नेपाल–भारत ऊर्जा व्यापारमा एक फड्को «

नेपाल–भारत ऊर्जा व्यापारमा एक फड्को

लामो समयदेखि चर्चामा रहेको भएतापनि नेपाल–भारत ऊर्जा व्यापारको गति निकै सुस्त छ । नेपाल विद्युत् प्राधिकरणले प्रत्येक वर्ष नवीकरण हुने गरी भारतबाट बिजुली आयात गरिरहेको थियो । तर अब भारतीय बजारबाट प्रतिस्पर्धाको आधारमा प्राधिकरणले बिजुली आयात गर्न सक्नेछ । नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गरी आयात गर्न बाटो खुलेपछि यसले विस्तारै गति लिने आशा गर्न सकिन्छ । भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेन्ज मार्केटबाट विद्युत् खरिद गरी आयात गर्न सक्ने गरी बुधबार स्वीकृति दिएसँगै सिधै नेपाल विद्युत् प्राधिकरणलाई भारतीय एक्सचेन्ज बजारबाट बिजुली किन्ने बाटो खुलेको हो । हाल प्राधिकरणले एनटीपीसी विद्युत् निगम लिमिटेड (एनभीभीएन), पावर ट्रेड कम्पनी (पीटीसी) र बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्य सरकारका वितरण कम्पनीहरुसँग विद्युत् खरिद गर्दै आएको भए पनि अब भारतीय बजारबाट सोझै आवश्यकताअनुसार विद्युत् खरिद गरी आयात गर्न सक्छ । तर, आयात सहजीकरण भए पनि निर्यातको बाटो भने अझै सहजीकरण हुन बाँकी छ । निर्माणाधीन केही ठूला आयोजना सम्पन्न भएपछि आगामी वर्षामा खेर जाने बिजुली भारतीय बजारमा बेच्नका लागि नेपालले प्रयास गरिरहेको छ । भारतले हाल आफ्नो बिजुली निर्यातका लागि खुला बजारमा पनि सहज पहुँच दिएझैं नेपाललाई बिजुली भारत निर्यात गर्न पनि बाटो खुला गरिदिने आशा छ । भारतबाट नेपालले बिजुली किन्न सहज वातावरण बने पनि बेच्न भने अझै सहज भइसकेको छैन, छलफलकै क्रममा छ । नेपाल विद्युत् प्राधिकरणले नेपालमा खपत गरेर बढी भएको बिजुली भारतमा बिक्रीको स्वीकृतिका लागि प्रस्ताव पठाएको छ । हाल पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगावाटको भोटेकोसी आयोजना सम्पन्न भएपछि वर्षाको समयमा नेपाली बिजुली भारतमा बिक्रीका लागि भारतसमक्ष प्रस्ताव गरिसके पनि स्वीकृति भने पाइसकेको छैन । भारतबाट प्राधिकरणसँग केही थप आवश्यक कागजात माग भएको छ । र, चाँडै नेपालले भारतमा बिजुली बेच्ने सहमति पाउने आशा गर्न सकिन्छ । त्यसमाथि प्राधिकरण भारतीय पावर एक्सचेन्ज मार्केटको सदस्य बनेकाले नेपालको ऊर्जा विकासको लागि एउटा महत्वपूर्ण कोशेढुंगा चाहिँ भएको छ । यसबाट बिना कसैको हस्तक्षेप बजारले निर्धारण गरेको प्रतिस्पर्धी दरमा आवश्यकताअनुसार विद्युत् खरिद गरी आयात गर्न सकिने तथा भविष्यमा बिक्री गर्न पनि सकिने भएकाले यस कदमबाट दुई मुलुकबीचको विद्युत् व्यापारका लागि योे ऐतिहासिक फड्को हुने विश्वास लिइएको छ ।
तर, जलविद्युत्को धनी मुलुक भए पनि नेपाल अझै भारतको बिजुलीमा निर्भर छ । प्राधिकरणका अनुसार हाल नेपालमा २७ हजार ८ सय ८२ मेगावाट आवर माग रहेकोमा भारतबाट १७ हजार ८ सय १९ मेगावाट आवर आयात भइरहेको छ । जुन कुल मागको ५० प्रतिशभन्दा बढी हो । सुख्खा मौसम र पानी नपरेका कारण खोलामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रको विद्युत् उत्पादन उल्लेख्य मात्रामा घटेकाले घरेलु विद्युत् माग र आपूर्तिको व्यवस्थापनका लागि भारतबाट आयात भइरहेकोमा अब भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गर्न स्वीकृति पाएपछि प्राधिकरणले तत्काल करिब ३० मेगावाट थप खरिदको प्रक्रिया भने अघि बढाइसकेको छ । हुन त प्राधिकरणले यस वर्षको हिउँदमा आयात ५ सय ५० मेगावाटमा सीमित राख्ने योजना बनाएको थियो तर पनि हाल आयात बढेर सात सय ८० मेगावाटसम्म पुगेको छ । पछिल्लो समय विद्युत्को माग बढेको तर आन्तरिक उत्पादन घटेका कारण आपूर्तिका लागि भारतबाट थप विद्युत् आयात गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको हो । पछिल्ला महिनाहरुमा वातावरणमा परेको नकारात्मक असरका कारण चैतमा पानी नपर्दा बिजुली आयात बढेको प्राधिकरणको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्