प्रदेश सुहाउँदो कर्जा नीति आवश्यकः पूर्व अध्यक्ष मुल्मी «

प्रदेश सुहाउँदो कर्जा नीति आवश्यकः पूर्व अध्यक्ष मुल्मी

पोखरा-नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष, एवं ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपाल तथा सुशासनका लागि नागरिक समाज (सुनास) का केन्द्रिय उपाध्यक्ष आनन्दराज मुल्मीले अब बैंक तथा वित्तीय संघ संस्थाहरुले प्रदेशको वातावरण सुहाउँदो कर्जा प्रवाह गर्नुपर्ने बताएका छन् । सुनास कस्कीले बुधबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष मुल्मीले अब एकै प्रकारको मौद्रिक नितीले देशका सबै प्रदेशमा कर्जा प्रवाह गर्न कठिन हुने भएकाले प्रदेशको वातावरण सुहाउँदो नीति आवश्यक भएको बताए ।
दीगो विकासका लागि अब बैंक तथा वित्तीय क्षेत्रले पनि जलवायु परिवर्तको क्षेत्रमा प्रभावकारी ढंगले काम गर्नुपर्ने उनले बताए । उनले भने, “जलवायु परिवर्तले गर्दा हाल विभिन्न प्राकृतिक विपति आइपरेको छ, जस्तै सुख्खा पहिरो, हाम्रा वन्यजन्तुहरु लोप हुने अवस्थामा पुगेका छन्, हिमाली भेगमा कम मात्रमा हिउँ पर्न थालेको छ, यसलाई अब हामीले कसरी हाम्रो वातावरण सन्तुलन कायम गर्न सकिन्छ त्यसमा सबै लाग्नु पर्छ । ”
वातावरणलाई कम असर पर्ने गरी, कम प्रदुषण हुने गरी सानै भए पनि परिवर्तन गर्न सकिने पूर्व अध्यक्ष मुल्मीको भनाइ छ । उनले थपे, “अब संसार भरी वातावरणमैत्री ढंगले हामीले विकास निर्माण र औधोगिक क्षेत्रको विकास र विस्तार गर्नु पर्छ ।” समय सापेक्ष नयाँ धारणा, सोच र दुरगामी प्रभाव पार्ने गरी वित्तीय क्षेत्रमा सुधार हुन आवश्यक भएको मुल्मीको भनाइ छ ।
एनआइसी एशिया बैंक गण्डकी प्रदेशका प्रमुख दीपेन्द्र शर्माले नाफाको ३ प्रतिशत सीएसआरको क्षेत्रमा लगानी गर्नु पर्नेमा केही वित्तीय संस्थाले उक्त क्षेत्रमा खर्च नगरेको जनाए । बैंकहरुको शाखा विस्तार भएसँगै दक्ष जनशक्ति कम र सुशासनमा समेत ह्राश आएको उनले दाबी गरे ।
एनएमबी बैंक गण्डकी प्रदेशका माधव अधिकारीले एनएमबी बैंकले क्रसर, ढुंगा, गिटी, बालुवा जस्ता प्राकृतिक श्रोतको बढी दोहन भएकाले यस क्षेत्रमा खासै लगानी नगरेको प्रष्ट पारे । अल्कोअलमा समेत बैंकले नेगेटिभको सूचिमा राखेको र निश्चित मापदण्ड बनाएर मात्र कर्जा प्रवाह गरेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्