बाँझो जमिनमा खेती गर्ने कृषकलाई अनुदान वितरण «

बाँझो जमिनमा खेती गर्ने कृषकलाई अनुदान वितरण

पर्वतको फलेवास नगरपालिकाले बाँझो जमिन सदुपयोग गरी खेती गर्ने नगरभित्रका ९७ जना कृषकलाई अनुदान रकम वितरण गरेको छ ।
चालु आर्थिक वर्षमा नगरपका ११ वटै वडामा बाँझो जमिन जोतेर खेती गर्न सुरुवात गरेका कृषकहरूलाई १० लाख ५१ हजार रुयैयाँ अनुदान वितरण गरेको हो । कृषकहरूलाई क्षेत्रफलका आधरमा प्रति रोपनी रु.२ हजारका दरले अनुदान रकम वितरण गरिएको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिए ।
फलेवास नगरपालिकाका ११ वटै वडामा गरी कुल ५ सय २५ दशमलब ५ रोपनी बाँझो जमिनमा यस वर्ष कृषकहरूले खेती गरेका थिए । विगत २ वर्ष पहिलेदेखि बाँझो रहेको खेतबारीमा खेतीगरी ८५ मेट्रिकटन धान र ५ मेट्रिक टन कोदो उत्पादनमा वृद्धि भएको नगरप्रमुख शर्माले जानकारी दिए ।
नगरले कृषकमैत्री कार्यक्रम संचालन गरेको र बाँझो जमिनलाई हराभरा बनाइ आयातलाइ प्रतिस्थापन गर्ने सोचका साथ अनुदानका कार्यक्रम अगाडि बढाएको नगरप्रमुख शर्माको भनाइ छ ।
श्रमिक कल्याणकारी कोष, कृषि ऋृणमा व्याज अनुदान जस्ता कार्यक्रम संचालन गरिएको पनि उनले बताए । कोरोना भाईरस (कोभिड–१९) विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा हुन सक्ने सम्भावित खाद्य सङ्कट लाई मध्यनजर गरी फलेवास नगरपालिकाले खाद्य सुरक्षाका लागि बाँझो जमिनमा खाद्यान्न उत्पादनका लागि प्रोत्साहन कार्यक्रम सुरु गरेको थियो ।
नगरको वडा नं.१ मा ११ रोपनी, २ मा १३ रोपनी, ३ मा २ सय ५० रोपनी, ४ मा ४८ रोपनी, ५ मा ५५ रोपनी, ६ मा ३ रोपनी, ७ मा ३६ रोपनी, ८ मा १७ रोपनी, ९ मा ११.५ रोपनी, १० मा ५० रोपनी र वडा नं. ११ मा ३१ रोपनी गरी ५२५.५ रोपनी बाँंझो जमीन सदुपयोग गरि कृषकहरूले धान तथा कोदो रोपेको फलेवासका कृषि शाखा प्रमुख सन्तोष सुवेदीले जानकारी दिए ।
फलेवास नगरपालिकाको कार्यालयबाट गरिएको बाली कटानी सर्वेक्षणमा प्रतिहेक्टर २ दशमलव ७ मेट्रिक टनदेखि ४ दशमलब ८ मेट्रिन सम्म उत्पादन भएको पाईएको छ । बाँझो जमिनमा गरिएको खेतीमा अन्यभन्दा १८ प्रतिशतले बढी पाइएको सुवेदीले जानकारी दिए । सिँचाईको राम्रो सुविधा भएको, उन्नत वीउ, मल जल राम्रो भएको र क्लिन फलेवास ग्रिन फलेवास अभियान अनुसार अनुत्पादक रुख काटछाँट गरेको स्थानमा राम्रो उत्पादन भएको पाइएको उनले बताए ।
फलेवास नगपालिकामा यस वर्ष धान उत्पादन १२ प्रतिशत र उत्पादकत्व ९ दशमलव ८५ प्रतिशतले बृद्धि भएको छ । गतआव ०७६÷७७ मा कुल १९१३ हेक्टर क्षेत्रफलमा ५४३३ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष क्षेत्रफल १ हजार ९५५ हेक्टरमा ६ हजार ९६ मेट्रिक टन धान उत्पादन भएको उनले बताए ।
त्यसै फलेवासमा यस वर्ष कोदो १ हजार ७७८ हेक्टरमा २ हजार ४०० मेट्रिकटन उपादन भएको छ ।

प्रतिक्रिया दिनुहोस्