अनुदानको ट्र्याक्टरमा किसानबाट रकम उठाइँदै «

अनुदानको ट्र्याक्टरमा किसानबाट रकम उठाइँदै

तम्घास- गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले अनुदानमा दिएको ट्र्याक्टरबाट सप्लायर्सको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले किसानबाट रकम उठाएको खुलेको छ ।
आर्थिक वर्ष ०७६-७७ को कार्यक्रमअनुसार गाउँपालिकाले ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको थियो । उनीहरूबाट प्रतिट्र्याक्टर एक हजार ५०० का दरले सप्लायर्स कम्पनीले रकम असुली गरेको पाइएको छ । अनुदानको ट्र्याक्टर खरिदका लागि गाउँपालिकाको छनोटमा परेको सप्लायर्स कम्पनीले फिटिङ गरेको, तेल तथा यातायात खर्चको बहाना बनाएर किसानबाट रकम असुली गरेको स्थानीय किसान बाबुराम ज्ञवालीले बताए । “ट्र्याक्टर लिन जाँदा एक्कासी एक हजार ५०० का दरले रकम मागियो, हामी त अचम्ममा प¥यौँ,” उनले भने, “विना रसिद त्यसरी किसानबाट रकम लिनु उचित होइन ।”
त्यसभन्दा पहिले नै ट्र्याक्टरको ५० प्रतिशत मूल्य ३२ हजार ५०० आफूहरूले बैंकमा जम्मा गरेको भन्दै उनले एक हजार ५०० बुझाउनेबारे कुनै जानकारी नभएको बताए । यस्तै अर्का किसान सुब्बा बस्नेतले पनि सप्लायर्सले गैरकानुनी तरिकाले गाउँपालिकाका कर्मचारी र ठेकेदारको मिलेमतोमा किसानबाट रकम असुली गरेको गुनासो गरे । उनले भने, “ट्र्याक्टर लिन जाँदा एक्कासि पैसा मागे, खोजेर भए पनि दियौँ र ट्र्याक्टर ल्यायौँ ।” उक्त रकम किन र कुन प्रयोजनका लागि तिरेको भन्नेबारेमा आफू अझै पनि अनभिज्ञ भएको उनले बताए ।
गाउँपालिकाका जिन्सी शाखा प्रमुख मनिष पाण्डेले आफूहरूले सकेसम्म न्यूनदरमै किसानलाई ट्र्याक्टर उपलब्ध गराउन खोजेको तर पछि सप्लायर्स कम्पनीले रकम उठाएको प्रतिक्रिया दिए । ठेकेदारले मिस्त्री चार्ज, तेल र यातायात खर्चको बहानामा किसानबाट रकम उठाएको उनले बताए । यसमा आफूहरूको मिलेमतो नभएको र ठेकेदारले झुक्याएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्