डढुवा–साल्मे सडक स्तरोन्नति «

डढुवा–साल्मे सडक स्तरोन्नति

लमजुङ-पश्चिम लमजुङको क्होलासोँथार गाउँपालिकाअन्तर्गत निर्माणाधीन डढुवा–साल्मे सडक निर्माणकार्यले गति लिएको छ । मध्यनेपाल नगरपालिकाको डढुवादेखि जिल्लाकै विकट क्षेत्रमध्ये क्होलासोँथार गाउँपालिकाअन्तर्गत साल्मेसम्मको सडक निर्माणले तीव्रता लिएको हो ।
गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गत करापुटार–डढुवादेखि मालिङसम्मको सडक निर्माणको काम भए पनि डढुवा–साल्मे सडक निर्माणकार्य तीव्र गतिमा अघि बढेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । करापुटारदेखि मालिङसम्म तीन खण्डमा विभाजन गरी सडक स्तरोन्नति कार्य अघि बढाइएको हो ।
डढुवा–साल्मेअन्तर्गत आठ किलोमिटर सात सय १० मिटर सडक स्तरोन्नतिका लागि मूल्य अभिवृद्धि करसहित १७ करोड १५ लाख ४१ हजार चार सय ४२ रुपैयाँ ५० पैसाको लागतमा ठेक्का सम्झौता भई डढुवा–साल्मे सडक स्तरोन्नति कार्य सुरु भएको हो । सडक निर्माणको क्रममा हालसम्म ३२ प्रतिशत भौतिक प्रगति र २५ प्रतिशत वित्तिय प्रगति भइसकेको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख एवं इन्जिनियर सुमन गिरिले बताए । सडक निर्माणकार्य तीव्र गतिमा भइरहेकाले तोकिएकै समय सीमामा सम्पन्न हुनेसमेत कार्यालय प्रमुख गिरिको दाबी छ ।
दुई वर्षभित्र सम्पन्न हुने गरी सडक स्तरोन्नती कार्य अघि बढेको कार्यालयले जनाएको छ । हाल सडक चौडा गर्ने, तार जाली लगाउने र ग्राबेल गरी हिउँद बर्खा दुवै समय यातायात सञ्चालन हुने गरी सडक निर्माणलाई तीव्रता दिएको कार्यालयले जनाएको छ ।
सडक स्तरोन्नतिका लागि २०७६ चैतमा सम्झौता भएको र आगामी वर्ष २०७८ चैतसम्म सम्पन्न गरिसक्ने गरी सम्झौता भएको छ । सडक स्तरोन्नतिका लागि मोतिराम कन्सट्रक्सन प्रालिले जिम्मा लिएको छ ।
एक प्रदेश एक निर्वाचन क्षेत्र सडकअन्तर्गत हाल डढुवा–साल्मे सडक स्तरोन्नतिको क्रम तीव्र गतिमा अघि बढे पनि बाँकी दुई खण्डमा भने ठेक्का सम्झौता पनि भएको छैन । करापुटारदेखि डढुवासम्मको एक खण्ड र साल्मेदेखि मालिङसम्मको अर्को खण्ड ठेक्का सम्झौता प्रक्रियामा रहेको पनि पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर आशिष पोख्रेलले जानकारी दिए । सोबाहेक गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि पनि लमजुङका ४० वटा सडक योजनाका लागि बढी बजेट विनियोजन गरेको छ । जिल्लाको विभिन्न स्थानीय तहका सडक निर्माण, मर्मतसम्भार तथा स्तरोन्नतिका लागि करिब ७० करोड बजेट विनियोजन गरेको हो ।
गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले पूर्वाधार विकास कार्यालयमार्फत बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले बजेट विनियोजन गरेको सडक योजनामध्ये १६ वटा सडक योजनाका लागि एक करोडभन्दा बढी बजेट विनियोजन गरेको छ ।
चालू आर्थिक वर्षमा विनियोजित बजेटमध्ये सबैभन्दा बढी बेसीसहर–बाग्लुङपानी–घलेगाउँ–भुजुङ सडकका लागि १५ करोड ५९ लाख रुपैयाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्षका अधिकाँश योजनामा पनि कामले गति लिन थालेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत जिल्लाका कुनै पनि साना ठूला आयोजनामा काम नरोकिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्