सेयर बजार परिसूचक २४ सय नजिक «

सेयर बजार परिसूचक २४ सय नजिक


सेयर बजारमा सूचीकृत कम्पनीहरूको मूल्य लगातार उकालो लाग्दा नेप्से परिसूचक २४ सय अंक नजिक उक्लिएको छ । सेयर बजार मापन गर्ने नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार नयाँ रेकर्ड कायम गर्दै झण्डै ३२ अंकले बढेर २४ सय अंक नजिक उक्लिएको हो । बुधबार तीब्र उतारचढावबीच परिसूचक १५.८७ अंकले बढेको थियो । बिहीबार नेप्से परिसूचक ३१.८७ अंकले बढेर २३७४.६४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.५९ अंकले बढेर ४४५.५९ अंकमा उक्लिएर बन्द भएको छ । नेप्से परिसूचकमा नयाँ रेकर्ड कायम भएको दिन वाणिज्य बैंक र म्युचुअल फण्डबाहेक सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको परिसूचक करिब ५४०.२३ अंकले बढेको छ । बिमा समूहको परिसूचक ४४३.४३ अंकले बढेको छ । यस्तै, लघुवित्त समूहको परिसूचक १५४.१६, जलविद्युत् समूहको परिसूचक ६८.२९, वित्त समूहको परिसूचक ३१.९८, विकास बैंक समूहको परिसूचक ३१.३८, उत्पादनमूलक समूहको परिसूचक २६.१३ अंकले बढेको छ ।
नेप्से परिसूचकमा उछाल आएको दिन कारोबार रकम र सेयर संख्या पनि बढेको छ । बिहीबार २ सय ९ कम्पनीका १ करोड ८१ लाख कित्ता सेयर ७ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ५३ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेको इन्स्योरेन्सको २६ करोड ६४ लाख, नेपाल पुनर्बिमा कम्पनीको २२ करोड ९९ लाख, शिखर इन्स्योरेन्सको २२ करोड ८२ लाख र नेशनल लाइफ इन्स्योरेन्सको २१ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार नेप्से परिसूचक करिब ३२ अंकले बढेको बजारमा २२ वटा कम्पनीको मूल्य बढेर सकारात्मक सर्किट लागेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ । २८ कम्पनीको मूल्यमात्रै घट्दा बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्