Logo

जनजीवन सामान्य बन्दै

कोरोना महामारीले विश्वको अर्थतन्त्र नै डामाडोल पारेको अवस्थामा हाम्रो जस्तो सानो देश पनि यसको चपेटामा परेको छ । महाशक्तिशाली देश जस्तै— अमेरिका, जापान, चीनजस्ता देशहरूलाई त यतिबेला अर्थतन्त्र खस्केका कारण यसलाई उकास्न मुस्किल परेको अवस्थामा झनै हाम्रो जस्तो सानो देशको त के कुरा गर्नु ? कोरोना प्रकोपका कारणले कैयांै मानिस घरबारविहीन भएका छन्, कतिले आफ्नो जागिर गुमाएका छन्, परिवार गुमाएका छन् भने कैयौं मानिस कुनै मनकारी संस्थाले राहतस्वरूप खाना वितरण गर्छन् कि भन्ने आसले भोकभोकै सडकमा बस्नसमेत बाध्य भएका छन् ।
बच्चादेखि बूढासम्ममा कोरोनाको त्रास छ । र, अझै बढी खतरा बच्चा, वृद्ध र दीर्घरोगी मानिसहरूलाई छ । तर प्रश्न यो उठ्छ कि यो त्रास आखिर कहिलेसम्म मन–मस्तिष्कमा बोकेर घरमै थुनिएर बस्ने ? यहाँ स्थिति यस्तो भइसक्यो कि अब रोगले होइन, भोकले मरिन्छ । रोगसँग डराएर घरमै बसेर न त पेट भरिन्छ, न त आवश्यकता नै पूरा हुन्छ । त्यसैले अब मानिसहरूको मनस्थितिमा यो बसिसक्यो कि एक दिन यसको औषधि त बन्छ नै, तर तबसम्म आफ्नो तथा परिवारको दैनिकी गुजार्नका लागि भए पनि स्वास्थ्य मापदण्ड अपनाएर घरबाट कामका लागि बाहिर निस्कनैपर्छ ।
अहिलेको समयमा जनजीवन सामान्य पनि बन्दै गएको छ । हामी प्रत्यक्ष देख्न सक्छौं, सबै बन्द गरिएका सेवाहरू जस्तै— होटल, रेस्टुराँ, पार्टी प्यालेस, पसल तथा अन्य सरकारी तथा निजी कार्यालयहरूलगायत अन्य यातायात सेवाहरू पनि खुलिसकेका छन् । यतिबेला सबैको चरम आवश्यकता भनेको काम अर्थात् पेसा हो । पेटभरि खाना खान पाए रोगसँग लड्न सकिन्छ, तर घरभित्र डराएर बसेर यसको हल निस्कँदैन भन्ने भइसक्यो सबैलाई ।
अहिले प्रत्येक पसलहरूमा पहिलेजस्तै भीडभाड देख्न सकिन्छ । अत्यधिक भीड हुने बजार क्षेत्रहरू जस्तै असन, इन्द्रचोक, विशालबजार, लगनखेल, कुमारीपाटी, बानेश्वोर, कोटेश्वरजस्ता ठाउँहरूमा पहिलेकै जस्तो चहलपहल र भीडभाड देख्न सकिन्छ । अझै आजकाल त कतिपय मानिसले मास्कको प्रयोग गरेको पनि देखिँदैन र पसलहरूमा पनि स्यानिटाइजर प्रयोग गरेको पनि पाइँदैन । त्यो देखेर लाग्छ, के कोरोना भन्ने रोग अझै छ र ?
विभिन्न सामाजिक सञ्जालहरूमा पनि मानिसहरू घरमा बस्दा–बस्दा दिक्क भएर घुम्न गएका तस्बिर तथा भिडियोहरू हामी देख्न सकिन्छ । स्वयम् म आफैंले बच्चालाई कति घरभित्रै थुनेर, टिभी तथा मोबाइल मात्र कति हेर्न दिने, यसको सट्टा बरु कतै घुमाएर ल्याए केही राम्रो अनुभव होला भनेर गत शनिबार सूर्यविनायकस्थित पाइलटबाबा आश्रम लिएर गएँ । त्यहाँ यति धेरै भीडभाड थियो कि प्रायःले न त मास्क लगाएका थिए, न त त्यहाँ सबैले सावधानी अपनाएको नै देखियो । बच्चादेखि वृद्धसम्मका मानिसहरू त्यहाँ घुम्न आएका थिए । मानिसहरू कोही नाच्दै–गाउँदै रमाउँदै थिए भने कोही तस्बिर खिच्दै रमाउँदै देखिन्थे । सबैको अनुहारमा खुसी छाएको प्रस्ट देखिन्थ्यो । सानासाना बच्चाहरू रमाएर खेलिरहेका थिए ।
यतिबेलासम्म घरमा थुनिएर रहेका सानासाना बच्चाहरूको अनुहारमा अर्कै चमक आइराखेको थियो । त्यहाँको वातावरण देखेर मनमा थोरै पनि लागेन कि कोरोनाको त्रास अझै पनि मानिसहरूमा छ । जनजीवन एकदम सामान्य भइसकेको जस्तो अनुभव भयो । मानिसहरूमा अब कोरोना भनेको सामान्य रोग हो, सावधानी अपनाए यो रोगलाई जित्न सकिन्छ भन्ने मनोबल आइसकेछ जस्तो अनुभव भयो । म आफैंलाई सुरुसुरुमा कोरोना लागेमा छिटै मृत्यु हुन्छ भन्ने डर लाग्थ्यो, तर मेरै आँखाअगाडि धेरैले कोरोनालाई जितेर घर फर्कन सफल भएकाहरू देखेर यो रोगसँग लड्न सकिँदो रहेछ भन्ने मनोबल आफूमा बढेको पाएँ ।
—रन्जिता गिरी पोख्रेल

प्रतिक्रिया दिनुहोस्