पुनर्निर्माणका अनुभव र सिकाइसम्बन्धी वेविनार सुरु «

पुनर्निर्माणका अनुभव र सिकाइसम्बन्धी वेविनार सुरु


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनःस्थापना र पुनर्निर्माणमा हासिल गरेका अनुभव तथा सिकाइबारे अन्तरक्रिया तथा अभिलेख गर्न आयोजित दुई दिने वेविनार सुरु भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेन्डियम) को तयारीको सिलसिलामा तयार गरिएको प्रारम्भिक खाकामा मुख्य सरोकारवाला, विज्ञ तथा अभ्यासकर्ताबाट सुझाव लिन कार्यक्रमको आयोजना गरिएको हो ।
वेविनारको उद्घाटन गर्दै प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विज्ञ तथा अभ्यासकर्ताको सुझावले कम्पेन्डियमलाई पूर्णता दिन ठूलो मद्दत मिल्ने उल्लेख गरे । त्यसक्रममा उनले प्राधिकरणले विभिन्न दस्तावेजमार्फत् पुनर्निर्माणका अनुभव र सिकाइ अभिलेख गर्न लागिरहेको जानकारी पनि दिए ।
त्यसैगरी, प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले विगतका अनुभव र सिकाइका आधारमा पुनःस्थापना र पुनर्निर्माणका बाँकी काम अगाडि बढाइने बताए । प्राधिकरणले आगामी वर्ष आयोजना गर्ने नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्नेगरी सातवटा विषयगत क्षेत्रमा कम्पेन्डियम तयार गरिरहेको छ ।
वेविनारमा विभिन्न विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, पुनर्निर्माण र पुनःस्थापनाका अभ्यासकर्ता तथा गैरसरकारी संस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।

पहिलो दिन तीनवटा कार्यपत्रमाथि छलफल
वेविनारको पहिलो दिन तीनवटा विषय क्रमशः निजी आवास पुनर्निर्माण, साँस्कृतिक सम्पदा पुनर्निर्माण र सार्वजनिक भवन एवं पूर्वाधार पुनर्निर्माणमाथि कार्यपत्र प्रस्तुत गरिएका छन् ।
कार्यक्रमको पहिलो सत्रमा निजी अवास पुनर्निर्माणसम्बन्धी प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा डा. श्रेष्ठले ग्रामीण क्षेत्रमा निजी आवास पुनर्निर्माणको प्रगति उत्साहजनक भए पनि सहरी क्षेत्रमा जग्गा तथा आर्थिक अवस्था कारण तुलनात्मक रूपमा कम रहेको उल्लेख गरे । डा. श्रेष्ठको कार्यपत्रमाथि विश्व बैंकका कामरान अकवर, पुनर्निर्माण विज्ञ नाइजल फिसर, जाइकाका रामप्रसाद भण्डारी, स्वतन्त्र अन्तर्राष्ट्रिय विज्ञ म्यागी स्टेफेनसनले टिप्प्णी गरका थिए ।
दोस्रो सत्रमा साँस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माणको पछिल्लो अवस्था एवं अनुभव संलग्न गरेर कार्यपत्र प्रस्तुत गरेका थिए । साथै, चीनको सहयोगमा पुनर्निर्माण भइरहेका नौतले दरबारमा संलग्न चिनियाँ सम्पदा विज्ञ क्वाओ क्वानरुले पनि टिप्पणी गर्दै नेपालको सम्पदा पुनर्निर्माणमा प्राप्त अनुभव सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्