अवसर र रोजगारीका लागि विश्वको जुनसुकै कुनामा पुगे पनि संकट र जोखिमको समयमा आफ्नै घर र देशको आवश्यकतालाई कोरोनाले सिकाएको छ ।
वैश्विक अर्थतन्त्र कहिले सामान्य होला ?

२१ औँ शताब्दीको यात्रा र वैज्ञानिक युगको वकालत गरिरहेको बेला समग्र विश्वमा त्राही मच्चाउने कोरोना भाइरसको कहर रोकिएला र यसका प्रभावलाई कम गर्न सकिएला, उठिएला भन्ने समयमा पनि रोकथाम, मृत्यु र पारेको अन्य प्रभावलाई पुर्न विश्वले सकिरहेको छैन । अनेकन प्रयासहरूमा दोस्रो, तेस्रो, चौथो लहर अर्थात् भाइरसका नयाँ स्वरूपले तहल्का मच्चाउँदा यी सब प्रयासहरू पुनः पछाडि परेका छन् । आर्थिक, औद्योगिक, पर्यटन, व्यापार, कृषिलगायत सबै क्षेत्रमा असरहरू देखा परिरहेका छन् । विकसित राष्ट्रहरूले यस्ता प्रभावबाट आफ्नो अर्थतन्त्रलाई डगमगाउन नदिन विभिन्न आर्थिक प्याकेजका कार्यक्रमहरू घोषणा अहिले पनि गरिरहेका छन् । तर, हाम्रो जस्तो हरेक वस्तुमा परनिर्भर रहेका देशहरूका लागि यो निकै ठूलो चुनौती बनिरहेको छ ।
कोरोना महामारीले वैश्विक अर्थतन्त्रमा नराम्रो धक्का पु¥यायो र यो क्रम निरन्तर छ । महामारीले आश्चर्यजनक दरमा विश्वव्यापी आर्थिक प्रभाव ल्याइदिएको छ । यसले थुप्रै देशलाई आर्थिक मन्दीका लागि अग्रसर गराएको छ । असाधारण नीति समर्थनको बाबजुद आधारभूत पूर्वानुमानले २०२० मा विश्व कुल गार्हस्थ्य उत्पादनमा ५.२ प्रतिशत गिरावटको अनुमान गरिएको थियो, जुन आठ दशककै ठूलो मन्दी हो । महामारीले मागमा कमी ल्याएको छ भने वस्तुको पूर्तिमा ठूलो धक्का पु¥याएको छ । वैश्विक व्यापार डगमगाएको छ । कुल गार्हस्थ्य उत्पादनमा धक्का पुगेको छ । यसले कृषि, तेलजन्य, उद्योग, शिक्षा, स्वास्थ्य र उपचारजस्ता क्षेत्रमा असर पु¥याएको छ ।
कोभिडविरुद्धको खोप र अनुसन्धानको प्रयोगमा भएको प्रगति तथा आर्थिक सुधारका नीतिगत पहल कदमीले विश्व अर्थतन्त्रमा सुधारको संकेत देखिएको अवश्य छ, तर यसपछिको अवस्था झनै बिग्रँदा थप चिन्ता र चासो थपिदिएको छ, जसले गर्दा सन् २०१९ मा २.८ प्रतिशतले विस्तार भएको विश्व अर्थतन्त्र सन् २०२० मा ३.५ प्रतिशतले संकुचन भएको अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान छ । सन् २०२१ मा भने विश्व अर्थतन्त्र ५.५ प्रतिशतले विस्तार हुने प्रक्षेपणमा कमी हुने अनुमान गर्न सकिन्छ ।
सन् २०१९ मा १.६ प्रतिशतले वृद्धि भएको विकसित मुलुकहरूको अर्थतन्त्र सन् २०२० मा ४.९ प्रतिशतले संकुचन भएको अन्तर्राष्ट्रिय मुद्रा कोषले बताएको छ । यसैगरी उदीयमान तथा विकासशील अर्थतन्त्र सन् २०१९ मा ३.६ प्रतिशतले वृद्धि भएकोमा सन् २०२० मा २.४ प्रतिशतले संकुचन भएको थियो । सन् २०२१ मा विकसित मुलुकहरूको अर्थतन्त्र ४.३ प्रतिशतले र उदीयमान तथा विकासशील मुलुकहरूको अर्थतन्त्र ६.३ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ ।
