बोडी खेतीबाट मनग्य आम्दानी «

बोडी खेतीबाट मनग्य आम्दानी

दमौली-तनहुँको देवघाट गाउँपालिका–३ छिपछिपेका तुलबहादुर आले पेशाले शिक्षक हुन् । उनी दिउँसो विद्यालयमा भेटिन्छन् अनि बिहान–बेलुकाको फुर्सदको समयमा आफ्नो बारीमा ।
काम गर्नलाई जाँगर हुनुपर्छ भन्ने कुरा उनले आफ्नो कामबाट प्रमाणित गरेका छन् । शिक्षण पेशासँगै उनले बोडी खेतीबाट समेत मनग्य आम्दानी गर्ने गरेका छन् । उनले बोडी बिक्रीबाट वार्षिक २ लाखसम्म आम्दानी हुने गरेको बताए ।
मालेपाटन–१ जातको बोडी खेती गरेका उनले आगामी वर्ष अझ आम्दानी बढ्ने अनुमान गरेको बताए । “शिक्षण पेशा र खेतीलाई समय छुट्याएर काम गरिरहेको छु,” उनले भने, “बोडी खेतीबाट राम्रो आम्दानी छ, सन्तुष्ट पनि छु ।”
सोही ठाउँका शान्तिमाया गुरुङले समेत बोडी खेतीबाट गत वर्ष एक लाख साठी हजार आम्दानी गरेको बताइन् । “यो वर्ष अझ राम्रो उत्पादन भएको छ, आम्दानी बढ्ने अनुमान छ,” उनले भनिन् ।
अर्का कृषक गंगासिंह गुरुङले पनि बोडी खेतीबाट एक लाखभन्दा बढी आम्दानी गरेको बताए । उनका अनुसार मालेपाटन–१ जातको बोडी बाह्रै महिना उत्पादन हुन्छ । फागुनदेखि चैत र साउनदेखि भदौ महिनामा बोडीको बीउ उत्पादन गर्न सकिन्छ ।
बोडीको बजारमा कुनै समस्या नरहेको उनले बताए । यहाँ उत्पादन भएको बोडी तनहुँ, पोखरा, चितवन, काठमाडौं लगायतका ठाउँमा बिक्री हुने गरेको उनले जानकारी दिए ।
क्विन्टलको ३ हजार रुपैयाँसम्म बिक्री हुने गरेको बोडी खेतीमा यस ठाउँका कृषकहरु आकर्षित भएका छन् । साहस नेपाल नामक संस्थाको सहयोगमा यस ठाउँका कृषकले बोडी खेती शुरु गरेका हुन् ।
यस ठाउँका ४४ घरधुरीले बोडी खेती गरेको स्थानीय शान्तिमाया गुरुङले बताइन् । “तीन÷चार वर्षदेखि यहाँका मानिसले व्यावसायिक रुपमा बोडी खेती गरिरहेका छन्,” उनले भनिन्, “बोडी खेती आयआर्जनको प्रमुख स्रोत बनेको छ ।”
बोडीमा लाग्ने किराले बेला–बेलामा बोडी खेती नै नष्ट गर्ने गरेको गुनासो गर्छन् स्थानीय तुलबहादुर गुरुङ । उनले बोडी खेती गर्ने कृषकलाई थप प्राविधिक ज्ञान र अनुदान वितरण हुनुपर्ने समेत माग गरे ।

प्रतिक्रिया दिनुहोस्