‘विगतका योजनाको समीक्षा आवश्यक’

प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विगतका योजनाको समीक्षा गर्नुपर्ने बताएका छन् । प्रदेश नंं. ३ को राजधानी हेटौंडामा सम्पन्न दिगो विकास लक्ष्यमैत्री योजना र बजेट तर्जुमा, अनुगमन मूल्यांकन तथा तथ्यांक प्रणालीसम्बन्धी तीन दिने प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले विगतमा योजना बन्ने तर प्रभावकारी कार्यान्वयन नहुने परिपाटी भएकाले त्यस्ता योजनाको समीक्षा गर्दै कार्यान्वयन योग्य र देशमा भएको राजनीतिक परिवर्तनलाई आत्मसात गर्दैे संघीय संरचनाअनुरूप व्यवहारिक योजना तर्जुमा गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
उनले दिगो विकासका लक्ष्यको स्थिति स्पष्ट हुनुपर्ने, विद्यमान समस्याको पहिचान गरी ती समस्या समाधान हुने गरी आगामी योजना बन्नुपर्ने र यसका लागि योजना कार्यान्वयनमा संलग्न हुने सबैको मानसिकतामा समयअनुकूल परिवर्तन हुनुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा आयोगका सदस्य डा. रामकुमार फुयाँलले योजना तर्जुमा गर्दा आर्थिक समृद्धि र जनता सुखी हुने उपयुक्त सूचक विकास गरी ती सूचक अनुरूप विकास कार्यलाई अगाडि बढाउनुपर्ने बताए । उनले प्रदेशका विकासका संवाहकहरू के–के हुन सक्छन्, त्यसको उचित खोज र पहिचान गरी तिनीहरूलाई आर्थिक रूपान्तरका मुख्य सहयोगीका रूपमा लिनुपर्ने बताए ।
आयोगका सह–सचिव राधाकृष्ण प्रधानले राष्ट्रिय योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७४ ले आयोगलाई दिएको कार्यादेशअनुसार योजना तर्जुमा गरिने बताए ।
प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले प्रादेशिक योजना तथा नीति परिवर्तित सन्दर्भमा दिगो विकासका नवीनतम सूचकहरू पहिचान गरी कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिए । कार्यक्रममा प्रदेश नं. ३ का निमित्त मुख्यसचिव रमेशप्रसाद शिवाकोटीले केन्द्रले निर्धारण गरेका दिगो विकास लक्ष्यहरूसँग तादाम्यता हुने गरी प्रदेशका कार्यक्रम तर्जुमा गर्न यो गोष्ठीले धेरै सहयोग पु-याउने स्पष्ट पारे ।
प्रदेश नं. ३ प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले संविधानले प्रदेश सरकारलाई धेरै अधिकार तथा जिम्मेवारीहरू दिएको तर सो अधिकार तथा जिम्मेवारीको प्रयोग गर्न संघ, प्रदेश र स्थानीय तहसँग समन्वय र सहकार्य गर्न जरुरी रहेको वताए ।
यसैगरी आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले संघीय व्यवस्थाको कार्यान्वयन पछि केही सकारात्मक सन्देशह भइरहेको भए पनि जनताको अपेक्षाअनुसार काम हुन नसकेको बताए ।