Logo

वन्यजन्तु पालन कार्यविधि स्वीकृत हुँदै

सरकारले वन्यजन्तुसम्बन्धी कार्यविधि ल्याउने तयारी गरेको छ । कृषकलाई वन्यजन्तु पाल्न दिने र वन्यजन्तुका क्षेत्रबाट रोजगारी तथा आर्यआर्जन वृद्धि गर्ने लक्ष्यका साथ ल्याउन लागिएको कार्यविधि अन्तिम चरणमा पुगेको छ ।
वन तथा वातावरण मन्त्रालयको संयोजकत्वमा हाल व्यावासायिक वन्यजन्तु पालन तथा प्रजनन कार्यविधि पनि बनिरहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका प्रवक्ता हरिभद्र आचार्यले कार्यविधिको मस्यौदा बनिसकेको जानकारी दिए । “व्यावासायिक वन्यजन्तु पालन तथा प्रजनन कार्यविधिको मस्यौदा तयार भइसकेको छ,” उनले भने, “कति क्षेत्रमा कस्ता वन्यजन्तु पालन गर्ने ? दाना के खुवाउने, उपचारको व्यवस्था, पाल्न पाउने संख्या के कति हुने कार्यविधिमा खुलाइने छ, कार्यविधि स्वीकृतीको अन्तिम चरणमा छ ।”
वन्यजन्तु पालन तथा प्रजनन तथा अनुसन्धान कार्यविधि २०६० अनुसार हाल कृषकले व्यावसायिक रूपमा कालिज पालन गर्न थालेका थिए । वन्यजन्तुहरूको दीगो संरक्षण, सम्वद्र्धन र सदुपयोग गरी आय एवं रोजगारीका अवसरहरूको वृद्धि गर्न र चालू १५ औं पञ्चवर्षीय योजनाको नीति तथा कार्यनीतिमा समेत उल्लेख छ । जसमा उच्च मूल्यका हरिण, कस्तुरी, जरायो, बँदेलजस्ता वन्यजन्तु एवं पशुपंक्षी पालन कार्य गरिने उल्लेख भएको छ । सोही योजनाको कार्यान्वयन व्यवस्थामा वन्यजन्तु पालन र अनुसन्धान कार्यमा समूह, व्यक्ति एवं संस्थालाई अभिप्रेरित गरी जैविक विविधता संरक्षण कार्यबाट महिला, गरिब तथा पिछडिएको वर्गको जीवनस्तरमा सुधार ल्याउन अपनाउनुपर्ने प्रक्रिया र कार्यक्रमलाई सुनिश्चित गर्न कार्यविधि बनाइएको हो ।
कार्यविधिअनुसार अधिकारप्राप्त अधिकारीवाट अनुमतिप्राप्त गरेको अवस्थामाबाहेक स्वीकृति प्राप्त गरी पालन तथा नेपालबाहिर निकासी गरिएका वन्यजन्तुको अनुवांशिक स्रोत तथा आनुवांशिक पदार्थको उपयोग गर्न पाइने छैन । “बीउप्राणीको रुपमा वाहेक अन्य मुलुकवाट व्यावसायिक प्रयोजनको लागि कुनै पनि वन्यजन्तु नेपालभित्र पैठारी गर्न र नेपालको बाटो गरी तेस्रो मुलुकमा निकासी गर्न अनुमति दिइनेछैन,” कार्यविधिमा भनिएको छ, “अनुसन्धानका लागि नेपालमा प्रजनन् केन्द्र स्थापना गरिएका सन्दर्भमा अनुसन्धानको लागि नमूना परीक्षण गर्ने सुविधा नेपालमा उपलव्ध छैन भन्ने भएमा परीक्षणको लागि रगत, भुत्लाजस्ता पदार्थमात्र डीएनए विश्लेषणको लागि पूर्वस्वीकृति लिएरमात्र विदेश लैजान पाइनेछ, नेपाली पक्ष समेतको संलग्नतामा र नेपालमा पालन र प्रजनन् गराइएका वन्यजन्तुहरूको अनुसन्धान गर्दा निस्किएको परिणामहरूको एकाधिकार नेपाली पक्षमा समेत रहने गरी अनुसन्धान नतिजा प्रकाशित गर्नु पर्नेछ । ”
वन्यजन्तुबाट कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना रहेको भन्दै तत्कालका लागि भने वन्यजन्तु पालनमा रोक लागाइएको छ । चीनको बुहानबाट सुरु भएर अहिले विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमण फैलिरहेको बेलामा चिकित्सकहरूले पनि वन्यजन्तुबाट पनि टाढा रहन सुझाव दिएका छन् । कोरोना भाइरस वन्यजन्तुबाट मानिसमा फैलिन नदिनका लागि वन तथा वातावरण मन्त्रालयले वन्यजन्तु पालन गर्न पाउने व्यवस्था तत्कालका लागि रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्