सल्यानका अधिकांश युवा रोजगारी खोज्दै भारत

सल्यान-सल्यानका अधिकांश युवादेखि प्रौढसम्मका मानिस रोजगारीको खोजीमा कालापहाड तथा भारत जान थालेका छन् ।
बजारका होटल र गाउँबाट बजारतिर आउने गाडीहरू पनि टनाटन भरिएको देखिन्छ । ठूला चाड पर्व दसैं र तिहारपछि गाउँघर सुनसान हुँदै गएका छन् । आकाशे पानीको भरमा खेतीपाती गर्ने सल्यानीवासी हिउँदका समयमा त्यतिकै बस्नुभन्दा कुल्ली काम गर्नकै लागि पनि भारतका विभिन्न ठाउँमा जाने गर्दछन् । रोजगारीका लागि जिल्ला छाडेर जाने सल्यानीको रहर नभई बाध्यता बनेको छ । आर्थिक अवस्था कमजोर भएका सल्यानी भारतको सिम्ला, कालापहाड, मुम्बईलगायतका विभिन्न ठाउँमा मजदुरी गर्न जाने गरेका छन् ।
जिल्लाको वनगाड कुपिण्डे नगरपालिका–९ का मोहन बोहरा तिहारलगत्तै मजदुरी गर्नका लागि भारत जान घरबाट हिंडिसकेका छन् । गाउँमा कुनै खालको रोजगारी नभएकाले मजदुरी गर्न भारत जानु परेको उनले बताए । उनले भने, “कुनै व्यवसाय गरौं भने पनि आफूसँग पैसा छैन, ऋण मागे पनि कसैले पत्याउँदैन त्यसैले भारत जानुबाहेक अरु केही उपाय छैन ।” भारतमा ६, ७ महिना बसेर काम गर्ने अनि घर फर्किने गरेको उनले बताए । आफूसँगै भारत जाने १० जना साथी भएको उनले बताए ।
यस्तै शारदा नगरपालिका–५ पोखराका २४ वर्षीय युवा सागर बुढाथोकी केही गरौं र भविष्य सुरक्षत पारौं भन्ने बेला विगत २ वर्षदेखि भारतको सिम्लामा काम गर्दै आएका छन् । दसैं तिहार मनाउन घर आएका बुढाथोकी कि श्रीमती, छोरा र छोरी तिहार लगत्तै फेरि मजदुरी गर्न घरबाट बिदा भई भारत हिंडेका छन् ।
सागर बुढाथोकीजस्तै दसंै तिहार मनाउन घर आएका शारदा नगरपालिका–८ मार्केका वीरबहादुर श्रेष्ठ परिवारसहित भारत जान तयार भई घरबाट निस्किसकेका छन् । खेतीका लागि पर्याप्त जमिन नभएपछि १५ वर्षदेखि भारतमा मजदुरी गर्दै आएका श्रेष्ठका परिवार श्रीमती, छोरा र छोरीसहित भारततिर हिंडेका छन् । घर बसेर घर परिवार चलाउन नसकिने भएकाले आर्थिक जोहो गर्नलाई भारत जानुपरेको उनको भनाइ छ ।
सल्यानका युवा भारतमा काम गर्न विशेषगरी सिम्ला, गुवा, केदारनाथलगायतका ठाउँमा होटेल, कुल्ली र चौकीदारजस्ता काम गर्न जाने गरेका छन् । त्यहाँ मजदुर गरेर कमाएको पैसाले उनीहरूको घरपरिवार चलाउँदै आएका छन् । कोही वर्षमा एक पटक त कोही वर्षमा दुईदेखि तीन पटक घर फर्कने गर्दछन् । भारतमा जस्तो काम पनि पाइने र आवतजावत गर्न पनि सजिलो हुने भएकाले यहाँ युवादेखि प्रौढसम्मका रोजगारीका लागि भारत नै जाने गर्दछन् ।
मेघा रेउले