ढाकामा रमाएको कोपिलाको जीवन «

ढाकामा रमाएको कोपिलाको जीवन

तेह्रथुम-आर्थिक अवस्था कमजोर भएका कारण छथर शुक्रबारेकी कोपिला ठकुरीलाई घरको गर्जो टार्न धौधौ हुन्थ्यो । सानै उमेरमा विवाह, त्यसपछि श्रीमानले पनि छाडेपछि उनका दुःख थेगिसक्नु थिएनन् । काखको नानीका साथमा दैनिकी गुजारा चलाउनु हम्मे हम्मे थियो । नजिकैको बजारमा सानो किराना पसलको सहाराले छाक टार्न मुस्किल हुन्थ्यो । पसलमै केही केटाकेटी भेला गराएर ट्युसन पढाएर आएको पैसाले जसोतसो बिहान बेलुकी दुःखका साथ धानिन्थ्यो । एसएलसीसम्म पढ्न पाएकीले मात्र यो अवसर पनि सिर्जना भएको थियो । नत्र ज्याला मजदुरीको विकल्प थिएन ।
केही व्यावसाय गर्न कर्जाको खोजीमा भौतारिँदा कसैले पत्याएनन् । तर, पनि केही गर्छु भन्ने झिनो आशा कहिले मरेन उनमा । अवसरको पर्खाइले कहिले अल्छी लाग्दैनथ्यो । यो १० वर्षअघि कोपिलाको वास्तविकता हो । तर, अहिले त्यस्तो अवस्था छैन । उनी मनग्गे आम्दानी हुने व्यावसाय चलाउँछिन् । उनको नाममा आफ्नै घडेरी पनि छ । अनि दुःखको बेला एक्लै छाडेर जाने श्रीमान् पनि साथमा छन् । बालबच्चा राम्रो विद्यालयमा पढ्छन् । अनि आरामदायी सन्तुष्टिका दिन बितिरहेका छन् । उनी भन्छिन्, “ढाका व्यवसाय नचलाएको भए मेरो जीवनमा दुःखका दिनकहिल्यै नसकिने रहेछन् ।” नेपालमा बनेका ढाकाका सामग्री भारत, सिंगापुर, हङकङ, बेलायत, अमेरिका, जापानलगायत मुलुकमा निर्यात हुने गरेको छ । कोपिलालाई यो अवस्थमा पु¥याउने माध्यम ढाका कपडा व्यासाय हो ।
२०६७ सालमा शुक्रबारेमा झापा प्राविधिक शिक्षालयले आयोजना गरेको ढाका कपडा बुनाइ तालिममा सहभागी भएकी उनले यही व्यावसायबाट जीवनस्तर फेरेकी हुन् । तालिममा सहभागी मध्ये उत्कृष्ट भएकी कोपिलालाई प्राविधिक शिक्षालयका तर्फबाट एक थान तानसेट र नगद तीन हजार पुरस्कार मिल्यो । सोही पैसाले उनले केही धागो किनेर निरन्तर ढाका बन्न सुरु गरिन् । यो क्रमले निरन्तरता पाइरह्यो कामले उनका हात कहिल्यै थाकेनन् ।
उनले बुनेका कपडा कलात्मक र आकर्षक बुट्टा भएको कारण बजारको कहिले कमि भएन । उनले भनिन्, “कपडा तयार गर्ने कामले निरन्तरता पाएसँगै आम्दानी पनि राम्रो हुन थालेको छ ।” घरको अन्य गर्जो टारेर बचेको पैसाले शुक्रबारेमै घडेरी पनि जोडिन् । मासिक बचत पनि रामैै्र हुन थाल्यो । ढाका बुनाइको सीपमा पनि वृद्धि भएपछि आकर्षक कपडा बुन्ने भएकाले बजारको कुनै समस्या भएन ।
उनी भन्छिन्, “मैले ढाका कपडा बुनेर महिनाको ३० हजारसम्म कमाएकी छु । २०७३ मंसिरमा जिल्लाको क्रियाशिल गैरसरकारी संस्था देउराली सोसाइटीले हमरजुङमा ढाका व्यावसायीलाई लक्षित गरी गठन गरेको ढाका उत्पादन समूहमा कोपिला पनि आबद्ध भइन् ।
२२ जनाको उक्त समूहमा रहेर कोपिलालाई धेरै सहज तामिलेको छ । गरिबी निवारण कोषअन्तर्गत सोसाइटीले दुई लाख बराबरको घुम्ती कोष स्थापना गरेपछि समूह सञ्चालन गर्न र आर्थिक अवस्था न्यून भएका उद्यमीलाई कर्जाका लागि समस्या टरेको छ । देउराली सोसाइटीले गरिवी निवारण कोषअन्तर्गत जापान सामाजिक विकास कोषको सहयोगमा ढाकाको बजार व्यवस्थापन र मूल्य निर्धारणबारे उद्यमीलाई दिएको तालिममा सहभागी बनेकी कोपिलालाई आफ्नो श्रमको उचित मूल्य थाहा भएको बताउँछिन् ।
ढाका कपडा बुनिरहेका महिला उद्यमीलाई सीप प्रदान गरी ढाकाको बजार प्रवद्र्धन गर्ने प्रयास भएको देउराली सोसाइटीका कार्यक्रम संयोजक प्रेमराज फोम्बोले बताए । सोसाइटीले जिल्लाका ६ वटै स्थानीय तहमा ३५ वटा ढाका उत्पादन समूह गठन गरी ढाकाको आधुनिक सीप र बजारीकरणबारे जानकारी दिँदै आएको छ । सीप तथा बजारीकरणको बारेमा जिल्लाभरका ६ सयभन्दा बढी महिला जानकार भएका छन् ।
जिल्लामा करिब पाँच हजार ढाका उद्यमी छन् ।
जिल्लाभर तीन दर्जन ठूला ढाका उद्योग र अन्य दुई हजार बढी घरेलु ढाका उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समितिको जनाएको छ । नेपालमा बनेका ढाकाका सामग्री भारत, सिंगापुर, हङकङ, बेलायत, अमेरिका, जापानलगायत मुलुकमा निर्यात हुने गरेको छ । ढाकाबाट टोपी, मखलर, रुमाल, पछ्यौरा, बर्को, साडी, ब्लाउज, सर्ट, हाते झोला लगायत तयार पारिन्छ ।

प्रतिक्रिया दिनुहोस्