Logo

भारतबाट फर्केका मजदुरको पीडा, अब कसरी पेट पाल्ने ?

रोजगारी र अध्ययनको सिलसिलामा भारत गएका नेपाली काँकडभिट्टा नाकाबाट नेपाल फर्कंदै । तस्बिर : कारोबार

झापा-रोजगारीका लागि भारत पुगेका नेपाली कोरोना भाइरसको पहिलो लहरसँगै आफ्नै देश फर्के । महामारीका कारण भारतबाट मात्र हजारौंको संख्यामा नेपालीहरु स्वदेश फर्किएका थिए । सरकारले उनीहरुलाई नेपालमै व्यवस्थापन गर्न नसकेपछि १० महिनासम्म बेरोजगार रहेका उनीहरु फेरि मजदुरी गर्न भारत नै जान बाध्य भए ।
पूर्णरुपमा कोरोना रोकथाम नहुँदै रोजगारीका लागि भारत पुगेका नेपाली मजदुरलाई कोरोनाको दोस्रो लहरले पुनः नेपाल फर्काएको छ । भारतमा कोरोनाको दोस्रो लहरले महामारीको रुप लिन थालेपछि पूर्वी नाका काँकडभिट्टा हुँदै दैनिक ४ सयदेखि ५ सय मजदुर नेपाल फर्कने गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।
सिराहाका रामेश्वर यादव विगत ८ वर्षदेखि भारतको कलकतामा मजदुरी गर्छन् । भारतमा मजदुरी गरेरै उनले सात जनाको परिवार पाल्दै आएका छन् । कोरोना भाइरसको पहिलो लहर शुरु भएसँगै गत वर्ष वैशाखमा यादवले नेपाल फर्कनुप-यो । कोरोना रोकथाम नहुँदै मजदुरी गर्न भारत गएका रामेश्वरले दोस्रो लहरसँगै नेपाल फर्कन बाध्य भएको बताए । भारतमा कोरोनाका कारण लकडाउन सुरु भएपछि नेपाल फर्किनु परेको यादव बताउँछन् । लकडाउनका कारण आफूहरुलाई त्यहाँ खान–बस्न नै समस्या हुन थालेको भन्दै नेपाल फर्केको यादवले सुनाए ।
“पहिलो लहरले नेपाल फर्कायो, १० महिनासम्म सरकारले रोजगार दिन्छ कि भन्ने आश लाग्यो,” यादव भन्छन्, “नेपालमा रोजगारी नपाएपछि पेट पाल्नैका लागि भारत जानुप¥यो, अहिले दोस्रो लहरले फेरि फर्कायो अब कसरी आफ्नो र परिवारको पेट पाल्ने ?” यादव प्रश्न गर्छन् ।
सुनसरीका धिरज महतलाई पनि दोस्रो लहरले नेपाल फर्काएको छ । “नेपालमा रोजगारी नपाएपछि भारतमा कोरोना रोकथाम नहुँदै गत वर्षको माघमा नै म भारत गए,ँ” उनले भने, “बल्लतल्ल काम शुरु भएको थियो, फेरी नेपाल फर्कनुप¥यो ।” अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ता महतलाई छ । त्यस्तै, पढाइका लागि भारत गएका नेपाली विद्यार्थी पनि धमाधम नेपाल फर्कन थालिसकेका छन् । भारतमा कोरोना त्रास बढेकोले नेपाल फर्कनु परेको सुनसरीका दिपक यादवले बताए । “म दिल्लीमा सिए गर्दैछु, कोरोना बढेकाले कोठाबाट बाहिर निस्कसम्म पाइँदैँन,” यादवले भने, “त्यसैले नेपाल फर्किएको हो ।”

नाकामा कडाइ
कोरोना जोखिम बढेसँगै सीमावर्ती नाका आवतजावतमा कडाइ शुरु भएको छ । बढ्दो जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था बढाइएको जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख श्रवणकुमार तिम्सिनाले बताए । “सबैभन्दा ठूलो नाका काँकडभिट्टासँगै अन्य नाकामासमेत उच्च सुरक्षा सर्तकता अपनाएका छौँ,” प्रजिअ तिम्सिनाले भने, “अत्यावश्यक नभएसम्म यात्रा नगर्न आग्रहसमेत गर्दछु ।”
भारतमा संक्रमण बढेसँगै अहिले नेपाल आउने भारतीय तथा नेपाली नागरिकले ७२ घण्टाभित्रको पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले बताए । “अहिले पिसिआर परीक्षणको रिपोर्टको आधारमा मात्रै नेपाल प्रवेश गर्न दिइएको छ,” दाहालले भने । भारतमा संक्रमण बढेपछि १ महिनाभित्रमा रोजगारी र अध्ययनको शिलशिलामा भारत पुगेका १५ हजार ७ सय ८८ जना नेपाली घर फर्किएको इप्रका काँकडभिट्टाको तथ्यांकले देखाउँछ । काँकडभिट्टा नाका भएर भारत प्रवेश गर्नसमेत कडाइ गरिएको छ । उपचारका लागि भारत जानेहरुलाई कागजातका आधारमा पठाइन्छ । नेपालमा नै उपचार सम्भव भएका बिरामीलाई परामर्शपछि फर्काइने गरिएको डिएसपी दाहालले बताए । यसैगरी भारतीय सेनामा कार्यरत व्यक्ति र भारतीय आधार कार्ड भएका व्यक्ति पनि भारत जान पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्