मर्मत नहुँदा बाँकेका दर्जन बढी पुल जीर्ण

नेपालगन्ज-समयमा मर्मत सम्भारतर्फ ध्यान नदिँदा बाँके जिल्लाका विभिन्न सडकमा सञ्चालन भएका दर्जन बढी पक्की पुल जीर्ण बन्दै गएका छन् ।
ती पुल जीर्ण बन्दै गएपछि त्यहाँ आवागमन गर्ने सवारी साधन अत्यधिक जोखिममा छन् । निर्माणपछि ती पुलको हालसम्म पनि मर्मत सम्भार नहुँदा उनीहरूले अत्यन्तै जोखिम निम्त्याइरहेका छन् ।
सडक निर्माणको जिम्मा लिएका निर्माण कम्पनी, स्थानीय तह र सडक डिभिजन कार्यालयको उदासिनताका कारण जिल्लामा रहेका दर्जनौं साना तथा मझौला पुल जीर्ण बनेका हुन् । जमुनाह, कोहलपुर हुँदै चिसापानी खडकखण्डमा मात्रै करिब आधा दर्जन पुल जीर्ण बनेका छन् । यस्तै कोहलपुरदेखि पूर्व शिवखोला र पश्चिम मानखोलासम्मका थुप्रै पुलको अवस्था पनि उस्तै छ । चप्परगौडी, रोहिणीखोला, मानखोला, रझेना, बानियाँभार, चिसापानी, गाभरलगायतका क्षेत्रमा रहेका साना पुल वर्षौंदेखि जीर्ण बने पनि कुनै निकायले त्यसतर्फ ध्यान नदिएको गुनासो स्थानीयको छ ।
जीर्ण पुलमा दैनिक सयौंको संख्यामा साना ठूला सवारी साधन गुडिरहेका छन् । पुलको क्षमताभन्दा बढी लोडका सयौं सवारी साधनले दैनिक यी पुल प्रयोग गर्ने हुँदा पुल नै क्षतिग्रस्त हुनसक्ने खतरा बढ्दै गएको कोहलपुर चप्परगौढीका स्थानीय नरेश थापाले बताए । उनले यस्ता सबै पुलको खोजी गरेर तत्काल मर्मत सम्भारमा सरकारको ध्यान जानु पर्ने माग गरे । यसैगरी कोहलपुर जमुनाह सडक खण्डमा रहेका साना पुल पनि उत्तिकै जीर्ण छन् ।
सडक फराकिलो र मर्मत भए पनि सडकमा रहेका पुल साँघुरा र थोत्रा भइरहेका छन् । यीनको मर्मतका लागि सडक डिभिजनदेखि सडक निर्माण कम्पनी समेत मौन रहँदै आएको स्थानीयको भनाइ छ । नेपालगन्जमै पनि बागेश्वरी मन्दिर, सेतु विकचौक, देवाफुलवारीबाट लक्ष्मी हल जाने सडकमा रहेको कलर्भड, सुर्खेतरोडमा रहेको जेवी स्कुलनजिकको पुल, टाँगा स्टेसनलगायतका स्थानमा रहेका साना पुलको अवस्था जीर्ण बन्दै गएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर सुरज शर्माले यस्ता धेरै पुलको आयु खस्किसकेकोले तत्काल मर्मत गर्न जरूरी भएको बताए ।
तर, यस्ता पुलको मर्मत कसले गर्ने भन्नेबारे अन्योलता छाएको छ । ती पुलको मर्मत सुधार गर्नुपर्ने बेला भएको प्राविधिकहरू बताउँछन् । सडक डिभिजन कार्यालयले समयमै पुलको मर्मतमा चासो नदिँदा पुलको अवस्था कमजोर हुँदै गएको धम्बोझीका स्थानीय नन्कु बर्मा बताउँछन् । बेला बेलामा सामान्य रूपमा टालटुल पारेर मात्र मर्मत गरिएकाले पुल जीर्ण हुँदै गएको स्थानीयवासी वर्माले बताए । बढी भारका कारण राजमार्गका अधिकांश पुल कमजोर भएको उनले जनाए ।
पुल जीर्ण रहेको अवस्थामा १८ टनभन्दा बढी भार बोक्न नहुने भए पनि बाँकेमा ४० टनसम्म भार बोकिने जनाउँदै त्यसलाई रोक्न प्रहरी प्रशासनले खासै कडाइ नगरेको स्थानीयले जनाएका छन् ।