Logo

पहिला प्रोजेक्ट, अनि लगानी सम्मेलन : अध्यक्ष गोल्छा


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाहरू पहिला नै तयारी गरी लगानी सम्मेलन गर्नसके त्यो बढी फलदायी हुने बताएका छन् ।
तयारी नगरी लगानी सम्मेलन लगायतका कार्यक्रम गर्दा त्यो अपेक्षाकृत सफल हुन नसकेको अध्यक्ष गोल्छाको धारणा छ । “अब हामीले रेडिमेड प्रोजेक्टसहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउने गरी काम गर्नुपर्छ,” अध्यक्ष गोल्छाले भने, “देशमा लगानी सम्मेलन त भए तर केही ठूला जलविद्युत्मा रहेको प्रत्यक्ष वैदेशिक लगानीलाई छोडेर हेर्ने हो भने अपेक्षित रूपमा विदेशी लगानी आउन सकेको छैन, यो यथार्थ हो ।” महासंघले भारत, चीनलगायतका बाह्य लगानी आउन सक्ने देशका दूतावासहरूसँग पनि यस छलफल अगाडि बढाएको भन्दै गोल्छाले निजी क्षेत्रको प्रयास परिणाममुखी हुने विस्ववास व्यक्त गरे ।
“नेपालमा लगानी गरिरहेका बहुर्राष्ट्रिय कम्पनीहरूले प्रोफिट पनि राम्रो गरेका छन् तैपनि थप बाह्य लगानी भित्रन सकेको छैन, समस्या कहाँ छ त्यसको निक्र्यौल गर्न सरकार तथा निजी क्षेत्रको एकीकृत प्रयासको खाँचो छ” अध्यक्ष गोल्छाले भने, “नेपालमा कुन क्षेत्रमा विदेशी लगानी खुला गर्ने र कुन क्षेत्रमा नगर्ने भन्ने विषयमा पनि निकै धेरै गृहकार्य जरूरी छ ।”
बाह्य लगानी आकर्षणमा रहेका बाधा हटाउनु पर्ने र विदेशी लगानीकर्ताले लैजाने मुनाफाका विषयमा पनि थप स्पष्टता जरुरी रहेको गोल्छाले बताए ।

प्रतिक्रिया दिनुहोस्