मालपोतको सेवा लिन महिना दिन होटलको बास «

मालपोतको सेवा लिन महिना दिन होटलको बास

जुुम्ला-अनलाइन प्रणाली सुरु भएपछि छिटो छरितो सेवा पाउने आशा गरेका नागरिकले झनै सास्ती पाएका छन् । मालपोत कार्यालय जुम्लाको अनलाइन सेवा ढड्डा भन्दा पनि सुस्त गतिमा भएपछि नागरिकले सास्ती पाएका हुन्् । एउटै कामका लागि होटलमा महिना दिन बढी बास बस्दासम्म काम नहुने गरेको गुनासो बढ्दै गएको छ । अनलाइन प्रणाली सुरु गर्नुको लक्ष्य अनुसारकै गतिमा कार्यसम्पादन नहुँदा मालपोेतको सेवाप्रति नागरिकको असन्तुष्टि बढ्दै गएकोे छ ।
सिंजा गाउँपालिका–१ धाँपागाउँका मयाराम आचार्य जग्गा कारोबार गर्न गएको कात्तिक ३ गते मालपोत कार्यालय खलंगा पुगे । मालपोत कार्यालय आएको उनी एक महिना बढी भयो । तर काम भने अहिलेसम्म भएको छैन् । बढीमा २÷३ दिनमै काम सकेर फर्किन गरी खर्च ल्याएका आर्चाय महिनादिन सम्म काम नुहँदा दोहोरो मारमा परेका छन् ।
उनले भने, “अनलाइन सेवा ढड्डा भन्दा पनि सुस्त गतिमा छ । दैनिक कार्यालय धाउने काम मात्रै भएको छ । टाढाबाट आउनुपर्दा खर्च धेरै लाग्छ । होटलमा बस्दा बस्दै सबै खर्च सकिसक्यो काम कहिले हुने टुंगो छैन् ।”
पातारासी गाउँपालिका–३ छुमचौर गाउँकी याङजुङ तामाङले २६ कात्तिकमा मालपोत कार्यालयमा जग्गाको लालपूर्जा बनाउन फाइल दर्ता गरेकी गरेकी हुन् । दुई हप्ता बढी समय बितिसक्दा पनि तामाङले लालपूर्जा पाउन सकेकी छैनन् । अनलाइन सेवाका नाममा मालपोत नागरिकलाई सास्ती दिएको उनको गुनासो छ ।
त्यस्तै, गुठीचौर गाउँपालिका–४ खल्लावाडाका धनकृष्ण कुमाई पनि कात्तिक १९ गतेदेखि मालपोत कार्यालयमा धाउन थालेका हुन् । उनले भने, “दाजुभाइको जग्गा भागबण्डाको कामले मालपोत धाएको धेरै भयो । काम अझै भएको छैन ।”
फाँटवाला कर्मचारीसँगको मिलोमतोमा चिनजान भएका मान्छेका काम छिट्टै हुने गरेको सेवाग्राही बताउँछन् । कार्यालयमा दैनिक ५०÷६० सेवाग्राहीको भीड लाग्ने गरे पनि दिनमा मुस्किलले १० जनाले मात्र सेवा पाउने गरेका छन् । सरकारले १७ कात्तिक २०७६ मा मालपोत कार्यालय जुम्लालाई अनलाइन सेवामा लगेपछि यस्तो समस्या झनै बढेको हो ।
यता जुम्ला मालपोतका निमित्त कार्यालय प्रमुख महेन्द्र आचार्यका अनुसार यसअघि मालपोतको काम सबै लिखित रुपमा ढड्डाबाटै हुने गरेको थियो । केन्द्रीय मालपोत विभागले अनलाइन प्रणालीमार्फत गत वर्षबाट काम गर्न थालेपछि सेवाग्राहीलाई झनै सास्ती भएको छ ।
उनले भने, “अहिले अनलाइन र ढड्डा दुवै तरिकाबाट काम गर्नुपर्छ । अनलाइनबाट छिटो छरितो गर्न पहिला सेवाग्राहीका कागजात सबै कम्प्युटर तथा सफ्टवेयरमा इन्ट्री गर्नुपर्ने र ढड्डामा पनि राख्नुपर्ने भएकाले यस्तो समस्या भएको हो ।” सप्टवेयरमा इन्ट्री भएका सेवाग्राहीले भने छिट्टै सेवा पाउने उनको दाबी छ । जुम्लामा इन्टरनेट पनि चुस्त नभएकाले ढिलाइ हुने गरेको आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्