Logo

खाद्य संस्थानले धान पाएन

नेपालगञ्ज-ढिलो गरेर धान खरिद गर्न सुरु गरेको नेपाल खाद्य संस्थान राजापुरले यसवर्ष कृषकहरूबाट धान पाउन सकेको छैन । संस्थानले तोकेको मूल्यभन्दा बढी मूल्यमा व्यवसायीहरूले खरिद गर्न थालेपछि संस्थानले धान पाउन नसकेको हो ।
संस्थानको राजापुरमा रहेको आधुनिक चामल कारखानाले खरिद आदेश नपाउँदा धान खरिदमा ढिलाई भएपछि कृषकहरू व्यवसायीलाई बेच्न बाध्य भएका थिए । सरकारले आर्थिक वर्षको सुरुमै तोकेको समर्थन मूल्यनै रहने गरी खाद्य संस्थानले मंसिरको दोस्रो सातादेखि काँटा लगाएर धान खरिद गरेको थियो । संस्थानले मूल्य तोके लगत्तै व्यवसायीले संस्थानको भन्दा ५० देखि १ सय ५० रूपैयाँसम्म बढी मूल्यमा खरिद गर्न थालेपछि धान पाउन नसकेको संस्थान राजापुरका मिल प्रमुख अनिल श्रेष्ठले बताए ।
सरकारले तोकेको समर्थन मूल्यअनुसार यसवर्ष मोटो धान प्रतिक्विन्टल २ हजार ३ सय ३१ रूपैयाँ, मकवानपुर २ हजार ५ सय ५० र मध्यम २ हजार ४ सय ६० रूपैयाँमा खरिद भए पनि व्यवसायीले त्यो भन्दा बढी मूल्यमा धान खरिद गर्ने गरेका छन । अधिकांस कृषकले धान बिक्री गरिसकेकाले यसवर्ष संस्थानले धान पाउन नसक्ने अवस्था रहेको मिल प्रमुख श्रेष्ठको भनाई छ । “हालसम्म दुई सय ३० क्विन्टल मात्र खरिद भएको छ,” उनले भने, “यसवर्ष संस्थानले धान पाउन नसकिने देखिएको छ ।”
धान पाउन नसकेपछि संस्थानको राजापुरमा रहेको आधुनिक चामल कारखाना सञ्चालनमा समस्या हुने भएको छ । यस वर्ष राजापुरमा पहिलो चरणमा ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य संस्थानको छ । त्यस्तै दोस्रो चरणमा थप ३० हजार गरी कूल ७० हजार क्विन्टल खरिद गर्ने लक्ष्य रहे पनि यो लक्ष्यको ज्यादै न्यून मात्र धान खरिद हुने देखिएको छ ।
गतवर्ष २० हजार क्विन्टल लक्ष्य रहेकोमा १ हजार ९ सय ५० क्विन्टल मात्र खरिद गरेको खाद्य संस्थान राजापुरले जनाएको छ । मिल सञ्चालनमा संकट आएपछि कैलालीको टीकापुरबाट ६ हजार क्विन्टल धान खरिद गरी सञ्चालन गरेको संस्थानले जनायो ।
राजापुर क्षेत्रमा कुल १६ हजार हेक्टरमा बर्खे धान खेती हुने गरेको छ । संस्थानले यहाँ उत्पादन हुने धानलाई मध्यनजर गरी समयमै उचित मूल्य निर्धारण नगरेका कारण कृषक मर्कामा पर्ने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाजना धान सुपरजोनका प्रमुख वीरेन्द्र पराजुलीले बताए । “यहाँ करिव ८७ प्रतिशत मकवानपुर धानको उत्पादन हुने गर्दछ,” उनले भने, “किसानको हित हुने गरी समयमै उचित मूल्य तोक्नुपर्छ ।”

नेपालगन्जमा लक्ष्य पुरा हुने
यसैबीच खाद्य संस्थान अञ्चल कार्यालयको कारकाँदोमा रहेको धान खरिद केन्द्रले भने यसवर्षको लक्ष्य पुरा हुने जनाएको छ । संस्थानको यस वर्षको लक्ष्य २५ हजार क्विन्टल रहेको छ । मंसिर १० गतेदेखि काँटा लगाएर खरिद सुरु गरेको संस्थानले हालसम्म ४ हजार ५ सय क्विन्टल मोटो र मध्यम धान खरिद गरी सकेको जनाएको छ ।
दैनिकरूपमा धान बिक्रीका लागि आउने कृषकको संख्या हेर्दा यसबर्षको लक्ष्य पुरा हुनेमा आफूहरू आशावादी रहेको खाद्य संस्थान अञ्चल कार्यालय नेपालगन्जका प्रमुख हरिप्रसाद जोशीले बताए । “कृषकहरूको चाप हेर्दा हामी लक्ष्य पुरा गर्नेमा ढुक्क छौं,” उनले भने, “धेरै किसानले भिडभाडका कारण पालो नपाएर पछि ल्याउँछौं भनेका छन, लक्ष्य पुरा हुने देखिन्छ ।”
संस्थानले गतवर्ष २० हजार क्विन्टल लक्ष्य राखेकोमा १३ हजार क्विन्टल खरिद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्