Logo

उद्योगलाई सीटीईभीटीबाटै जनशक्ति


स्वदेशी उद्योगले दक्ष जनशक्तिका लागि भारतलगायतका मुलुकका कामदारको भर पर्नुपर्ने अवस्थाको अब अन्त्य हुने भएको छ । मुलुकमा एकातिर ठूलो संख्यामा बेरोजगारी रहेको र अर्कोतर्फ स्वदेशी उद्योगले दक्ष जनशक्ति विदेशबाट ल्याउनु परिरहेको अवस्थालाई अन्त्य गर्न उद्योगको आवश्यकता हेरी जनशक्ति विकासको कार्यक्रम लागू गरिएको छ । यो कार्यक्रमसँगै अब स्वदेशी उद्योगले आवश्यक दक्ष जनशक्ति स्वदेशमै पाउने भएका छन् ।
सरकारले यसका लागि चालू आर्थिक वर्षमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमलाई कार्यस्थलमा आधारित बनाउन चार अर्ब लागतका नयाँ कार्यक्रम सञ्चालन गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का तालिम कार्यक्रमलाई थप रोजगारीमुखी बनाउन चार अर्ब रुपैया बराबरका नयाँ कार्यक्रम सञ्चालन गरिएको हो ।
प्राविधिक शिक्षालाई उद्योगी, व्यवसायी र रोजगारदाताको माग अनुसारका जनशक्ति उत्पादन गर्न कार्यस्थलमा आधारित नयाँ मोडेलअनुरूप विकास गर्ने सरकारको लक्ष्य छ । यसका लागि चालू आवमा ४ अर्ब ८९ लाख रुपैयाँ बराबरका नयाँ कार्यक्रम सञ्चालन हुँदैछन् । सीटीईभीटीले चालू आर्थिक वर्षमा तोकिएको सीप सिक्ने र सिप सिकाइएपछि रोजगारी दिने गरी कार्यक्रमको ढाँचा नै परिमार्जन गरेर कार्यक्रम तय गरेको जनाएको छ । सीटीईभीटीका निर्देशक प्रमोदभक्त आर्चायले सिटीईभिटीका चालू आर्थिक वर्षमा संचालन हुने कार्यक्रमलाई कार्यस्थलमा आधारित (डब्लुपिबी) भएर सञ्चालन गर्ने गरी कार्यक्रम तय गरिएको बताए ।
“डब्लुपीबी भएर तालिम कार्यक्रम संचालन गर्दा तोकिएको सीप सिक्ने र सीप सिकेपछि रोजगारी सुनिश्चिता हुने छ,” निर्देशक आचार्यले भने, “यसरी तालिम सञ्चालन गर्दा रोजगारदाताको माग संकलन गरेर तालिम सञ्चालन गर्नु पर्ने छ ।”
कार्यस्थलमा आधारित छोटो अवधिका सीपमूलक तालिम, कार्यगत तालिम र उद्योगमा कार्यरत ४८ हजार कामदारहरूलाई तालिम सञ्चालन भइरहेको छ । यसका लागि मात्र चालू आवमा १ अर्ब १५ करोड २० लाख रुपैयाँ खर्च हुने सीटीईभीटीले जनाएको छ । तालिम कार्यक्रमलाई कार्यस्थलमा आधारित बनाइएसँगै यसका लागि आवश्यक २ हजार २०३ जना प्रशिक्षक र कर्मचारीका लागि तालिम कार्यक्रम समेत सञ्चालनको क्रममा रहेको छ ।
बजारको मागअनुसार प्राविधि शिक्षा हासिल गरेका जनशक्तिको मागमा परिवर्तन आएपछि लामो तथा छोटो अवधिका प्राविधिक बिषयका पाठयक्रम निर्माण तथा परिमार्जन समेत गरिरहेको छ । तालिम कार्यक्रमलाई सामावेशी बनाउन यो बजेटमध्ये १४ करोड ८३ लाख रुपैयाँ बराबरको बस्ने खानेसहित १ हजार ५०० विद्यार्थीका लागि छात्रवृत्ति दिइएको छ । यो वर्ष आंगिक शिक्षालयहरूमा विषयगत शैक्षिक कार्यक्रमको प्रयोगात्मक अभ्यास तथा प्रशिक्षण उपकरण तथा प्राविधिक शिक्षालाई काम र उत्पादनसँग जोडेर सिकाईका अवसर वृद्धि गरी उद्यमशीलता विकास गर्न परियोजनाका आधारमा ४ सय ९७ वटा उत्पादन इकाई प्रवद्र्धन गरिने योजना छ ।
सरकारले तोकिएको सीप सिक्ने र सीप सिकेकापछि उद्योगी, व्यवसायी र रोजगारदाताको माग अनुसारको जनशक्ति उत्पादन गर्न शतप्रतिशत व्यावहारीक कोर्स लागू गदै लैजाने तयारीसहित योजना अघि बढाएको हो । देशमा प्राविधिक क्षेत्रमा कार्यरत जनशक्तिमध्ये ३० प्रतिशतले मात्र व्यवसायिक तालिम तथा प्रविधिक शिक्षा लिएको पाइएको छ । यसरी हेर्दा जम्मा ३० लाख जनशक्ति प्राविधिक कार्यक्षेत्रमा कार्यरत रहे पनि १० लाख जनाले मात्र छोटो तथा लामो समयको तालिम र शिक्षा लिएको पाइएको छ ।
आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्ति प्रक्षेपणगरी राय सुझाव प्रतिवेदन पेश शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको गरेको कार्यदलले ३० प्रतिशतले मात्र तालिम तथा शिक्षा लिएको निस्कर्ष निकालेको हो । कार्यदलले सात वटा क्षेत्रहरू कृषि र वन, इञ्जिनियरिङ तथा निर्माण, चिकित्सा तथा मानव स्वास्थ्य, होटल मेनेजमेण्ट, यातायात तथा संचार, प्रशोधन उद्योग र विविधलाई निजी तथा व्यावसायिक सेवाहरूमा समूहिकृत गरी कुल कार्यरत जनशक्तिको अनुमान तयार गरेको कार्यदलका सदस्य समेत रहेका निर्देशक आचार्यले बताए ।
नेपालका विभिन्न आर्थिक क्षेत्र-पेशाहरू कृषि, वन, इञ्जिनियरिङ तथा निर्माण, चिकित्सा तथा मानव स्वास्थ्य, होटल व्यवस्थापन, यातायात तथा सञ्चार प्रशोधन, उद्योग र विविध निजी तथा व्यावसायिक सेवाहरूमा कूल ३६ लाख ४४ हजार ९८ प्राविधिक जनशक्ति संलग्न भई कार्य गरिरहेक अध्ययनले देखाएको छ । जसमध्ये १० लाख ८७ हजार ६०९ अर्थात २९.८५ प्रतिशतले कुनै न कुनै अल्पकालीन तथा दीर्घकालीन तालिम प्राप्त गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्