भरतपुर बाइपास सडक निर्माण किन सुस्त ?

भरतपुर वाइपास सडक योजनाको म्याद गुज्रिए पनि आधा कामसमेत सकिएको छैन । १५ महिनामा निर्माण सक्ने गरी सम्झौता भए पनि नसकिएपछि असारमा असोज १३ मा सक्ने गरी म्याद थपिएको थियो, तर हालसम्म ४२ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्म ४.४ किमि सडकलाई ४ लेनको बनाउने गरी सम्झौता भएको थियो । तर, हालसम्म सडकको पश्चिमतर्फ नाला (ढल) बनाउने काम समेत भएको छैन ।
“म्याद सकिएको छ, तर वनले रुख नकाटेसम्म म्याद थप्न मिल्ने अवस्था छैन”, डिभिजन सडक कार्यालय भरतपुरकी इन्जिनियर गीताञ्जली कोइरालाले भनिन्, “रूख काट्ने विषयको फाइल योजना आयोग र वन विभागमा छ, रूख नहटाइदा निर्माणले गति लिन सकेन ।” १२ करोड ८१ लाख ८२ हजार रुपैयाँमा बनाउने गरी निर्माणको जिम्मा गौरी पार्वती निर्माण सेवाले पाएको थियो । पोल, रूख र खानेपानीको पाइपलाइन सारेपछि बल्ल सडक खन्ने काम सुरु हुनेछ । विद्युत् पोल सार्न बजेट नआए पनि काम सुरु भने भएको छ । दुई कार्यालयको समन्वयमा काम सुरु भएको छ, बजेट आएपछि प्राधिकरणलाई तत्कालै निकासा दिइने बताइएको छ । पटक पटक पत्रचार गरे पनि सम्बन्धित कार्यालयले सडक निर्माणका अवरोध हटाउन कुनै चासो नदिँदा निर्माणको काम सुस्त हुन पुगेको हो ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले पोल तथा तार सार्न सडकसँग २ करोड २० लाख रुपैयाँ मागेको थियो । नेपाल टेलिकमले टेलिफोनका पोल तथा तार सार्न १७ लाख रुपैयाँ मागेको थियो । वन कार्यालयले सडकको क्षेत्रमा पर्ने ९७ रुख काट्न केन्द्रको निर्देशन कुरेको छ । यो सडकखण्डमा करिव ४ सय पोलमा तार जेलिएका छन् ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले वाइपास सडकमा पोल सार्न कात्तिक २९ गतेदेखि सार्वजनिक सूचना जारी गर्दै बिहान १० देखि ४ बजेसम्म लाइन काट्ने गरेको छ । यो खण्डमा ११ केभीका ९ र ३३ केभीका २ फिडर छन् । पूर्वी चितवनको पर्सा सबस्टेसन जाने र चनौली र माडी सबस्टेसन जाने लाइन यही बाटो हुँदै जान्छ ।
औद्योगिक १ र २ फिडरको लाइन प्रायः दिउँसो बन्द हुने गरेको छ । औद्योगिक ग्राहकलाई ख्याल गरेर अन्य फिडर सिफ्ट गरेर लाइनको व्यवस्था पनि मिलाइएको छ । १० प्रतिशत उद्योग लाइन सिफ्ट गर्दा समेत समेट्न सकिएको छैन । औद्योगिक फिडर १ र २ अन्तर्गत करिब ६० उद्योग छन् । अहिले ज्यालाको मात्रै टेन्डर गरेर पोल सार्ने काम सुरु भएको बताए । चार महिनामा पोल तार सार्ने गरी सम्झौता भएको छ, तर सडकले ढल बनाउने, खाल्डो पुर्ने, सडकपेटी बनाउने काम सुरु गरेको छैन, जसले पोल सार्न समस्या आउने देखिन्छ । हालकै अवस्थामा पोल गाड्दा सडकको सतहको उचाइ बढ्ने, ढल खन्दा पुनः पोल सार्नुपर्ने स्थिति आउने भएकाले सडकको पश्चिमतर्फका पोल नसारिएको हो ।
६८ लाख ६२ हजार ४ सय ९० रुपैयाँ ज्यालामा पोल सार्ने काम भएको छ । सो खर्च सडक डिभिजनले प्राधिकरणलाई बुझाउने प्रतिबद्धता जनाएको छ । उता, खानेपानी डिभिजनले भने पानीको पाइपलाइन नहटाउने संकेत दिएको छ । सडकको सतहभन्दा धेरै तल पानीको पाइपलाइन भएकाले तत्कालै हटाउनु नपर्ने जवाफ सडक डिभिजनलाई दिएको छ । टेलिफोन तार नेपाल टेलिकमले आफ्नै खर्चमा गर्ने तयारी गरेको छ । सडक हाल ५.५ मिटरको छ । बीचमा १.५ मिटर बगैंचासहितको डिभाइडर बनाउने, डिभाइडरको दुवैतर्फ ७/७ मिटरको कालोपत्रे सडक बनाउने लक्ष्य छ । सडकको दुवैतर्फ ढल (ड्रेन) बनाउनुपर्ने सम्झौतामा छ ।