Logo

बेसीसहर–चामे सडक स्तरोन्नति गर्न आग्रह

लमजुङ-हिमाली जिल्ला मनाङ जोड्ने बेसीसहर–चामे सडक स्तरोन्नतिका लागि सरोकारवालाले सडक विभागको ध्यानाकर्षण गराएका छन् । वर्षौं अघिदेखि जीर्ण सडक स्तरोन्नतिका लागि दबाब तथा पहल गर्न गठन भएको सरोकार समितिले सडक विभागको ध्यानाकर्षण गराएका हुन् ।
बेसीसहर चामे सडक स्थलगत अवलोकन तथा अनुगमनका लागि आएका सडक विभागका महानिर्देशक केशवकुमार शर्मासहितको टोलीलाई तत्काल स्तरोन्नतिको प्रक्रिया अघि बढाउन आग्रह गर्दै सरोकार समितिले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
समितिका अध्यक्ष सूर्यप्रकाश कतिला, सचिव नविनराज कुईंकेलसहितको टोलीले महानिर्देशक शर्मालाई सडक मर्मतमा पहल गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए । सडक मर्मतका लागि वर्षेनी करोडांै रुपैया विनियोजन भए पनि सडकको अवस्थामा कुनै सुधार नहुँदा जिल्लाको उत्तरी भेगदेखि मनाङसम्मका नागरिकले दुःख पाएको भन्दै तत्काल स्तरोन्नतिका लागि पहल गर्न आग्रह गरेका थिए ।
बेसीसहर–चामे सडकअन्तर्गत विभिन्न स्थानमा पहिरो जाने, सडक हिलाम्मे हुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको भन्दै आवश्यकताअनुसार सडक पुल निर्माण गरी सडकको स्तरोन्नति गर्न आग्रह गरेको समिति सचिव नवीनराज कुर्इंकेलले बताए । समितिको ध्यानाकर्षण पत्र बुझ्दै सडक विभागका महानिर्देशक शर्माले अहिलेसम्म बेसीसहर–चामे सडक राष्ट्रिय चासोको विषय नबनेको भन्दै अहिले सडक स्तरोन्नतिका लागि विशेष प्राथमिकतामा राखिएको बताएका छन् । महानिर्देशक शर्माले आगामी पुस महिनाभित्र नै सडक स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढाउने र मस्र्याङ्दी गाउँपालिकाको खुदी भुलभुलेसम्म कालोपत्रे गर्ने योजना रहेको बताए । सडक खण्डअन्तर्गत पर्ने पुमा खोला, बेलौती बिसौनी, खुदी खोलालगायतका ठाउँमा सडक पुलसहित सडक स्तरोन्नति प्रक्रियामा अघि बढ्ने महानिर्देशक शर्माको भनाइ थियो ।
केही महिना अघिमात्रै गठन भएको सरोकार समितिले सडक निर्माणमा तदारुकता दिन विभिन्न निकायमा समन्वय गर्दै आएको छ । सडक निर्माणको क्रममा निर्माण कम्पनीलाई सहज रूपमा काम गर्ने वातावरण सिर्जना गर्ने तथा निर्माणमा ढिलाइ भएमा दबाब तथा संर्घषका कार्यक्रम गर्ने पनि जनाएको छ ।
बेंसीसहर नगरपालिकाको वडा न. ६ र ७, मस्र्याङदी गाउँपालिका र मनाङका नागरिकको भविष्य बोकेको बेंसीसहर–चामे सडक निर्माण थालिएको २५ वर्ष पुग्दा पनि स्तरोन्नति हुन नसकेको स्थानीयको दुःखेसो छ । सडक स्तरोन्नति हुन नसक्दा बर्खायामको बाढिपहिरो र हिउँदको धुलोमैलोबाट यात्रुहरू समस्यामा पर्दै आएका छन् ।
यही सडक भएर दैनिक सयको हाराहारीमा सवारी गुड्ने गर्छन । पर्यटकीय मौसममा दैनिक तीन सयको हाराहारीमा बाह्य पर्यटकहरू हिँड्ने गर्छन् । अन्नपूर्ण पदमार्गमा पर्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको चाप रहेको यो सडक स्तरोन्नति हुन सकेको छैन ।
सडक डिभिजनले बेसीसहर–चामे सडक मर्मतको जिम्मा लामा कान्छाराम नाना जेभीलाई दिएको थियोे । बेसीसहरदेखि रामबजारसम्म सडक स्तरवृद्धि तथा मर्मतका लागि आर्थिक वर्ष ०७४÷७५ मा विनियोजित २२ करोडमा ठेक्का पाएको लामा कान्छाराम नाना जेभीले समयमा काम नसक्दा आव ०७६÷७७ मा विनियोजित ३२ करोड रकमको ठेक्का नै लाग्न सकेन । चालू आर्थिक वर्षका लागि बहुबर्षे योजनाअनुसार साढे ५ अर्ब बजेट प्रस्ताव भएको छ ।
सडक विभागले आर्थिक वर्ष ०५१÷५२ मा बेसीसहर–चामे सडक निर्माण थालेको थियो । द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि २०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो । निर्माण सुरु भएको १९ वर्षपछि सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको थियो । सडक लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्म लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर छ ।

प्रतिक्रिया दिनुहोस्