खिरौला खेतीबाट मनग्य आम्दानी «

खिरौला खेतीबाट मनग्य आम्दानी

हुम्लामा पछिल्लो समय खिरौला अर्थात् सेतो चिनीबाट स्थानीयवासीले मगन्य आम्दानी गर्न थालेका छन् । जिल्लाको खेतबारी र वनजंगलमा त्यत्तिकै खेर गहिरहेको जडीबुटी अहिले संकलन गरी स्थानीयवासीले मनग्य आम्दानी गर्न थालेको सिमकोट गाउँपालिका–६ निवासी लालसिंह सुनारले बताए ।
विगतका वर्षमा यसको पहिचान हुन नसक्दा संरक्षणभन्दा विनास बढी हुँदै गएको थियो । अन्नबालीलाई असर गर्ने भन्दै यो जंगली झारलाई नास गर्न लागि विभिन्न उपाय अपनाउनाका साथै औषधिसमेत हालिएको थियोे ।
अहिले यसको पहिचान भइसकेपछि स्थानीय कृषक संरक्षणतिर लागेका छन् । खिरौला खेती गर्न सके राम्रो आम्दानी हुने र व्यापारी घर दैलोमा खरिद गर्न आउने गरेको कृषक पञ्च सुनारले बताए । यसको मूल्य जिल्लामा दिनप्रतिदिन बढ्दै गएको छ ।
खिरौला काठमाडौँमा प्रतिकेजी दुई हजारसम्ममा बिक्री हुने गरेको सम्बद्ध व्यापारीले बताउन थालेका छन् । जिल्लामा काँचो नपकाएको खिरौला प्रतिकेजी २०० देखि ३०० रुपैयाँसम्म पर्ने गरेको अर्का कृषक लोक्ते कामीले बताए । खिरौला सुकाएर बिक्री गरेमा प्रतिकेजी ३०० देखि ४०० रुपैयाँसम्ममा खरिद बिक्री भइरहेको उनले बताए । हुम्लामा खिरौला सहज रुपमा पाइने भएकाले स्कुल पढ्ने बालबालिकादेखि ५५-६० वर्षका वृद्धाले समेत यो जडीबुटी संकलनका लागि एकाबिहानै जंगल तथा खेतबारीमा जाने गरेका छन् । एक दिनमा एकजनाले कम्तिमा पाँच केजीसम्म खिरौला संकलन गर्ने र यसबाट दिनमा दुई हजार रुपैयाँसम्म कमाइ हुने गरेको छ ।
यो जडीबुटी हुम्लाका सातवटै गाउँपालिमा पाइन्छ । यसको माग छिमेकी राष्ट्र चीनमा समेत अत्यधिक छ । स्थानीयवासीले यसलाई आगोमा पकाएर चिनीका रुपमा प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्