एउटै फार्ममा ६ हजार कुखुरा

दमौली-तनहुँको व्यास नगरपालिका–५ चापाघाट निवासी हिमाल श्रेष्ठले १ करोड १० लाख रुपैयाँको लगानीमा कुखुरापालन व्यवसाय सञ्चालन गरेका छन् । ०६९ सालदेखि कुखुरापालन सुरु गरेका उनले हाल दुइटा फार्ममा गरी ६ हजार ५ सयवटा कुखुरा पालिरहेका छन् । उनले हाल दैनिक १ हजार ६ सयवटा अण्डा बिक्री हुने गरेको बताए । सुरुवाती चरणमा १ हजार ६ सय कुखुराका चल्ला पालेर व्यवसाय थाल्दा श्रेष्ठले १७ लाख रुपैयाँ लगानी गरेका थिए । अहिले लगानी १ करोड १० लाख पुगेको छ ।
“अहिले अण्डा उत्पादन गर्ने कुखुरा बढी उमेरका भएकाले उत्पादनमा कमी आएको छ,” उनले भने, “बढी अण्डा उत्पादन हुँदा आम्दानी दैनिक २५ हजार रुपैयाँसम्म पुग्ने गरेको छ ।” एउटै कुखुराले २४ महिनासम्म अण्डा उत्पादन गरेकाले अहिले उत्पादन कम भएको भन्दै श्रेष्ठले अब नयाँ चल्ला थप्ने योजना रहेको बताए ।
तनहँ अण्डा व्यवसायी संघका अध्यक्षसमेत रहेका उनले हाल दमौलीमा मात्रै दैनिक ६५ हजार अण्डाको माग रहेको बताए । तनहुँभर ७ लाख अण्डा उत्पादन गर्ने कुखुरा रहेको भन्दै उनले तनहुँमै उत्पादित अण्डाले जिल्लाको माग धानिरहेको समेत जानकारी दिए ।
अण्डा संकलनका लागि कुखुरा फर्मभित्र १ सय ५७ वटा डालो राखिएको छ । कुखुराले त्यही डालोमा अण्डा पार्ने र दैनिक ३ पटकसम्म अण्डा संकलन गर्ने गरिएको छ । बाहिरको हल्लाले कुखुरा तर्सिने भएकाले फार्मभित्र भजनसहितको संगीत समेत बजाइने गरिएको छ ।
२०५९ सालमा दुवई पुगेका उनले १० वर्षसम्म त्यहाँ काम गरे । त्यहाँ कमाई पनि राम्रो थियो तर पैसाले मात्र उनलाई आत्मसन्तुष्टि दिलाएन बरु आफ्नै देशमा फर्केर केही गरौं भन्ने इच्छा जगायो । नेपाल फर्केको ३÷४ महिनासम्म त्यत्तिकै बसेका उनले चितवनमा घुम्न जाँदा साथीहरूले कुखुरापालन गरेको देखेको र कुखुरापालन व्यवसाय सुरु गरेका थिए ।
स्कुलदेखि विदेशसम्म
श्रेष्ठले २०५६ सालमा सोही ठाउँमा ग्रिनस्टार बोर्डिङ स्कुल स्थापना गरेका थिए । विद्यालयमा कक्षा ७ सम्मको पढाइ हुन्थ्यो । तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्वका कारण त्यसबेला बोर्डिङ स्कुल बन्द भयो र उनी वैदेशिक रोजगारीका लागि दुबई पुगे ।
दुबईमा उनले स्ट्याण्डर्ड चार्टर्ड बैंकमा क्यासियर पदमा जागिर खाए । मासिक तलब २ लाख थियो । त्यहाँ रहँदा उनले राम्रै पैसासमेत कमाए र स्वदेशमै फर्केर केही गरौं भन्ने सोच पनि । “जुन आनन्द विदेशमा थियो त्यो भन्दा बढि सन्तुष्टि अहिले यहाँ मिलेको छ,” उनले भने, “परिवारसँगै मिलेर व्यवसाय गर्न पाउँदा त्योभन्दा धेरै सन्तुष्टि अन्त गएर गर्दा हुने रहेनछ ।”
श्रेष्ठ दैनिक १५ घण्टा कुखुरा फार्ममा बिताउँछन् । बिहान ६ बजेदेखि राति ९ बजेसम्म कुखुराको स्याहारसुसारका लागि समय छुट्याउने गरेको उनले बताए ।