छिमेकी मुलुक चीनको अर्थतन्त्र सन् २०१९ मा ६.० प्रतिशतले विस्तार भएकोमा सन् २०२० मा २.३ प्रतिशतले वृद्धि भएको अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान छ । भारतको अर्थतन्त्र सन् २०१९ मा ४.२ प्रतिशतले विस्तार भएकोमा सन् २०२० मा ८.० प्रतिशतले संकुचनमा रहेको कोषको अनुमान भए पनि अहिलेको विषम अवस्थामा यसै भन्न सक्ने अवस्था देखिँदैन, किनकि अहिले विश्वको सबैभन्दा बढी प्रताडित मुलुक बनेको छ भारत । सन् २०२१ मा चीनको आर्थिक वृद्धिदर ८.१ प्रतिशत बढ्ने प्रक्षेपण छ, किनकि उसको अवस्थामा सुधार भएको छ ।
विकसित मुलुकहरूको मुद्रास्फीति सन् २०१९ मा १.४ प्रतिशत तथा सन् २०२० मा ०.७ प्रतिशत रहेकोमा सन् २०२१ मा १.३ प्रतिशत रहने कोषको प्रक्षेपण छ । उदीयमान तथा विकासशील मुलुकहरूको मुद्रास्फीति सन् २०१९ मा ५.१ प्रतिशत तथा सन् २०२० मा ५ प्रतिशत रहेकोमा सन् २०२१ मा ४.२ प्रतिशत रहने प्रक्षेपण छ । कोभिड–१९ का कारण सन् २०२० मा विश्व व्यापार आयतन ९.६ प्रतिशतले संकुचन आएकोमा सन् २०२१ मा ८.१ प्रतिशतले विस्तार हुने प्रक्षेपण रहेको छ ।
कोभिडले नेपालमा मात्र २० लाखको हाराहारीमा रोजगारीमा धक्का पु¥याएको योजना आयोगको तथ्यांकले बताउँछ । पहिलो लकडाउनले मात्र विश्व बजारमा रोजगारीमा रहेका करिब ५० औँ लाख युवाहरू कमाइविहिन भएका थिए । कोरोनाको पहिलो स्वरूप थोरै साम्य हुँदा क्रमशः बजार खुल्नाले केही राहत पक्कै पुगेको थियो । तर, पुनः भाइरसको स्वरूपमा आएको परिवर्तन र त्यसले जनसँगै धनको ठूलो नाश गर्न थालेको छ । यसले पहिलो अवस्थाभन्दा नराम्ररी धक्का दिन सक्ने अर्थविद्हरूले बताउँदै आएका छन् ।
अवसर र रोजगारीका लागि विश्वको जुनसुकै कुनामा पुगे पनि संकट र जोखिमको समयमा आफ्नै घर र देशको आवश्यकतालाई कोरोनाले सिकाएको छ । आत्मनिर्भरता प्रमुख उद्देश्य हुनुपर्छ भन्ने कुरालाई थप प्रमाणित गरिदिएको छ । आयातमुखी देशको अर्थतन्त्रमा निर्यात गर्न सकिने कुरालाई थप महŒवमा पारिदिएको छ । अर्काले दिन्छ र खान पाइन्छ भन्ने कुरामा सुधार गर्नुपर्ने कोभिडले सिकाएको छ । बस्, हामी छोटो समयमा यस्ता घटनाहरू बिर्सन्छौँ र पटक–पटक पछुताउँछौँ ।
कोभिड विश्वमा देखा परेपछिको अवस्थामा रोजगारीका अवसरहरूमा व्यापक गिरावट आएको छ । पछिल्लो २०१९ र २०२० को अवस्थामा पनि ब्राजिल, इटली, क्यानडा, अमेरिका, फ्रान्स, बेलायत, जर्मनी, जापान, भारत र नेपालजस्ता विश्वका २ सय १५ बढी मुलुक तथा भूभागमा रोजगारी व्यापक कटौती भएका छन् । बेरोजगारीको दर ह्वात्तै बढेको छ । चीन र अस्ट्रेलियाजस्ता मुलुकमा थोरै पुरिए पनि अन्य देशको अवस्थामा खासै सुधार देख्न र महसुस गर्न सकिएको छैन । किनकि पूर्णकालीन रोजगारी गुमाउनेकै संख्या विश्वमा २.५ करोड माथि छ । यहाँ रोजगारीको मात्र कुरा छैन, भाइरसले करिब १५ करोड मानिसहरूमा प्रत्यक्ष असर पुगेको छ भने ३१ लाखको त ज्यान नै गइसकेको छ ।
