देशकै सबैभन्दा ठूलो श्री स्टिल्समा ४ अर्ब लगानी «

देशकै सबैभन्दा ठूलो श्री स्टिल्समा ४ अर्ब लगानी

रुपन्देही-नेपालको सबैभन्दा ठूलो फलामे छड उद्योगका रूपमा रुपन्देहीमा स्थापित श्री स्टिल्स प्रालिले परीक्षण उत्पादन सुरु गरेको छ । रुपन्देही जिल्लाको रोहीणि गाउँपालिका–३ धकधई क्षेत्रमा स्थापित उद्योगले बिगत २ सातादेखि परीक्षण उत्पादन गरिरहेको श्री स्टिल्स प्रालिका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले बताए । उद्योगमा ४ अर्ब रुपैयाँ बढीको लगानी छ ।
दैनिक उत्पादन क्षमताको आधारमा यो स्टिल उद्योग नेपालकै सबभन्दा ठूलो उद्योग रहेको दाबी सञ्चालकहरूको छ । टिएमटी छड÷रडहरूको परीक्षण उत्पादन गरिरहेको उद्योगले तिहार लगत्तै व्यावसायिक उत्पादन गर्नेछ, प्रबन्ध निर्देशक अग्रवालले भने ।
दैनिक उत्पादन हुने क्षमताका आधारमा श्री स्टिल्स देशकै सबभन्दा ठूलो उद्योग हो, यो उद्योगबाट छडका आकारका आधारमा दैनिक ८ सयदेखि ९०० मेट्रिक टन छड उत्पादन हुन्छ, परीक्षण उत्पादन सफलतापूर्वक भइरहेको छ, तिहारपछि बजारमा ‘श्री’ ब्रान्डका टिएमटी छडहरू आउनेछ, अग्रवालले भने । उद्योगले नेपालको स्टिल उद्योगमै नया किसिमको तथा नेपाली स्टिल उद्योगले अहिलेसम्म नभिœयाएको जापानी प्रविधिबाट छड उत्पादन सुरु गरेको छ । ब्लकमिलबाट फिनीसिङ गरी विश्वस्तरको छड नेपालमै पहिलो पटक अब नेपाली उपभोक्ताले प्रयोग गर्नेछन्, उनले भने । श्री स्टिल उद्योग पूर्ण रूपमा कम्प्युटरकृत छ । छडहरूको बन्डल बनाउने, तौल लिने सबै अटोमेटिक कम्प्युटरकृत प्लान्ट छन् ।
यो उद्योग नेपालमा सिंगल प्लान्ट भएका उद्योगहरूमा सबैभन्दा ठूलो उद्योग हो । छड बनाउन प्रयोग हुने कच्चा पदार्थ एमएस प्राइम ब्लेड, उद्योगले सबै विदेशबाट आयात गर्नेछ भने उद्योगबाट वार्षिक २ लाख ५० हजार टन टिएमटी छड उत्पादन गर्ने क्षमता छ । भैरहवा–परासी सडक खण्डमा रहेको उद्योग क्षेत्र सडक छेउमा रहे पनि उद्योग स्थलमा सामान्य अफिस दैनिक सञ्चालनका लागि आवश्यक विद्युत् पुगेको छ । उद्योग नजिकै धकधईमा विद्युत् प्राधिकरणले सब स्टेसन निर्माण गरिरहेकाले छिट्टैनै उद्योगमा विद्युत् आउने अपेक्षा कम्पनीले गरेको छ ।
तत्कालका लागि उद्योग सञ्चालनका लागि भने उद्योगले ८ करोड रुपैयाँ अतिरिक्त लगानीमा ८ मेगावाट क्षमताको जेनेरेटर र फर्निस आयल(एफओ)मार्फत ऊर्जा व्यवस्थापन गरी परीक्षण उत्पादन गरिरहेको छ । श्री स्टिल्ससहित नेपालमा स्टिल तथा छड उद्योगको संख्या २१ वटा पुगेको छ ।
भैरहवा क्षेत्रमा मात्रै ८ वटा उद्योग छन् । पञ्चकन्या, गोयनका, एभरोल, अम्बे, लक्ष्मी, काठमाडौं र एसआर स्टिल, फेरो स्टिल यस क्षेत्रमा सञ्चालनमा छन् । वीरगन्ज क्षेत्रमा जगदम्बा, हामा, हिमाल, अशोक, बन्दना, साखः, नारायणी र शालिमार स्टिल उद्योग छन् । त्यस्तै विराटनगर क्षेत्रमा पशुपति, कमला, हुलास स्टिल उद्योग छन भने नेपालगञ्ज क्षेत्रमा पशुपति स्टिल उद्योग सञ्चालनमा छन् । सबै उद्योगको गरी कुल उत्पादन क्षमता वार्षिक १० लाख मेट्रिक टन बढी छ ।
अहिलेसम्म सञ्चालनमा आएका उद्योगहरूको वार्षिक उत्पादन क्षमता ३० हजारदेखि १ लाख ५० हजार मेटनसम्म रहेकोमा श्री स्टिल्सको वार्षिक क्षमता न्यूनतम २ लाख ५० हजार मेटन छ ।

 

 

प्रतिक्रिया दिनुहोस्