Logo

मुख्यमन्त्री भट्टले सम्हाले आर्थिक मामिला मन्त्रालय

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले रिक्त रहेका सुदूरपश्चिमका दुई मन्त्रालयको जिम्मेवारी आफैले सम्हालेका छन् ।
प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा आएको फुटका कारण प्रदेशका दुई मन्त्री प्रधानमन्त्री केपी ओलीपक्षमा जाँदा रिक्त भएको दुई मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री भट्टले आफै लिएका हुन् । मुख्यमन्त्री भट्टले आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा पनि बसेका छन् ।
ओलीपक्षमा रहेका पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री भट्टले पुस १४ गते पदमुक्त गरेका थिए भने आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पुस २२ गते पदबाट राजीनामा दिएका थिए । नेकपामा फुट देखिएका कारण तत्काल रिक्त पदमा मन्त्री नियुक्त गर्न नसकिएपछि मुख्यमन्त्री भट्टले रिक्त भएका दुवै मन्त्रालयका जिम्मेवारी आफैसँंग राखेका छन् ।
मुख्यमन्त्री भट्टले पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी यसअघि नै लिएका थिए भने सोमबारबाट आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पनि लिएका छन् ।

माघीमा तीन दिन बिदा
थारु समुदायको बाहुल्य रहेको कैलारी गाउँपालिकाले माघी बनाउन तीन दिन बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाको सोमबार सबेको गाउँसभाले माघीमा पुस २९ देखि माघ २ गतेसम्म बिदा दिने प्रस्ताव पास गरेको हो । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले माघी थारु समुदायको सबैभन्दा ठूलो पर्व रहेकाले माघी मनाउन तीन दिन बिदा दिएको जनाए । कैलारीको हिउँदे अधिवेशन पनि सोमबारदेखि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्