नेपालको हकमा कोभिड–१९ को संक्रमण र प्रभाव कम हँुदै गएकाले आर्थिक क्रियाकलाप क्रमशः सामान्यीकरण हुन थालेको थियो । आर्थिक क्रियाकलाप विस्तारसँगै कर्जा तथा आयात बढ्दै गएका कारण मूल्य तथा बाह्य क्षेत्र स्थायित्वमा पर्ने दबाबलाई समेत मध्यनजर गर्दै मौद्रिक व्यवस्थापन गर्नुपर्ने कुरालाई मौद्रिक नीतिले पनि समेटेको छ । शीघ्र आर्थिक पुनरुत्थानमा टेवा पु¥याउने उद्देश्यले लागू गरिएका वित्तीय सहजीकरण र नियामकीय लचकतासम्बन्धी व्यवस्थाबाट वित्तीय स्थायित्व प्रभावित हुन नदिनेतर्फ सजगता अपनाउनुपर्ने देखिएको छ । आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा जोड दिनुपर्ने अवस्था छ । आर्थिक वर्ष २०७६/७७ मा कोभिड संक्रमणका कारण अर्थतन्त्र शिथिल रहन पुग्यो । कोभिड–१९ को संक्रमण दर घट्दै गएको तथा आर्थिक गतिविधि विस्तार हुन थालेकाले चालू आर्थिक वर्षमा ट्रेन्ड आर्थिक वृद्धि हासिल हुने अनुमान गरिए पनि पुनः विपत् उल्टिने संकेतले थप असहजता निम्त्याइदिएको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कुल वस्तु निर्यात ७.८ प्रतिशतले वृद्धि भई रु.८० अर्ब ७८ करोड पुगेको छ । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ११.३ प्रतिशत र २.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा ४३.७ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा कुल वस्तु आयात २.१ प्रतिशतले वृद्धि भई रु.९४३ अर्ब ९९ करोड कायम भएको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ९.८ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः ७.१ प्रतिशत र १२.१ प्रतिशतले कमी आएको छ ।
आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा कुल वस्तु व्यापार घाटा १.६ प्रतिशतले वृद्धि भई रु. ८६३ अर्ब २१ करोड कायम भएको छ । निर्यात–आयात अनुपात ८.६ प्रतिशत पुगेको छ । वार्षिक विन्दुगत आधारमा २०७७ फागुन महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क २.० प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ३.२ प्रतिशतले बढेको छ । यो समयमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई रु. ६४२ अर्ब १४ करोड पुगेको छ । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पछिल्लो आठ महिनाको अवधिमा ६५.२ प्रतिशतले घटेको छ ।
कोरोनाले थिलिएको अर्थतन्त्र माथि उकास्नका लागि सबैका मुखराविन्दबाट अनेकन योजनाहरू आए पनि कार्यान्वयनको पक्ष एकदमै कमजोर रहँदा गरिबको अवस्थामा कुनै सुधार आउन सकेको छैन । भनिएको १८.७ प्रतिशतको गरिबीको प्रतिशतमा महामारीले संख्या र प्रतिशत दुवैमा वृद्धि गराएको छ । यही गरिबीको रेखामुनि रहेका नागरिकमा समेत सरकारका नीति तथा कार्यक्रम नपर्दा मध्यम र उच्चमा पनि यसको असर नराम्ररी देखिएको छ ।
कृषियोग्य जमिनहरू बाँझै छन् । उत्पादकत्वमा वृद्धि हुनुको सट्टा घट्दो छ । आफ्नै देशको उत्पादनले ६ महिनालाई धान्न गाह्रो पर्छ । विपत्मा आत्मनिर्भर बन्नुपर्छ भनियो तर बिर्सिहालियो । अब यो संकटबाट सिक्नुपर्छ भन्दै छौँ, तर बजार खुलेको केही समयमै पुनः हात्ती आयो हात्ती आयो फुस्सा भएको छ । कृषकलाई कृषियोग्य जमिन, बालीको पकेट क्षेत्र छुट्ट्याएर, जग्गा चक्लाबन्दीजस्ता अनेकन कृषि क्षेत्रका समस्या ज्यूँका त्यूँ छन् । चामल, हरियो तरकारी, प्याज, लसुन, खुर्सानी, माछा, खसीबोका, दूध, बिजुली, बायो ग्यास, सौर्य ऊर्जा, सिमेन्ट, फलाम, काठ यी वस्तुहरूमा हामी आत्मनिर्भर हुने गरी योजना तयार गर्नुपर्ने यो समयमा खाली लोडसेडिङ घट्यो भनेर अर्कासँग किनेको बिजुलीमा गर्व गरेर बसेका छौँ । यो कार्यले न आत्मनिर्भर हुन्छौँ न सिकाउँछौँ र सिक्छौँ, गाह्रो छ ।
