Logo

प्रदेश २ को राजधानी र नामका लागि सुझाव संकलन

प्रदेश २ को स्थायी राजधानी र नामांकनलाई लिएर विवाद उत्पन्न भएपछि प्रदेश नं. २ को सरकारले गठन गरेको संवाद तथा सुझाव आयोगले सुझाव संकलन थालेको छ ।
टोलीले बिहीबार पर्सा सदरमुकाम वीरगञ्जमा सुझाव संकलन गर्यो । हरिवंश झाको संयोजकत्वमा गठित तीन सदस्यीय सो आयोगको सदस्यमा रामप्रवेश बैठा र मोहनलाल चौधरी रहेका छन् । आयोगले प्रदेश नं २ को आठ वटै जिल्लामा सुझाव संकलन गरी ४५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन बुझाउनेछ ।
यसै क्रममा संवाद तथा सुझाव आयोगले बिहीबार वीरगञ्जमा प्रदेश नं २ को प्रदेश राजधानी र प्रदेशको नामांकन सम्बन्धित सुझाव संकलन कार्यको थालनी गर्दै कार्यक्रमको आयोजना गरेको छ ।
सो कार्यक्रममा अधिकांश राजनीतिक दलका प्रतिनिधिहरुले धार्मिक दृष्टिकोणले जनकपुर धार्मिकस्थल भए पनि आर्थिक दृष्टिकोणले वीरगञ्ज समृद्ध भएको, अन्तर्राष्ट्रिय मापदण्ड वीरगञ्जमा भएको, मधेश आन्दोलनको उद्गमस्थल वीरगञ्ज भएको, धार्मिक, ऐतिहासिक तथा आर्थिक रुपमा सबल भएकाले प्रदेश नंं २ को स्थायी राजधानी वीरगञ्ज हुनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा विभिन्न वक्ताले प्रदेश नं २ को नाम—जानकी प्रदेश, मध्य मधेश प्रदेश, भोजपुरा मधेश, मधेश प्रदेश, मध्यमाञ्चल प्रदेश हुनुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा प्रदेश नं २ का आन्तरिक मामिला तथा उद्योग राज्यमन्त्री उषा यादव, सांसद प्रदीप यादव, प्रदेश सांसद मञ्जुर अन्सारी, श्याम पटेल, उपप्रमुख शान्त्ति कार्की, सांसद हरिनारायण रौनियार, महिला नेत्री सुषमा तिवारी, मुन्नी श्रीवास्तव, राजपाका महासचिव राजेशमान सिंह, केन्द्रीय सदस्य रम्भा मिश्र, ओमप्रकाश सर्राफ, पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार लगायतका नेता तथा बौद्धिक समाजका व्यक्तिहरुले आ–आफ्नो सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्