वैदेशिक रोजगारको विकल्प नहुँदा युवालाई सास्ती «

वैदेशिक रोजगारको विकल्प नहुँदा युवालाई सास्ती

कोरोना कहरकै कारण गत चैतयता वैदेशिक रोजगारीमा जानेको भन्दा रोजगारी गुमाएर फर्कनेको संख्या चार गुणा बढी भएको हो ।

प्रत्येक दिन सरदर १ हजार ५ सय वैदेशिक रोजगारीका लागि जाने गरेको तथ्यांकबाट हाल पाँच गुणा कम युवा वैदेशिक रोजगारीमा जान थालेका छन् । तर, फर्कने क्रम भने बढ्दो छ । अर्थात् कोभिड–१९ अघि सरदर १ हजार ५ सय वैदेशिक रोजगारीका लागि जाने गरेकोमा हाल उत्तिकै संख्या दैनिक फर्कनेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष २०७७-७८ को ६ महिनामा २ लाख ५७ हजार वैदेशिक रोजगारीका लागि गएका युवा नेपाली फर्केका छन्, तर पुस समसान्तसम्ममा वैदेशिक रोजगारीमा जानेको संख्या भने ५७ हजार मात्र छ । यसरी कोरोना कहरका कारण वैदेशिक रोजगारीमा जाने र आउने नेपालीको संख्या ठ्याक्कै उल्टो नभए पनि संख्यात्मक रूपमा फरक बढ्दो छ । कोरोना कहरकै कारण गत चैतयता वैदेशिक रोजगारीमा जानेको भन्दा रोजगारी गुमाएर फर्कनेको संख्या चार गुणा बढी भएको हो । यस्तै, गत आर्थिक वर्षमा पुनः श्रम स्वीकृतिसहित वैदेशिक रोजगारीका लागि ३ लाख ६८ हजार ४ सय ३३ जना गएका थिए । तर, चैत ११ बाट सरकारले कोरोना संक्रमण फैलनबाट रोक्न बन्दाबन्दी गरेपछि वैदेशिक रोजगारीको श्रम स्वीकृति पनि रोकेको थियो, जसका कारण चालू आर्थिक वर्षको माघसम्ममा पुनः श्रम स्वीकृतिसहित ५७ हजार ५ सय ४५ नेपाली युवा मात्र वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा कमी आएसँगै नेपाल आउने रेमिट्यान्स घट्ने अनुमान भए तापनि हालसम्म उल्लेख्य रूपमा नघटेको तर वृद्धिदर भने ओरालो लाग्दै आएको छ, जसका कारण पनि चालू आर्थिक वर्षको माघसम्म वैधानिकीकरणसहित नयाँ श्रम स्वीकृति लिनेको संख्या जम्मा २ हजार ३ सय ९२ मात्र छ । यसै गरी बिदामा आएर पुनः श्रम स्वीकृति लिनेको संख्या ३७ हजार १ सय ५३ रहेको छ । वैदेशिक रोजगारीमा जानेमध्ये बिदामा आएको संख्या लगभग ८० प्रतिशतको हाराहारी हुने भए पनि यो वर्ष भने संख्या अझ घटेको छ । नेपालका प्रमुख ४ श्रम गन्तव्यमा रोजगारी गुमाएर फर्कनेको संख्या २ लाख ५७ हजारभन्दा बढी पुगेको छ भने रोजगारी गुमाउनेको संख्या बढ्दै गइरहेको छ । सबैभन्दा बढी युएईमा रहेका नेपालीले रोजगारी गुमाएको देखिन्छ । किनकि हालसम्म युएईबाट ९० हजार, कतारबाट ७० हजार, साउदी अरबबाट ३० र मलेसियाबाट ३३ हजारको हाराहारीमा नेपाली फर्किसकेका छन् ।
सरकारले कोरोना संकटपछि नेपाल फर्कने युवालाई नयाँ विकल्प सिर्जना गर्ने कार्यक्रम घोषणा गरेको दाबी गरे तापनि मुलुकमा रोजगारी सिर्जना गर्न नसक्दा रोजगारी जान चाहने नेपालीको संख्या अझै धेरै रहेको छ । कोरोना संकटपछि युवा पनि नेपालमा नै रोजगारीमा इच्छुक भएको दाबीका बीच फेरि रोजगारदाताले माग प्रमाणीकरण लागि आवेदन दिन थालेका छन् । लामो समयदेखि नै वैदेशिक रोजगारीमा भर पर्नु नहुने बताउँदै आए तापनि कुनै पनि सरकारले यसलाई गम्भीरतापूर्वक नलिएकै नेपाली युवाको लागि फेरि पनि वैदेशिक रोजगारीको विकल्प नभएको हो । वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा उल्लेख्य कमी आएको हालसम्मकै यो पहिलो घटना भए तापनि एक दशकअघि आर्थिक वर्ष २०६७-६८ मा विश्वमा वित्तीय संकट आउँदा पनि ३० हजार नेपाली युवा वैदशिक रोजगारीमा गएका थिए । नेपालका सरकारलाई स्वदेशमा रोजगारी सिर्जना गर्नभन्दा युवाले विदेशबाट पठाएको रेमिट्यान्सको भरमा अर्थतन्त्र चलाउन सहज भएका कारण सरकारले स्वदेशमा रोजगारी सिर्जना गर्न कोसिस गरेनन् । बरु सकेसम्म नेपालमा श्रम समस्या निम्त्याएर नेपाली उद्योग बन्दा गराए । यसरी युवालाई वैदेशिक रोजगारीमा जबर्जस्ती धकेल्ने नीतिले मुलुकको विकास हुँदैन । कुनै पनि मुलुक रेमिट्यान्सको भरमा विकास भएको छैन र हुँदैन पनि ।

प्रतिक्रिया दिनुहोस्