प्रधानमन्त्री अस्पताल भर्ना, छातीमा संक्रमण «

प्रधानमन्त्री अस्पताल भर्ना, छातीमा संक्रमण

प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सीसीयूमा भर्ना भएका छन् । अस्वस्थ भएपछि बालुवाटारस्थित सरकारी निवासमा आराम गरिरहेका उनको स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार बिहान उनलाई अस्पताल भर्ना गरिएको हो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मोख रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । उपचारमा संलग्न डा. अरुण सायमीका अनुसार ओलीलाई ‘लोअरबेस डिस्ट्राक्ट इन्फेक्सन’ भएको छ । ओलीको शरीरमा चिनीको मात्रासमेत असन्तुलित देखिएको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओलीको उपचारमा डा. सायमी, डा. सन्तकुमार दास संलग्न छन् । ३ दिनदेखि मौसमी रुखाघोकी र ज्वरो देखिएपछि उनी घरमै आराम गरेर बसिरहेका थिए । प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहका अनुसार सोमबार साँझसम्ममा प्रधानमन्त्रीको स्वास्थ्यमा अहिले ६० प्रतिशत सुधार आएको छ । “उहाँको स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गइरहेको छ,” अस्पताल परिसरमा सञ्चारकर्मीहरुसँग उनले भनिन्, “औषधि र आवश्यक उपचारका कारण अहिले उहाँको समस्यामा ६० प्रतिशतभन्दा बढी सुधार भइसकेको छ ।”
चिकित्सकहरुका अनुसार ओलीलाई कम्तीमा ३ दिन अस्पतालमै राख्नुपर्ने हुन्छ ।
अस्पताल भर्ना भएका ओलीलाई भेट्न नेकपाका शीर्ष नेता र केही मन्त्रीहरु अस्पताल पुगेका थिए । नेकपाका कार्यकर्ता र सर्वसाधारणसमेत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए ।
दसैंको समयमा टीकाको दिनदेखि चतुर्दशीका दिनसम्म टीकाटालोमा व्यस्त थिए प्रधानमन्त्री ओली । त्यसअघि पनि विभिन्न कार्यक्रमका लागि जिल्ला दौडाहामा निस्किएका थिए ।
स्वास्थ्यमा केही सुधार देखिएपछि आइतबार उनी मन्त्रिपरिषद्को बैठकमा समेत सहभागी भएका थिए । तर, कुराकानी गर्दा पनि खोकी लाग्ने र लगातार खोकिरहने समस्या देखिएपछि मन्त्रिपरिषद् बैठक केहीबेरमात्रै बसेको थियो ।

भीड बढेपछि भेट्न नआउन निर्देशन
सोमबार बिहान अस्पताल भर्ना भएको सुनेलगत्तै नेपाल कम्युनिस्ट पार्टीका नेता– कार्यकर्ता त्रिवि शिक्षण अस्पताल परिसर पुगेका थिए । अस्पताल परिसरमा भीड बढेर अन्य बिरामीलाई समेत अप्ठ्यारो पर्न थालेपछि प्रधानमन्त्रीको सचिवालयले भेट्न नआउन अनुरोध नै गरेको छ ।
तथापि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीलाई भेट्न कार्यकर्ता एवम् शुभेच्छुकको ओइरो लागि नै रहेको छ । प्रधानमन्त्रीको स्वास्थ्य स्थितिका बारेमा कैयौँको जिज्ञासा रहेको र अफवाहसमेत फैलिएको भन्दै उपचारमा संलग्न चिकित्सकहरूले मंगलबार (आज) बिहान १० बजे अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने बताएका छन् ।

देउवाले पनि भेटे
यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले
सोमबार अपरान्ह त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई
भेटेका छन् । उनले चिकित्सकहरुसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझेका
थिए ।

प्रतिक्रिया दिनुहोस्