लकडाउनमा रोकिएका सडक निर्माण अन्तिम चरणमा «

लकडाउनमा रोकिएका सडक निर्माण अन्तिम चरणमा

लमजुङ-कोरोना भाइरस संक्रमण जोखिमसँगै सरकारले जारी गरेको लकडाउनका कारण लमजुङमा रोकिएका सडक निर्माणकार्य अन्तिम चरणमा पुगेका छन् । पूर्वाधार विकास कार्यालयअन्तर्गत लकडाउनले प्रभावित गत आर्थिक वर्षका विभिन्न सडक योजना हाल निर्माणको अन्तिम चरणमा पुगेका हुन् ।
विकास निर्माणका कामहरू द्रुत गतिमा हुने समयमै लकडाउन भएपछि करिब ९८ प्रतिशत विकास निर्माणका काम ठप्प भएको थियो । गत आर्थिक वर्षमा तीन जिल्ला कार्य क्षेत्र रहेको पूर्वाधार विकास कार्यालयले एक सय बढी आयोजना निर्माणको सम्झौता गरे पनि निर्माण सामग्री ढुवानीमा समस्या र मजदुर अभावका कारण निर्माणकार्य ठप्प भएको थियो ।
हाल लमजुङमात्र कार्यक्षेत्र रहेको अवस्थामा अघिल्लो आर्थिक वर्षका सडक योजनाको निर्माण कार्यलाई तीव्र गतिमा निरन्तरता दिएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । लकडाउनका कारण प्रभावित योजना निर्माणकार्यलाई निरन्तरता दिन सरकारले आगामी पुस महिनासम्म म्याद थप गरेको थियो । सरकारले म्याद थप गरेसँगै सडक योजनाको निर्माणकार्यले गति लिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर आशिष पोख्रेलले बताए ।
पूर्वाधार विकास कार्यालयका अनुसार तीन जिल्लाका आयोजनामध्ये ५९ वटा आयोजना लमजुङका रहेकोमा ३८ वटा सडक निर्माणसम्बन्धी थिए । विकास कार्यालय लमजुङका अनुसार एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गत आठवटा आयोजना थिए । यस्तै प्रादेशिक सडक क वर्गका चार वटा, ख वर्गका १७ वटा, ग वर्गका ४९ वटा, अन्य सडक ११ वटा रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गत आर्थिक वर्षका योजनामध्ये जम्मा चारवटा योजना सम्पन्न भएका थिए । नयाँ आर्थिक वर्ष सुरु भएपछि हालसम्म दुईवटा योजना सम्पन्न भइसकेका छन् भने २२ वटा योजना निर्माणको अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय लमजुङका सबइन्जिनियर दिपक देवकोटाले बताए । कार्यालयका अनुसार निर्माणको अन्तिम चरणमा पुगेका योजनामध्ये सबैभन्दा धेरै बेसीसहर नगरपालिकाका छन् । बेसीसहरका विभिन्न वडामा गरी सातवटा सडक योजनाको काम ९५ प्रतिशतभन्दा बढी सकिएको सबइन्जिनियर देवकोटाको भनाइ छ ।
यसैगरी सुन्दरबजार नगरापालिकाअन्तर्गत ६ वटा, राइनास र मध्यनेपाल नगरपालिकामा दुई÷दुईवटा, क्होलासोँथार गाउँपालिकाअन्तर्गत तीनवटा र दूधपोखरी र दोर्दीमा एक÷एक वटा सडक योजना अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा निर्माण सम्पन्न हुनेगरी छनोट भएका योजना विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमसँगै सरकारले जारी गरेको लकडाउनका कारण निर्माणकार्यले गति लिन सकेको थिएन । सरकारले विकास निर्माणका कामलाई निरन्तरता दिने भने पनि आवश्यक सामग्री, जनशक्ति अभावका कारण निर्माणकार्य प्रभावित भएको थियो ।
गत आर्थिक वर्षसम्म लमजुङ हित गोरखा र मनाङ जिल्लाको विकास निर्माणको काम हेर्दै आएको पूर्वाधार विकास कार्यालय लमजुङले गत आर्थिक वर्षमा दुई प्रतिशत विकास निर्माणको काममात्रै भएको जनाएको थियो । आर्थिक हिसाबले झण्डै ५५ प्रतिशत प्रगति देखिए पनि भौतिक प्रगतिमा दुई प्रतिशतमात्रै रहेको पूर्वाधार विकास कार्यालयले बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्