२०७७ को आगमनमा पनि हामीले कोभिडबाट धेरै कुरा सिक्न सकिने भनेर चर्चा बढी ग¥यौं, खासै पूरा भएनन् । यही महामारीबीचमा अर्को वर्ष पनि प्रवेश गरिसकेका छौँ । मसान वैराग्य अवस्था नै देखियो भन्नुपर्छ, किनकि हामीले आशा गरेका थियौँ, मानिसको बानी–व्यवहारमा परिवर्तन हुन्छ । क्रमशः प्रकृतितर्फ फर्कने, दूरी कायम गर्ने, बिग्रिएको जीवनशैलीमा थोरै भए पनि सुधार हुने, अध्यात्मिक यात्रा, खानपिन, गरिबी बढ्ने तर सहयोगी भावनाको विकासजस्ता विविध पक्षहरूमा परिवर्तन हुन सक्ने आकलन र बहसहरू भएका थिए । कोरोनाको नकारात्मकता त छँदै छ, तर यसका सकारात्मकताहरू पनि ल्याउने तर्कहरू आएका थिए, हामीले पनि रटेर बसेका थियौँ । महामारीले सामाजिक विभेदको अन्त्य, देखावटी जीवनशैली र खर्चको कटौती, आत्मनिर्भरतामा वृद्धि, राज्यको भूमिका चाहिन्छ भन्ने कुरा, बजारको आकार, वातावरण प्रदूषणमा कमीजस्ता विभिन्न सकारात्मक कुराहरू ल्याएको थियो, तर निरन्तरता पाएन ।
हुन त वैज्ञानिकहरूले महामारीका कारण सामाजिक दूरी बढिरहेको बताउँदै समाजबाट हात मिलाउने, अँगालो हाल्ने, नजिक रहनेजस्ता सामाजिक परम्परा लोप हुन सक्ने चेतावनी पनि नदिएका होइनन् । अहिले पनि पूरा विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ । यस्तो बेला कसले प्राथमिकता पाउनुपर्छ— अर्थतन्त्रले कि जनताले ? धेरै सरकारहरू अहिले यो द्विविधामा अझै पनि परेको देखिन्छ । आखिर जसरी व्याख्या गरिए पनि यो संकटले हामीलाई यस्तो पाठ सिकाएको छ कि मानव मानव भएर बाँच्न सिकौँ, जसमा नयाँ विश्वको परिकल्पना गरियोस्, नयाँ राजनीतिक प्रणाली र नयाँ मानव ज्ञानसहितको सामाजिक व्यवस्था कायम होस् । प्रकृतिको प्रहारलाई पुँजीवादले प्रतिरोध गर्न सकेन र आज विश्वका नागरिक कोरोना भाइरसको आक्रमणमा परेका छन् । यस समयमा पुँजीवाद र चिकित्सा विज्ञानलाई पनि उत्तिकै प्रहारहरू पनि नभएका होइनन्, यिनको शक्ति खै कहाँ छ भनेर ।
अर्थतन्त्रको सानो आकार, बजार र निर्वाहमुखी हाम्रो देश वैदेशिक अनुदानबाट चलेको छ । सम्भावनाका पोकाहरू हामीले अहिलेसम्म खोल्नै सकेका छैनौँ र अर्काले दिएको भरमा जीवन गुजार्नु हाम्रो बाध्यता बनेको छ । सबै कुरा अरूबाटै चलेको देशमा मागेका कुरामा हुने घिनलाग्दो अनियमितता शैलीले हाम्रो अर्थतन्त्रमा लाग्ने कालो दाग र पुर्याउन सक्ने दीर्घकालीन असर झनै कहालीलाग्दो देखिएको छ । कोरोना कहरले विश्वमा धेरै कुरामा प्रभाव परेको छ । यसले दूरगामी रूपमा सामाजिक, राजनीतिक र मनोवैज्ञानिक प्रभाव पार्ने र पारेको कुरामा विश्वले केही सिके पनि क्षणभरको प्राप्तिले दुःख बिर्सने गलत शैलीले भविष्यमा महामारीसँग जुझ्न कसरी तयार रहन सकिन्छ भनेर हामीजस्तालाई थप चिन्ता भिडाइदिएको छ ।