Logo

स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै यातायातका सवारी चालक

डडेल्धुरा-सार्वजनिक सवारी साधनहरुले सरकारले जारी गरेको निर्देशिका र न्यूनतम मापदण्ड उल्लंघन गरेको पाइएको छ । सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा सञ्चालित सवारीका साधनहरुले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले जारी गरेको निर्देशिका उल्लंघन गरेको पाइएको हो । सार्वजनिक सवारी साधनहरुले मापदण्डअनुसार यातायात सेवा प्रवाह नगर्दा कोरोना संक्रमणको जोखिम बढेको अनुगमनमा संलग्न अधिकारीहरुले जनाएका छन् ।
बुधबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराका अगुवाईमा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको केन्द्र विन्दु डडेल्धुराको स्याउले बजारमा चेकजाँच गरिएको छ । सार्वजनिक यातायात सेवाको स्थलगत अनुगमनका क्रममा अधिकांश सवारी साधनहरुले मापदण्डविपरीत यातायात सेवा सञ्चालन गरिरहेको पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा गरिएको अनुगमनका क्रममा अधिकांश सवारी साधनहरुले मापदण्डअनुसार यातायात सेवा सञ्चालन नगरेको पाइएको अनुगमन टोलीले जनायो ।
सार्वजनिक यातायातका साधनहरुले मापदण्डविपरीत यातायात सेवा सञ्चालन गरिरहेकाले उनीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउलेले जरिवाना गरेको समेत गरेको छ । सार्वजनिक यातायात सञ्चालन गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्ड नअपनाएका यहाँका सार्वजनिक यातायात कम्पनीहरुले सार्वजनिक सवारी साधनलाई चलानी दिने गरेका छैन ।
यातायातका साधनहरुको क्षमताभन्दा पनि बढी यात्रुहरु राखेर निर्धारित भाडादरभन्दा दोब्बर भाडा असुल गरिरहेको छन् । यात्रु र यातायातकर्मीहरुले मास्क र स्यानिटाइजर प्रयोग नगरेको पाइएको अनुगमनमा संलग्न सहायक प्रमुखजिल्ला अधिकारी अर्यालले बताए । अनुगमनमा संलग्न जिल्ला प्रशासन कार्यालय डडेल्धुराका नायब सुब्बा चन्द्रबहादुर रोकायाले स्याउले बजारमा छडके अनुगमनका क्रममा आधादर्जन जति सार्वजनिक सवारी साधनहरुलाई चेकजाँच गरेको बताए ।
यीमध्ये कुनै पनि सवारी साधनले सार्वजनिक सवारी साधनका न्यूनतम मापदण्ड पूरा नगरेर यातायात सेवा सञ्चालन गरिरहेको पाइएको उनले बताए । मापदण्डविपरीत सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनहरुलाई नियमानुसार जरिवाना गरिएको छ । स्थानीय प्रशासनले निरन्तर रूपमा सार्वजनिक सवारी साधनहरुको अनुगमनगर्ने उनले बताए ।

डडेल्धुरा भएर सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा यातायात सेवाप्रवाह गरिरहेका सार्वजनिक सवारी साधनहरुले मापदण्डविपरीत यातायात सेवाप्रवाह गरिरहेकाले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्