नौ विदेशी कम्पनीको प्रस्ताव «

नौ विदेशी कम्पनीको प्रस्ताव

अन्तरिक्षमा नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्नेसम्बन्धी अध्ययनका लागि विभिन्न मुलुकका नौवटा कम्पनीले आशयपत्र (एलओआई) पेश गरेका छन् । छिमेकी भारत र चीनसहित फ्रान्स, अमेरिका, बेलायत, यूएई, जर्मनी र सिंगापुरका कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरण समक्ष आशयपत्र पेश गरेका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार भारतको केपीएमजी असु-यानसिटी एन्ड कन्सल्टिङ सर्भिसको जेभीमा केपीएमजी–एग्रोस्याटले आवेदन दिएको छ भने चीनको बेइजिङ स्पेसकी टेक्नोलोजी कम्पनी लिमिटेड आवेदन दिएको छ । यस्तै, फ्रान्सको युरो कन्सल्ट कम्पनी, लन्डनको इकोनिमिक्स लिमिटेड र अमेरिकाको स्पेस पार्टनरशिप इन्टरनेशनल, यूएईको एसथ्रिटेल इन्टरनेशनल, बेलायतको किस्पे स्पेस सिस्टम लिमिटेडको जेभी किस्पे टिम तथा सिंगापुरको सेलिस्टियल कन्सल्टिङ सर्भिस र जर्मनीको स्पेस टेक पार्टनरले पनि आवेदन दिएका छन् ।
प्राधिकरण प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्राधिकरणले गत मंसिरमा पुरानो प्रस्ताव रद्द गरेर भूउपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन मोडालिटीको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको थियो । जसअनुसार नेपालको आफ्नै स्याटेलाइट राख्न आवश्यक अध्ययनका लागि दोस्रोपटक गरिएको प्रस्ताव आह्वानमा नौवटा कम्पनीले आशयपत्र बुझाएका हुन् । सोमबार दोस्रोपटक आवेदनका लागि अन्तिम दिन तोकिएको थियो ।
अर्यालका अनुसार आशयपत्र पेश गरेका नौ कम्पनीमध्येबाट प्रतिस्पर्धाका आधारमा एउटा कम्पनी छनोट हुनेछ । जसमा ४० प्रतिशत कम्पनीको योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताका आधारमा कम्पनी छनोट गरिने मापदण्ड तोकिएको छ । सार्वजनिक खरिद ऐनअनुसार छनोटमा पर्ने कम्पनीसँग पहिलो चरणमा प्राविधिक र वित्तीय प्रस्तावको माग गरिनेछ । उनीहरूबाट आएको प्रस्तावको अध्ययन गरी प्राधिकरणले भूउपग्रह स्थापनासम्बन्धी आधारभूत कामहरूको जिम्मा दिने जनाइएको छ ।
कार्ययोजना अनुसार पहिलो चरणमा छनोट हुने कम्पनीले आवश्यक सम्पूर्ण तयारी गरेपछि भूउपग्रह स्थापनाका लागि पुनः अर्को कम्पनी छनोट गरिनेछ । उक्त कम्पनीले नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्नेछ । सो स्याटेलाइटबाट दूरसञ्चार सेवा प्रदायक रेडियो तथा टेलिभिजनहरू जडान गरी रेडियो तथा टेलिभिजन सञ्चालन गर्ने सरकारको लक्ष्य छ । यसअघि विदेशी स्याटेलाइटबाट सञ्चालित हुँदै आएकामा आफ्नै स्याटेलाइटमा सार्ने योजना छ ।
सरकारले सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालमा ल्याउने भन्दै गत असारमा भू–उपग्रहसम्बन्धी नीति सार्वजनिक गरेको थियो । यसअघि नेपालको आफ्नै स्याटेलाइट राख्ने गरी प्राधिकरणले २०७३ साल असोज २० गते आह्वान गरेको आशयपत्रमा १२ देशका २२ वटा कम्पनीले स्याटेलाइट राख्न रुचि देखाएका थिए । अमेरिका, चीन, भारत, थाइल्यान्ड, सिंगापुर, क्यानडा, फ्रान्स, जापान, कोरिया, साउदी अरेबिया, रसिया र इजरायलका गरी २२ वटा कम्पनीले नेपालका लागि स्याटेलाइट राखिदिने रुचिसहित प्रस्ताव पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्