो नगर्ने र यदि संक्रमण भएको रहेछ भने त्यसपछि निरन्तर डाक्टरसँगको परामर्शमा रहनुपर्छ । सबैलाई गम्भीर लक्षण देखिन्न, नदेखिन सक्छ । केहीलाई अस्पताल नै भर्ना गर्नुपर्ने हुन्छ । कतिपयमा अक्सिजन चाहिने अवस्था हुन सक्छ तर सबैमा त्यसो हुँदैन । पीसीआर पोजेटिभ आउनेबित्तिकै डाक्टरसँगको नियमित सम्पर्कमा रहने र डाक्टरको परामर्श अनुसार नै चल्ने ।

प्रतिक्रिया दिनुहोस्