आत्मनिर्भर घोषणाको हतारोबीच आयात वृद्धि «

आत्मनिर्भर घोषणाको हतारोबीच आयात वृद्धि

सरकारले मुलुकलाई पशु तथा पन्छीजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर घोषणा गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार कार्यक्रम आयोजना गरेरै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नेपाललाई पशु तथा पन्छीजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर घोषणा गराएको हो । मन्त्रालयका अनुसार दूध, अन्डा र मासु मागअनुसार उत्पादन भएकाले आत्मनिर्भर घोषणा गरिएको हो । मुलुकमा वार्षिक साढे ४ खर्ब रुपैयाँबराबरको दूध, अन्डा र मासु उत्पादन भएको मन्त्रालयको भनाइ छ । तर, नेपाल अन्डा तथा कुखुराको मासुमा आत्मनिर्भार भएको धेरै वर्ष भयो । नेपाल आत्मनिर्भर भएकै कारण भारतबाट आउने अन्डा तथा कुखुरामा कडाइ गरिँदै आएको छ । र, बेलाबेलामा नाकामा यस्ता आयातलाई समात्ने तथा निरुत्साहित गर्दै आइरहेको छ । आत्मनिर्भर हुनु अवश्य पनि गौरवको कुरा हो । तर, यसैको कारण नेपाली बजारमा अन्डा तथा कुखुराको भाउ बेलाबेलामा उपभोक्ताको क्रयशक्तिभन्दा बाहिर गएको पनि देखिन्छ । बजारमा सरकारले गुणस्तरको जिम्मा लिने हो, तर भाउ बजार आफैंले नियन्त्रण गर्छ । जसका कारण पोहोर कोरोनाकालमा करिब २ सय रुपैयाँमा झरेको कुखुराको मासु हाल दोब्बरभन्दा बढी छ । आपूर्ति श्रृंखलालाई नियमित गर्न सके भाउ पनि आफैं ठीक ठाउँमा आइहाल्छ । तर, सरकारले गुणस्तरमा भने कुनै पनि हालतमा सम्झौता गर्नु हुन्न । किनकि मूल्य तिरेपछि उपभोक्ताले आफूले चाहेको गुणस्तरको स्वास्थ्यवद्र्धक वस्तु खान पाउनु संविधानले दिएको अधिकार हो । तर, सरकारले आत्मनिर्भर घोषणा गर्ने अनि गुणस्तरमा भने ध्यान दिने नगर्दा उपभोक्ता अधिकारको हनन हुन्छ ।
मन्त्रालयले हालको प्रचलित बजार मूल्यका आधारमा करिब १ खर्ब २२ अर्ब दूधबाट, करिब २ खर्ब ७५ अर्ब मासुबाट, १७ अर्ब अन्डाबाट र ३७ अर्ब माछाबाट गरी कुल ४ खर्ब ५० अर्ब रुपैयाँबराबरको खाद्यवस्तुको उत्पादन भई आयात प्रतिस्थापन भएको जनाएको छ । मासु र अन्डामा आत्मनिर्भर भए तापनि दूधको सन्दर्भमा भने आयात प्रतिस्थापन भएको कम देखिन्छ । घरेलु उत्पादन किसानले बजार नपाएर बाटोमा मिल्काउनुपर्ने तर उपभोक्ताले भने महँगोमा आयातित दूध खानुपर्ने बाध्यता घटेको छैन । आत्मनिर्भर हुँदै गर्दा उत्पादनमा क्रमिक रूपमा वृद्धि नगर्ने र किसानलाई उत्पादन वृद्धि गर्न नसघाउने हो भने बिस्तारै फेरि घरेलु उत्पादन घट्दै जाने र मुलुक आयातमा भर पर्नुपर्ने हुन्छ । आत्मनिर्भर बन्दै जाने क्रममा कति वर्षमा घरेलु बजारको माग धान्न सक्ने गरी नेपाली उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्ने योजना सँगै बनाउँदै नजाने हो भने फेरि उपभोक्ताले आयातित महँगो खाद्यवस्तु किनेर खानुपर्ने र किसानले आफ्नो उत्पादनको मूल्य नपाउने उखु किसानको कथा अन्य उत्पादनमा नदोहोरिएला भन्ने छैन । सँगसँगै खाद्य सुरक्षा, रोजगारी सिर्जना र गरिबी निवारणमा घरेलु उत्पादनको योगदानलाई कसरी स्थापित गर्दै जाने मन्त्रालयको ध्यान कत्तिको पुगेको छ, यो विचारणीय पक्ष हो । हुन त प्रत्येक वर्ष आउने बजेटमा सरकारले कृषिमा आत्मनिर्भर बनाउने योजना ल्याउँछ, तर ती योजना कार्यान्वयन भने हुँदैन । विगतका वर्षमा झैं चालू आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम र बजेटमा पनि कृषि तथा पशुपन्छीजन्य खाद्य वस्तुहरूका उत्पादन वृद्धि गरी मुलुकलाई आत्मनिर्भर बनाइने प्रतिबद्धता व्यक्त गरिएको थियो । सोहीअनुसार कृषि तथा पशुपन्छी मन्त्रालयले उत्पादन बढाएर उत्पादनमा आत्मनिर्भर भएको जनाएको भए तापनि मन्त्रालयले नेपाल पहिल्यै आत्मनिर्भर भइसकेको वस्तुमा समेत प्रधानमन्त्रीलाई ढाँटेको देखिन्छ । विश्व खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध, १४ केजी मासु, ४८ गोटा अन्डा आवश्यक पर्छ । तर, हाल नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ७९ लिटर दूध, १८.१ केजी मासु, ६१ गोटा अन्डा उपलब्धता हासिल मन्त्रालयको तथ्यांक आफैंमा विरोधाभासपूर्ण छ । तसर्थ आत्मनिर्भर घोषणा गर्न हतारो नगरी दीर्घकालीन रूपमा उत्पादन वृद्धिमा ध्यान दिँदा राम्रो होला ।

प्रतिक्रिया दिनुहोस्