Logo

स्वदेशी फूलले राम्रो बजार पाउनेमा कृषक विश्वस्त

झापा-नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु हुन एक हप्ता मात्र छ । तिहारलाई फूलै–फूलको पर्व पनि भन्ने गरिन्छ । तिहारमा सयपत्री फूलको महत्व विषेश छ । तिहारलाई लक्षित गरी झापा बिर्तामोडका महिलाले एक विगाह क्षेत्रफलमा लगाएको सयपत्री फूल यतिबेला ठकमक्क फूलेको छ । तिहारमा सयपत्री फूलको माग बढ्ने हुँदा विगत ३ वर्षदेखि बिर्तामोडका महिलाहरुले सामुहिक फूल खेती गर्दै आइरहेका छन् ।
हरेक वर्ष नेपाली बजारमा भारतको फूलले राम्रो पकड जमाउँदै आएको छ । तर, यस वर्ष कोरोना कहरका कारण स्वदेशमै उत्पादित फूलले राम्रो बजार पाउने उनीहरु बताउँछन् । बिर्तामोड–४मा १ विगाह जग्गा भाडामा लिएर सयपत्री फूल लगाएको समूहकी गोमा भट्टराईले बताइन् । “हामीलाई फूलको माग आउन थालिसकेको छ” भट्टराईले भनिन्, “विश्वभरि फैलिएको कोरोना भाइरसका कारण यसअघि फूलले बजार नपाए पनि तिहारमा भने फूलले राम्रो बजार पाउने देखिएको छ ।”
आफूहरुले उत्पादन गरेको फूल स्वदेशी तथा अर्गानिक भएकाले ग्राहकको रोजाइमा पर्ने उनीहरुको विश्वास छ । यसवर्ष तिहार ठिलो भएकाले कतिपय नेपाली कृषकले लगाएको फूल पहिले नै फूलिसकेको भएपनि उनीहरुले लगाएको फूल भने तिहारमा तयार हुने देखिन्छ ।

आधुनिक प्रवृतिबाट खेती
बिर्तामोडका महिलाले फूलखेती सम्बन्धि तालिम लिएरै काम सुरु गरेका हुन् । आधुनिक प्रवृतिको ड्याङ बनाएर आफैँले तयार पारेर रोपेको बिरुवा उनीहरुले रोपेका हुन् । यसवर्ष उनीहरुले नर्सरीबाट ३० हजार विरुवासमेत बिक्री गरिएको समूहकी नैनकला भट्टराईले बताइन् । उनीहरुले २० हजार बिरुवा लगाएका हुन् । प्रत्येक बोटबाट औसतमा पाँचवटा माला उत्पादन हुने भट्टराईले बताउँछिन् ।

आयआर्जनको स्रोत फूल खेती
फूल खेती आयआर्जनको प्रमुख स्रोत हुने कुरामा उनीहरु विश्वस्त छन् । सयपत्री फूल खेतीका लागि ४ महिना खट्न सके राम्रो आम्दानी लिन सकिने उनीहरुको भनाइ छ । बीउ र भाडामा लिएको जग्गाको मूल्य जोड्दा वर्षमा १ लाख रुपैयाँसम्म खर्च हुने भट्टराईले जनाइन् । उनीहरुले कलकते लोकल जातको सयपत्री रोपेका छन् । गड्यौला र गोबर मलको प्रयोग गरेकाले फूल अर्गानिक हुने भट्टराईले सुनाइन् । झापाको मागलाई धान्न १५ विगाह क्षेत्रफलमा फूल खेती गर्न आवश्यक रहेको भट्टराईले जनाइन् ।
फूल खेतीमा ६ जना महिला अहोरात्र खटेका छन् । खेती बिर्तामोडकै गोमा, नैनकला भट्टराई, सुस्मा भण्डारी, यसोदा चापागाईँ, सर्मिला अधिकारी र कञ्चना बरालको साझेदारी रहेको छ । उनीहरुले फूल रोप्ने समयमा २० देखि २५ जनालाई दैनिक ज्यालादारीमा रोजगारी दिएका थिए भने, रेखदेखका लागि स्थानीय एक महिलालाई तलब दिएर राखेका छन् । फूल टिप्ने समयमा पनि केही कामदार आवश्यक पर्ने गोमा भट्टराईले बताइन् । उत्पादित फूलको मुख्य बजार बिर्तामोड, सुरुङ्गा, अर्जुनधारा, मेचीनगर रहेको छ । उनीहरुले माला प्रतिगोटा ७० रुपैयाँका दरले बिक्री गर्ने योजना बनाएका छन् । बिर्तामोडमा बिक्री केन्द्र स्थापना गरेर फूल बिक्री गर्ने जनाइएको छ । भारतले धेरै फूल उत्पादन गर्ने र न्यून मूल्यमा नै नेपाल निर्यात गर्ने हुँदा भारतले तोकेको मूल्यमा नै फूल बिक्री गर्नु पर्ने बाध्यता भने कायम नै रहेको भट्टराईले जनाइन् ।
फ्लोरीकल्चर एशोसिएशनले यस वर्ष स्वदेशी उत्पादन धेरै रहेको र बजार माग कम रहेकाले भारतबाट फूल आयत नगर्ने जनाएको छ । कृषकहरु भने नेपाली उत्पादनले माग धान्न नसक्ने बताउँछन् । फ्लोरीकल्चर एशोसिएशनका अनुसार गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । त्यसमा ३ लाख माला भारतबाट आयत गरिएको थियो । यस वर्ष बजारमा १५ लाख मालाको माग रहेकाले मागअनुरुप नेपाली उत्पादन रहेको फ्लोरीकल्चर एशोसिएशनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्