२० वर्षमा बन्यो बसपार्क, ४ वर्षपछि फेरि उद्घाटन

पाँचथर-फिदिम नगरपालिका–२ पल्लोटारका स्थानीयबासीले बसपार्क निर्माणका लागि जग्गा उपलब्ध गराएको करिब दुई दशकपछि बसपार्क निर्माणकार्य सम्पन्न भएको छ ।
यसअघि पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट अभावकै कारण बसपार्कका लागि प्राप्त भएको करिब साढे सात रोपनी जग्गा लामो समयसम्म बेवारिसे अवस्थामा रहेको थियो । चार वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नयाँ वर्षको अवसर पारेर बसपार्कको उद्घाटन गरेका थिए । चार वर्षअघि उद्घाटन भएको बसपार्क पुनः उद्घाटन गर्न लागिएको हो । व्यवस्थित बसपार्क सञ्चालनका लागि पर्याप्त पूर्वाधार निर्माण नभएको भन्दै यातायात व्यवसायीले सवारी पार्किङ गर्न नमानेपछि अलपत्र बनेको बसपार्क निर्माण सम्पन्न भएको हो ।
ठूलै तामझामका साथ २०७१ वैशाख १ गतेबाट गाडी लैजाने भन्दै उद्घाटन गरिएको बसपार्क चार वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको थिएन । बजारबाट करिब दुई किलोमिटरको दूरीमा रहेको स्थायी बसपार्कमा गाडी पुग्दैनन् । फिदिम उच्च माविको जग्गामा सञ्चालनमा रहेको अस्थायी बसपार्कमा सबै गाडी राखिन्छ । हाल सञ्चालनमा रहेको अस्थायी बसपार्क उपयुक्त भएन भन्दै बजारभन्दा बाहिर खोजिएको बसपार्कका संरचना पनि प्रयोगविहीन जस्तै छन् ।
चार वर्ष पहिला नै उद्घाटन भइसकेको बसपार्क फेरि उद्घाटनको नाममा फजुल खर्च गर्ने तयारी गरिएको छ । बसपार्कको उद्घाट मंसिर २९ गते गर्ने तयारी गरिएको फिदिम नगरपालिका–२ का वडाध्यक्ष तथा बसपार्क भौतिक पूर्वाधार निर्माण समितिका संयोजक सुकपाल तुम्बापोले बताए । यसअघि भौतिक संरचना नै थिएनन् । उनले भने, “गाडी गए पनि कहाँ बस्ने,” ? अहिले सबै संरचना निर्माण भइसकेका कारण यही मंसिरको २९ गतेबाट सबै गाडी बसपार्कमै पुग्ने उनले बताए ।
बसपार्कका लागि आवश्यक आधारभूत भौतिक संरचना बनिसकेका छन् । केही निर्माणकै चरणमा छन् । झापा तिरबाट आउने गाडीलाई फिदिम बजारको खेलमैदानको गेटतर्फको बाटोबाट छिर्ने र जोरसाल तिरबाट आउने गाडीलाई फिदिम चारखम्बे सशस्त्र क्याम्पमुनिको बाटो प्रयोग गर्ने गरी वान वे निर्माण गरिएको तुम्बापोले बताए ।
हाल सञ्चालनमा रहेको अस्थायी बसपार्कका कारण फिदिम बजारभित्र सवारी र मालवाहक साधनको चाप उच्च हुँदा दुर्घटनाको जोखिम रहेको सार्वजनिक कार्यक्रममा पटक–पटक बोल्ने राजनीतिक दल पनि पल्लोटारमा बसपार्क सार्ने विषयमा विभाजित हुँदा कार्यान्वयन हुन नसकेको स्रोतको दाबी छ । स्थानीय दातासँग मागेको जग्गा बसपार्कको स्वामित्वमा आएको चार वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसक्दा नमुना सहरको अवधारणमा समेत असर परेको छ । बसपार्क सार्न समेत वर्षौ लागेपछि नमुना सहर विकास गर्न सरकारलाई कति समय आवश्यक होला स्थानीयको प्रश्न छ । यसअघि स्थानीय प्रशासनले समेत स्थायी बसपार्क सञ्चालनमा चासो नदिएको गुनासो थियो ।
पल्लोटारमा रहेको बसपार्कमा ब्यवसायीले गाडी लान नमानेका कारण सञ्चालन हुन नसकेको बताइन्छ । ब्यवसायीले बसपार्क उद्घाटनको समयमा त्यहाँ पुग्नलाई बाटो नभएको भन्दै गाडी लैजान नसक्ने बताएका थिए । पछि नगरपालिकासहितका निकायले बाटो निर्माण गरेको भए पनि ब्यवसायीले गाडी पुर्याउने तत्परता देखाएका छैनन् । बाटो बनेपछि यातायात ब्यवसायीलाई सुरक्षा नभएको भन्दै गाडी नलाने मनस्थितिमा रहेको बुझिएको छ