कार्पेट उद्योग सञ्चालनमा

रुपन्देही- रोहीणी गाउँपालिकाको धकधई क्षेत्रमा कार्पेट उद्योग सञ्चालनमा आएको छ । आशी इन्डस्ट्रिज प्रालिले बिभिन्न किसिमका कार्पेटहरू(नोनुभन) उत्पादन पछि बजारमा ल्याएको हो । नेपालमा कार्पेट उद्योग ३ वटा रहेकोमा अहिले एक वटा उद्योग बन्द छ । आशी कार्पेट उद्योग उपत्यका बाहिरको दोस्रो र पश्चिम नेपालको पहिलो उद्योग हो । उद्योगमा नेपालको सबभन्दा ठूलो कार्पेट उद्योगको प्लान्ट रहेको कम्पनीले जनाएको छ ।
उद्योगबाट उत्पादित कलरहरू १२ वटै कलर(रंग)मा उपलब्ध हुने, र अन्य उद्योगहरूको तुलनामा उच्च गुणस्तरको प्रविधि प्रयोग भएको उद्योगका प्रबन्ध निर्देशक एवं सञ्चालक बिबेक अग्रवालले बताए ।
उद्योगमा चाइनिज र जर्मन प्रविधि प्रयोग छ । पूर्ण रूपमा कम्प्युटरकृत यो उद्योगको क्षमता दैनिक १२ हजार मिटर उत्पादन रहेको अग्रवालले बताए । नेपालका अन्य कार्पेट उद्योगको उत्पादनहरूको चौडाइ साढे दुई मिटरसम्मका उत्पादन हुने उद्योग रहेकोमा हाम्रो उद्योगबाट साढे चार मिटर चौडाइ भएका कार्पेटहरू तयार हुन्छन र यसले उत्पादन कम समयमा अरू उद्योगभन्दा दोब्बर हुन्छ, अग्रवालले भने । उद्योगले पोलिस्टर, फाइबर र लेटेक्स जस्ता कच्चा पदार्थ प्रयोग गरी विश्वस्तरको कार्पेट उत्पादन गर्दै आएको जनाएको छ ।
आधुनिक र नविनतम प्रविधि यो उद्योगमा जडान छ, त्यसैले गुणस्तरीय सामानमा शंका कसैले गर्नै पर्दैन र यो उदोग वातावरण मैत्री उद्योगसमेत हो, उनले भने । उद्योगमा ५० जनाले रोजगारी पाएका छन । नेपालसहित भारतीय बजारमा निर्यात गर्नु मुख्य लक्ष्य छ । हामी ३/४ महिना भित्रमै भारतको सिमावर्ति राज्य उत्तरप्रदेशमा बिक्री वितरणका लागि पठाउने तयारीमा छौं, हाम्रो लक्ष्य पनि छ, नेपाल र भारत दुवै देशमा बजार राम्रो छ, उनले भने ।
हालका लागि उद्योगले जेन्सा ब्रान्डमा कार्पेट उत्पादन गरिरहेको छ । उद्योगबाट प्लेन कार्पेट, रिब कार्पेट, भेलोर कार्पेट, २ रंगको जेकार्ड कार्पेट, उत्पादन गरिरहेको छ । २ रंगमा कार्पेट उत्पादन पनि नेपालमै पहिलो हो ।
उत्पादित कार्पेटको मूल्य अन्य सरहनै रहेको र न्यूनतममा ३ सय रपैयाँदेखि बढीमा ७ सय रुपैयाँ प्रतिमिटर कायम छ । त्यस्तै गरी उद्योगले ठूलो परिणाममा माग भए उपभोक्ताको इच्छा र उनीहरूले भनेको बुट्टा र रंगमा उत्पादन गर्न सकिने उद्योग व्यवस्थापनले जनाएको छ ।