बागलुङमा चुनावी चटारो «

बागलुङमा चुनावी चटारो

बागलुङ-उद्योग वाणिज्य संघ बागलुङको अधिवेशनको मिति नजिकियसँगै बागलुङमा चुनावी सरगर्मी सुरु भएको छ । संघको नयाँ नेतृत्व चयनका लागी १७ औं अधिवेशनको यही मंसिर २१ र २२ गते तोकियसँगै बागलुङ बजार चुनावमय बनेको हो ।
नेतृत्वको दौडमा संघका वरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारी र महासचिव दयाराम पौडेल लागेका छन् । नयाँ नेतृत्वका लागि राजभण्डारी र पौडेल पक्षले आ–आफ्नो चुनावी प्यानल नै खडा गरेका छन् । पौडेल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजभण्डारी नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति र राप्रपा निकका व्यवसायीको तर्फबाट चुनामा भिड्दै छन् । गत शुक्रबार उम्मेदवारी दर्ता भएपछि अहिले बजारका चिया पसल तथा चोकचोकमा आगामी नेतृत्वको विषयमा चर्चा परिचर्चा हुन थालेको छ ।
चुनावको मिति नजिकिएसँगै राजभण्डारी र पौडेल दुवै पक्ष आफ्ना प्रतिबद्धतासहित आम उद्योगी व्यवसायी भेटघाटको दौडाहमा छन् । उम्मेदवारी दर्तासँगै राजभण्डारीले १७ बुँदे र पौडेलले १९ बुँदे प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूको प्रतिबद्धतामा समग्रमा जिल्लाको व्यापार व्यवसायको प्रवद्र्धन, वस्तुगत संघ संगठन तथा व्यवसायीहरूको क्षेमता अभिवृद्धि, व्यावसायिक हित र सुरक्षा, पर्यटन तथा कृषिको प्रवद्र्धन, कर व्यवस्थापनलगायतका कार्यक्रमहरू मुख्य एजेन्डाका रूपमा देखा परेका छन् । बजार क्षेत्रमा सीसी क्यामेराको व्यवस्थापन तथा बागलुङको रामरेखा र पर्वतको पाङ जोड्ने झोलुङ्गे पुल निर्माणमा पहल गर्ने प्रतिबद्धता दुवैले दोहो¥याएका छन् ।
जिल्लाभरमा जम्मा १ हजार १ सय ५३ मतदाता छन् । बागलुङ नगरपालिकाको बजार क्षेत्रका १ देखि ४ सम्मका वडाहरूमा मतादाहरूको संख्या ७ सय ४२ छ, जसमा वडा नं २ मा मात्रै ४४८ मतदाता छन् । बानपाका अन्य वडाहरूमा ७१ जना मतदाताहरू छन् । यस बाहेक सबभन्दा बढी गल्कोटमा ८१, बुर्तिवाङमा ५९, काठेखोला गापामा ४०, जैमिनी कुस्मीसेरामा ३० र आजीवन सदस्यहरू १३० जना छन् ।

 

प्रतिक्रिया दिनुहोस्