हरित हाइड्रोजनको विकास गर्न निगम र केयुबीच सम्झौता «

हरित हाइड्रोजनको विकास गर्न निगम र केयुबीच सम्झौता


नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालय (केयु) बीच निगमलाई हरित हाइड्रोजन उत्पादन र वितरण कम्पनीको रुपमा विकासका लागि प्रविधि हस्तान्तरण र स्थानीय अनुकुलन परियोजनाबारे सम्झौता भएको छ ।
नेपालमा पहिलो हाइड्रोजन उत्पादनसहित वितरणसम्मका लागि परियोजना अघि बढाउन आयल निगमका निर्देशक दीपक बराल र विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका डिन डा. डम्बरबहादुर नेपालीबीच सम्झौता भएको हो । दुई वर्षभित्र पूरा गर्ने र ग्रीन हाइड्रोजन ल्याबमार्फत कार्यान्वयन सो परियोजनाको लागि पाँच करोड अनुदान आयल निगमले दिने सम्झौतामा उल्लेख छ । हाइड्रोजनको उत्पादन, भण्डारण र वितरणका लागि नीति निर्देशिकाका लागि सिफारिस गर्ने सो परियोजना अन्र्तगत विश्वविद्यालयले सेन्टर फर ग्रीन हाइड्रोजन स्थापना गरी यसको व्यावसायिक विकासको सम्भावनाका साथै नमूना रुपमा हाइड्रोजन इन्धन स्थापना गरी यातायात क्षेत्रमा व्यापारिक उपयोगको प्रर्दशन समेत गर्ने योजना छ ।
यो अवधिमा केयुले स्थानीय क्षेत्र अनुकुल हुने गरी निगमलाई प्रविधि हस्तान्तरण तथा दक्ष प्राविधिक र कामदार उत्पादनमा पनि सहयोग गर्नेछ ।
परियोजना सञ्चालन गर्न केयुको तर्फबाट मुख्य व्यक्ति तोकिएका सहायक प्राध्यापक बिराजसिंह थापाले विश्व बजारमा नवीकरणीय ऊर्जाको स्रोतको रुपमा हरित हाइड्रोजन उत्पादन गर्ने प्रविधिको उपयोग बढिरहेकोले नेपाल यसमा जान सकेमा यसले आयातित इन्धनको प्रतिस्थापन गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्