वैदेशिक रोजगारीमा जाने ८६ प्रतिशतले घटे «

वैदेशिक रोजगारीमा जाने ८६ प्रतिशतले घटे


नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या ८६ प्रतिशतले घटेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत वर्ष साउन, भदौ र असोजमा अन्तिम श्रम स्वीकृति लिइ विदेश जानेको संख्या ८९ हजार ८ सय ८३ रहेकोमा यस वर्ष ८६ प्रतिशत घटेर १२ हजार ७ सय ६९ मा मात्र सीमित भएको छ ।
श्रम गन्तव्यमा रोजगारीका क्षेत्रमा आएको संकुचनका कारण श्रमिकको मागमा कमी आएको छ । वैदेशिक रोजगारीमा जाने युवाको संख्या यसरी कमी आएको पछिल्लो डेढ दशकयताकै यो पहिलो घटना हो । विश्वव्यापी कोरोना संक्रमणका कारण वैकल्पिक रोजगारीको रुपमा रहेको वैदेशिक रोजगारीको मागमा आएको कमीका कारण यति धेरै कम अर्थात तीन महिनामा १४ प्रतिशत मात्र रोजगारीका लागि गएको देखिएको छ । यो संख्या रोजगारीका लागि विदेश जान विभागबाट श्रमिकले लिएको श्रम स्वीकृतिको संख्या हो । यसरी श्रम स्वीकृति लिएकामध्ये पनि ८० प्रतिशतभन्दा बढी बिदामा आएका श्रमिक रहेको विभागले जनाएको छ ।
१० वर्षअघि आव २०६७÷६८ मा समेत यो अवधिमा ३० हजार नेपाली युवा रोजगारीमा गएको देखिन्छ । वैकल्पिक रोजगारीको रुपमा मानिँदै आएको वैदेशिक रोजगारीका मासिक औषत ४० हजारको संख्यामा नेपाली युवा विदेश जाने गरेका थिए । कोरोना संक्रमणका रोजगारदाताले कर्मचारी कटौती गरेका कारण त्यसको असर नेपालको रोजगारीमा परेको छ ।
सरकारले कोरोनाको कारण श्रमिकको माग घटेको बताउँदै आएका छन् भने वैदेशिक रोजगारी व्यवसायीहरूले भने सरकार र सरकारी मातहतका निकायले अग्रसर नदेखाउँदा घटेको बताउँदै आएका छन् । वैदेशिक रोजगार बिभागका निर्देशक टीकामणि नेउपाने कोरोना संकटका कारण रोजगारदाताले थप श्रमिकको माग नगरेको र भएका श्रमिक पनि उडान नियमित हुँदा रोजगारीमा जान नसकेको बताउँछन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ पूर्वअध्यक्ष रोहन गुरुङ कोरोना संकटमा स्वदेशमा समेत रोजगारीको अवसरको नभएको अवस्थामा सरकारले वैदेशिक रोजगारीलाई अझ सहजीकरण गर्नुपर्ने बताउँछन् । “नयाँ मागपत्र प्रमाणीकरण गर्ने विषयमा समेत श्रम गन्तव्यका नेपाली नियोग र सरकारले अग्रसरता देखाएको छैन,” उनले भने, “सरकारको नीतिका कारण विदेशबाट आएका नयाँ माग समेत गुम्ने अवस्थामा पुगेको छ ।” एसिया क्षेत्रमा कोरोना संक्रमण दर स्थिर भइरहेको बेला मलेसियाले समेत तत्काल विदेशी श्रमिक माग गर्ने जनाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
विगतमा श्रम स्वीकृति लिएकामध्ये अधिकतम श्रमिक रोजगारीका कारण विदेश जाने भए पनि विगत ३ महिनामा पीसीआर रिपोर्ट, हवाई सेवाको समस्यालगायतका कारण विदेश नगएको देखिएको छ । यसकारण पछिल्लो तीन महिनामा श्रम स्वीकृति लिएका मध्ये पनि सबै श्रमिक रोजगारीका लागि विदेश जान सकेका छैन । चालू आर्थिक वर्षको साउनमा ३ हजार २ सय ९२ युवाले श्रम स्वीकृति लिएकोमा नयाँको संख्या मात्र १ सय ४० रहेको छ । यसैगरी भदौमा १ हजार ५ सय २५ बिदामा आएका र १ सय ९८ नयाँ रहेका छन् । यसैगरी असोजमा ८ हजार ९७ विदामा आएका र १ हजार ५ सय ४२ नयाँ रहेका छन् । तर, गत आर्थिक वर्षको यो अवधिमा साउन, भदौ र असोजमा क्रमशः २८ हजार ९ सय ५८, ३८ हजार ७ सय ४ र १८ हजार ७ सय ७१ जनाले श्रम स्वीकृति दिएको देखिन्छ ।
वैदेशिक रोजगारीमा जानेमध्ये बिदामा आएकाहरूको संख्या लगभग ८० प्रतिशतको हाराहारी हुने भए पनि यो वर्ष भने संख्या अझ घटेको छ । नेपालका प्रमुख ४ श्रम गन्तव्यमा रोजगारी गुमाएर फर्कनेको संख्या १ लाख २० हजारभन्दा बढी पुगेको छ भने रोजगारी गुमाउनेको संख्या बढ्दै गइरहेको छ । कोभिड १९ संकट व्यवस्थापन समितिले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा यूएईमा रहेका नेपालीले रोजगारी गुमाएको देखिन्छ । वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा यसले नेपालका लागि महत्वपूर्ण मानिएको विप्रेषणमा असर पर्ने देखिएको छ भने वैदेशिक रोजगारीको कारण जीविकोपार्जन गरिरहेका धेरै परिवारमा समेत थप समस्या देखिएको छ । रोजगारविज्ञ डा. गणेश गुरुङ वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको समस्या कोभिड संकट अवधिभर रहिरहने भएका कारण स्वदेशमा रोजगारीका नयाँ क्षेत्र र विदेशका नयाँ श्रम गन्तव्यको खोजी गर्नु पर्ने बताउछन् ।
विदेशबाट फर्किए १ लाख ४९ हजार
कोरोना संकटका कारण विदेशमा रोजगारी र व्यवसाय गुमाएर फर्कने नेपालीको संख्या १ लाख ३९ हजार ६४२ रहेको छ । यसमध्ये पनि १० श्रम गन्तव्यबाट फर्कनेको संख्या १ लाख २५ हजारभन्दा बढी रहेको छ । यसमध्ये सबैभन्दा बढी यूएई ४१ हजार २ सय ४४, कतार २७ हजार ७ सय २, साउदी अरब १९ हजार ३५, मलेसिया १८ हजार ९ सय ३३ जना रहेको छ । श्रम गन्तव्यबाट फर्कने अधिकांश श्रमिक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्